रणवीर सिंहको 'सिम्बा' को कमाइ २०० करोड नाघ्यो
रणवीर सिंह र सारा अली खान अभिनीत 'सिम्बा' ले भारतीय बक्स-अफिसमा दबदबा कायमै राखेको छ। १२ दिनमा फिल्मले भारु २०० करोडभन्दा बढीको कारोबार गरिसकेको छ। पहिलो दिनदेखि नै लगातार राम्रो व्यापार गरिरहेको 'सिम्बा' को कमाइ अझै थपिने अपेक्षा गरिएको छ।
रणवीरका लागि सन् २०१८ सानदार रह्यो। वर्षको शुरुमा आएको फिल्म 'पद्मावत' ले भारु ३०० करोडभन्दा बढी कमाएको थियो भने अन्तिमतिर अर्थात् डिसेम्बरमा रिलिज भएको फिल्म 'सिम्बा' ले २०० करोड बटुल्दै व्यापार जारी नै राखेको छ।
'सिम्बा' ले कमाइको मामिलामा नयाँ बेन्चमार्कसमेत बनाएको छ। फिल्मले शुरुका ३ दिनमा ५० करोड, ५ दिनमा १०० करोड, ७ दिनमा १५० करोड, १० दिनमा १७५ करोड र १२ दिनमा २०० करोडमाथि कमाउँदै कीर्तिमान कायम गरेको छ।
'सिम्बा' १०० करोडको आँकडा पार गर्ने रोहित शेट्टी निर्देशित आठौं फिल्म बनेको छ। यो सफलतामा फिल्म निर्माण यूनिटले हालै मुम्बईमा पार्टी आयोजना गरेको थियो।
फिल्मको सफलताबाट रणवीर निकै खुशी छन्। "सिम्बा यति हिट हुनु मेरो लागि गर्वको कुरा हो। फिल्मले पैसा कमाइरहेकाले मैले यसो भनिरहेको छैन। केही फिल्मले पैसा कमाए पनि दर्शकको माया पाउँदैनन्," फिल्मले पाइरहेको राम्रो प्रतिक्रियाबारे उनले भनेका छन्, "भरपूर मनोरञ्जनको प्याकेज सिम्बाले सानदार समीक्षा पायो। मसाला फिल्मबारे कुरा हुँदा मनोरञ्जन पाइए पनि टाइमपास थियो भन्ने गरिन्छ, अभिनयको तारिफ नै गरिँदैन। तर, सिम्बा समीक्षा र व्यापार दुवैमा हिट सावित भयो।" एजेन्सी