स्वर्गीय मनमोहन अधिकारी पुत्र प्रकाशचन्द्र भन्छन्- “बुवालाई अप्ठेरो पार्ने काम गर्नै हुन्न भन्ने लाग्थ्यो”
२०५१ सालमा बुवा प्रधानमन्त्री हुँदा म ३८-३९ वर्षको थिएँ। त्रिभुवन विश्वविद्यालयको डिपार्टमेन्ट अफ जिओलोजीमा पढाउन थालेको १६ वर्ष भइसकेको थियो। त्यतिखेर मेरो पीएचडी सकिँदै थियो र म भर्खर ब्रसेल्सबाट फर्केको थिएँ।
बुवासँगै हामी बालुवाटार सर्यौं। विराटनगरमा हुँदादेखि नै हाम्रो घरमा राजनीतिक माहोल भएकाले मानिसहरूसँग भेटघाट, आवतजावत बाक्लै हुन्थ्यो। राजनीति सञ्चालनका सबै गतिविधिबारे म जानकार थिएँ। तर, मलाई राजनीतिमा लाग्नुपर्छ वा बुवाको नजिक बसेर काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन।
म आफ्नै पेशामा रमाएँ। निवासमा प्रधानमन्त्री चढ्ने एउटा गाडी, अर्को एउटा जिप र परिवारका सदस्य चढ्न मिल्ने सानो कार थियो। आमाहरू त्यही कार प्रयोग गर्नुहुन्थ्यो। त्यस्तो बेला कहिलेकाहीं मलाई पनि त्यही कारले युनिभर्सिटीसम्म छोडिदिन्थ्यो। तर, म प्रायः टेम्पो वा बस चढेरै युनिभर्सिटी गएँ। अहिले घरमा गाडी छ, तैपनि धेरैजसो म बसमै हिँड्छु।
बुवा प्रधानमन्त्रीबाट हटेपछि हामी गोल्फुटारस्थित घरमा सर्यौं, बुवा त्यहीं बित्नुभो। मलाई राजनीति गर्छु, मन्त्री बन्छु, शक्तिशाली हुन्छु भन्ने कहिल्यै लागेन। पेशागत जीवनमै मेरो लगाव थियो। १२ वर्ष मैले डिपार्टमेन्ट अफ जिओलोजीको प्रमुख भएर काम गरें। मध्यमर्स्याङ्दीलगायत जलविद्युत् परियोजनामा हाइड्रोपावर इन्जिनियरिङमा पनि योगदान दिएँ। बुवा छँदासम्म मैले पार्टीको सदस्यता पनि लिएको थिइनँ। पछि धेरैले कर गरेपछि मात्र सदस्यता लिएँ।
२०१७ सालमा बुवा जेल पर्दा म पाँच वर्षको थिएँ। उहाँ जेलबाट निस्कँदा म इन्जिनियरिङ पढ्न रुस गइसकेको थिएँ। २०३६ सालमा फर्केपछि मात्र बुवासँग भेट भयो। लामो ग्यापले पनि होला, बाबुछोराको सम्बन्धमा आमाछोराजस्तो सामीप्यता नहुँदोरैछ। हामीबीचमा अन्तरंग कुराकानी हुँदैनथ्यो तर बुवाले गरेको समर्पणको राजनीतिको मर्म मैले राम्ररी बुझेको थिएँ। बुवालाई अप्ठेरो पर्ने काम गर्नुहुन्न भन्ने थाहा थियो।
म के गर्छु भन्ने बुवाले पनि बुझ्नुभएको थियो। प्रधानमन्त्री हुँदा एकचोटि बुवाले भनेको सम्झन्छु- ‘सबैले राजनीति नै गर्नुपर्छ भन्ने के छ र !’ मेरा लागि यो निकै महत्वपूर्ण कुरा थियो। बुवा बितेपछि किसुनजी भन्नुहुन्थ्यो- ‘मनमोहनजी कम्युनिष्ट पार्टीको मात्र होइन, हामी सबैको नेता हो।’ समयले आज त्यही कुरा पुनर्पुष्टि गरेको छ।
(कुराकानीमा अाधारित)
सम्बन्धित शीर्षकहरू
शीर्ष नेताहरूको सन्तान मोह