गजललाई व्यावसायिक बनाउने जमर्को
‘मेरो भूगोल त्यति नै हो जहाँ तिमी अटाउँछौ
मेरो जीवन त्यति नै हो जति तिमी कटाउँछौ’
केही दिनमै बजारमा आउन लागेको गीतसँगै गायक रामकृष्ण ढकाल नयाँबानेश्वरको कुञ्ज थिएटरमा गुञ्जिए ।
ढकालले गीतकार विष्णुबाबु देवकोटाको शब्दमा स्वरसम्राट नारायण गोपालको अन्तिम संगीत गाउँदै गर्दा थिएटर संगीतमय बन्यो ।
सुगम संगीतमा पु¥याएको योगदानका लागि घोस्ट राइटिङ नेपाल र लेखन कुञ्जले २८ पुसमा आयोजना गरेको गीत, गजल र शीतल कार्यक्रममा गायक ढकाललाई सम्मान पनि गरियो ।
कार्यक्रममा गीतकार विष्णुबाबु देवकोटा र गजलकार ईश्वर दाहालले गजल प्रस्तुत गरेका थिए ।
गीत, गजल र साहित्यलाई व्यावसायिक बनाउने उद्देश्यका साथ प्रत्येक महीनामा दुई पटक गजल वाचन गर्ने जमर्को गरेको घोस्ट राइटिङ नेपालका प्रबन्ध निर्देशक कमल ढकालले जानकारी दिए । उनले भने “प्रत्येक श्रृंखलामा दर्शकको बढ्दो जमातले थप हौसला दिएको छ ।”
लेखन कुञ्जले गजल प्रस्तुतिको सातौँ श्रृंखला सञ्चालन गरिसकेको छ । गजललाई व्यावसायिक बनाउनका लागि टिकटको पनि व्यवस्था गरिएको आयोजकको भनाइ छ ।