त्रिभुवन विमानस्थलबाट ५० ग्रामभन्दा बढी सुन विदेश लान खोजे जफत
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहना विदेश लैजान कडाइ गरेको छ। ५० ग्रामभन्दा बढी परिणाममा सुनका गहना लग्न कानूनी प्रतिबन्ध छ।
विमानस्थल भन्सार कार्यालयले नेपालबाट विदेश जाने यात्रुले ५० ग्रामभन्दा बढी परिणामका सुनका गहना लगाए वा लगे जफत गर्न प्रहरीलाई आग्रह गरेको छ। खासगरी, विवाहको सिजनमा नेपालबाट सुन बढी बाहिरिने गर्छ।
अहिले नेपाली नागरिक विदेश गएर बिहे गर्ने क्रम बढेको छ। र, त्यससँगै नेपालमै बनाएर सुनका गहना लैजाने क्रम पनि बढ्दो छ। युरोप, अमेरिका, अष्ट्रेलियालगायतमा बिहे गर्ने नेपालीले सुनका गहना लैजाने गर्छन्। नेपालको कानूनले भने त्यसरी सुनका गहना लैजान रोकेको छ।
भन्सार विभागका महानिर्देशक तोयम राया ५० ग्रामभन्दा बढी परिमाणमा सुनको गहना ल्याउन र लैजान कानूनले रोकेकाले विभाग मातहतका कार्यालयले त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउँछन्।
सरकारले यसका लागि नयाँ कानून भने निर्माण गरेको होइन। १ साउन २०७३ देखि कार्यान्वयनमा आएको ‘निजी गुण्टा, झिटी भारीसम्बन्धी सूचना’मा ५० ग्रामभन्दा बढी परिणाममा सुनका गहना विदेश लैजान र भित्र्याउन पनि नपाउने व्यवस्था छ। विदेशबाट आउने सुनमा कडाइ हुँदै आए पनि बाहिरिने सुनमा भने भन्सार कार्यालयले हालसम्म चासो दिएको थिएन।
सूचनाको दफा ३ उपदफा १ मा ‘यात्रुले विदेश जाँदा आफ्नो प्रयोगका लागि दफा १ को उपदफा (१) बमोजिमका सामान लैजान पाउने र त्यस्तो सामानमा भन्सार महशुल छुट हुने’ उल्लेख छ। दफा १ को उपदफा (१) मा ‘सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र रु. १ लाखसम्मको जवाहरात जडित सुनका वा चाँदीका गहना’ विदेश लैजान पाउने उल्लेख छ। विमानस्थल भन्सार कार्यालयले सोही व्यवस्थाअनुसार सुन विदेश लैजान रोक लगाएको हो। उक्त सूचनाअनुसार विमानस्थल मात्र होइन, अन्य सीमा नाकाबाट पनि त्यसभन्दा बढी सुन विदेश लैजान प्रतिबन्ध छ।
विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्रकुमार ठाकुर प्रस्थान कक्षमा भन्सार कर्मचारी नभएकाले प्रहरीलाई उक्त कानूनको जानकारी दिइएको बताउँछन्।
भन्सार विभागकै अर्का उच्च अधिकारी भने सुन विदेश लैजान नपाउने व्यवस्था उचित नभएको बताउँछन्। “सुनका गहना विदेश लैजाँदा सरकारलाई केही घाटा हुँदैन। तर, कानूनले लैजान पाइँदैन भन्छ,” उनी भन्छन्, “कर तिरेर कमाएको पैसाबाट नेपालमा सुन किन्नेहरूलाई पनि तस्करीको आरोपमा कारबाही गर्नुपर्ने अवस्था छ।” नयाँ आर्थिक ऐन बनाउँदा यो व्यवस्था परिमार्जन गर्नुपर्ने उनको भनाइ छ।
हालसम्म उक्त कानूनी व्यवस्थाबारे जानकारी नभएकाले विमानस्थलबाट बाहिरिने सुन जफत नगरिएको एक प्रहरी अधिकारी बताउँछन्। “भन्सार कार्यालयले जानकारी गराएपछि प्रस्थान कक्षमा खटिने प्रहरीलाई ५० ग्रामभन्दा बढी परिणाममा सुनका गहना भेटिए जफत गर्न निर्देशन दिइएको छ,” उनी भन्छन्, “कसैले त्यसभन्दा बढी सुन लैजान खोजे प्रहरीले पक्राउ गर्दै भन्सारलाई बुझाउँछ।”