राजकुमार हिरानीले भने- यौन उत्पीडनको आरोप मेरो छवि बिगार्ने षड्यन्त्र
फिल्म निर्देशक राजकुमार हिरानीमाथि यौन शोषणको आरोप लागेपछि यतिबेला बलिउड जगत् स्तब्ध बनेको छ। हिरानीमाथि उनको ब्लकबस्टर फिल्म 'सञ्जु' की महिला सहायक निर्देशकले यौन दुर्व्यवहारको आरोप लगाएको खबर गएको साता नै आए पनि यसलाई दबाइएको थियो।
आइतबार हिरानीको नाम फिल्म 'एक लडकी को देखा तो ऐसा लगा' को पोस्टरबाट हटाइएपछि खबर व्यापक भएको थियो। उनी अनिल कपुर, जुही चावला र सोनम कपुरको मुख्य अभिनय रहेको उक्त फिल्मका निर्माता हुन्।
यसैबीच, निर्देशक हिरानीले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन्। उनका प्रवक्तामार्फत हालै जारी गरिएको वक्तव्यमा हिरानीले ती महिलाले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै यसलाई आफ्नो प्रतिष्ठा बिगार्ने प्रयास भएको उल्लेख गरेका छन्। वक्तव्यमा भनिएको छ, '' दुई महीनाअघि यो आरोपबारे थाहा पाउँदा म स्तब्ध भएको थिए ।
त्यसबेला तत्काल मैले यस प्रकरणलाई कुनै समिति वा कानूनी संस्थामा लैजान सुझाव दिएको थिएँ। तर, गुनासोकर्ता महिलाले मिडियामा जाने विकल्प रोजिन्। म दृढतापूर्वक के भन्छु भने, ममाथिको आरोप एक झूटो र काल्पनिक कहानी हो, जो मेरो प्रतिष्ठा नष्ट गर्ने एकमात्र उद्देश्यले फैलाइएको छ।"
पीडित भनिएकी महिलाले हिरानीमाथि यौन उत्पीडनको आरोप लगाउँदै आफूमाथि २०१८ अप्रिलमा फिल्म 'सञ्जु' निर्माणका क्रममा कैयौं पटक यौन शोषण भएको बताएकी थिइन्। त्यस्तो घटना भए पनि काम गुम्ने डरले आफूले उक्त कर्तुतबारे केही नबोलेको महिलाले उल्लेख गरेकी छन्।
ती महिलाले गएको ३ नोभेम्बरमा हिरानीका लामो समयदेखिका साथी रहेका तथा फिल्म 'सञ्जु' का सह-निर्माता विधु विनोद चोपडालाई इमेल लेखेर यौन उत्पीडनबारे जानकारी गराएकी थिइन्।
महिलाले ९ अप्रिलमा २०१८ मा निर्देशक हिरानीले शुरुमा आफूमाथि यौनिक टिप्पणी र पछि आफ्नो घरको कार्यालयमा यौन उत्पीडन गरेको उल्लेख गरेकी छन्।
उनले उक्त इमेल चोपडाकी पत्नी र फिल्म समीक्षक अनुपमा चोपडा, पटकथा लेखक अभिजीत जोशी, फिल्म निर्माता शैली चोपडालाई पनि पठाएकी थिइन्। अनुपमाले ती महिलाले आफ्नो अवस्थाबारे सुनाएको र त्यसपछि विनोद चोपडा फिल्म्सले यौन उत्पीडनको गुनासोलाई समाधान गर्न एक समिति गठन समेत गरेको बताएकी छन्।
हिरानीले आफूबारे सफाइ दिएसँगै उनका वकिल आनन्द देसाईले पनि महिलाले लगाएको सबै आरोपको खण्डन गर्दै त्यसलाई निराधार र षड्यन्त्रपूर्ण भनेका छन्। - एजेन्सी