फिल्ममेकर राकेश रोशनलाई क्यान्सर, छोरा ऋतिकले गरे पुष्टि
बलिउडका फिल्ममेकर राकेश रोशनलाई घाँटीको क्यान्सर भएको छ। यसको जानकारी उनका छोरा एवं अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
मंगलबार बिहान इन्स्टाग्राममा पितासँगको पछिल्लो तस्वीर पोस्ट गर्दै ऋतिकले केही साताअघि बुवालाई घाँटीको क्यान्सर भएको पत्ता लागेको बताएका छन्। उनले जिम जाँदा खिचिएको तस्वीर पोस्ट गरेका छन्।
ऋतिकले तस्वीरको क्याप्सन लेखेका छन्, "मैले आज बिहान बुवासँग एक तस्वीर खिच्न सोधें। मलाई थाहा छ, उहाँ सर्जरी गर्ने दिन पनि जिमको वर्क आउट छाड्नुहुन्न। उहाँलाई हालै घाँटीको क्यान्सर भएको पत्ता लागेको छ, जुन शुरुआती स्टेजमा छ। उहाँ यो रोगसँग निकै बहादुरीपूर्वक लड्न तयार हुनुहुन्छ।"
ऋतिकले थप लेखेका छन्, "हामी धेरै भाग्यशाली छौं, परिवारमा तपाईं जस्तो लिडर पाएका छौं। लभ यू ड्याड।"
ऋतिकले यो पोस्ट गरेलगत्तै प्रतिक्रियाको ओइरो लागेको छ। प्रतिक्रिया दिनेहरूले राकेश रोशनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। घाँटीको क्यान्सर हुँदा असामान्य कोशिकाहरू अनियन्त्रित रुपमा बढ्ने गर्छन्।
फिल्मी कर्मको कुरा गर्दा, राकेश रोशन पछिल्लो समय 'क्रिश ४' को तयारीमा व्यस्त छन्। यो फिल्ममा एक पटक फेरि ऋतिक रोशन प्रभावशाली एक्सन अवतारमा देखिनेछन्। क्रिशका यसअघिका सबै सिरिज हिट भएका छन्। 'क्रिश ४' २०२० मा क्रिसमसको अवसर पारेर रिलिज गरिने बताइएको छ।
राकेश रोशनलाई बलिउडका सफल निर्देशक मानिन्छ। उनले 'क्रिश', 'कोई मिल गया', 'कहो ना प्यार हे', 'कारोबार', 'कोयला', 'करन अर्जुन' लगायत फिल्म निर्देशन गरेका छन्। अभिनेताका रूपमा उनले 'कोई मिल गया', 'ओम शान्ति ओम', 'अकेले हम अकेले तुम' र 'एक और सिकन्दर' फिल्ममा काम गरेका छन्। एजेन्सी