सत्कर्मको उज्यालो: गिरानचौर एकीकृत बस्ती
महाभूकम्पले लतारेको डेढ वर्षमा पनि सरकारले पुनःनिर्माण थाल्न नसकेर निराशा चुलिएको बेला हास्यकलाकार दम्पती धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा आशाको झण्डा ठड्याएका छन्।
तस्वीर सबै: बिक्रम राई
पूर्णिमा तामाङको घेवा नहुँदो हो त १२ वैशाख २०७२ को दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ गिरानचौरमा घरहरूसँगै कति मानिस पुरिन्थे, अहिले सम्झिदा पनि झस्किन्छिन्, ६२ वर्षीया तसाङ तामाङ। उनलाई लाग्छ, खूबै राम्री र फरासिली पूर्णिमाले मरेर गएपछि पनि महाभूकम्पमा सबै गाउँलेलाई बचाइन्।
२०७१ मंसीरमा ज्ञानु तामाङ (२३) सँग बिहे भएर गिरानचौर आएकी शंकरापुरकी पूर्णिमा तामाङ (१९) को महाभूकम्पको २२ दिन अघि सुत्केरी व्यथाले मृत्यु भएको थियो। गर्र्भवती हुँदा मनकामना गएकोले 'देउता रिसाएको' भन्ने ठानेका गाउँलेले सुत्केरी व्यथा चर्कंदा साता दिनसम्म पनि अस्पताल नलगी झाँक्री लगाउन जोड गर्दा उनी बाँच्न सकिनन्।
२०७२ वैशाख १२ गते तामाङ परम्परा अनुसार उनको घेवा भएकोले बिहान ११ः५८ बजे महाभूकम्प आउँदा गाउँका सबै ज्ञानुको आँगनमा जम्मा भएका थिए। “शनिबार भएकोले बिहानको खाना खाएर कोही सुत्ने, टिभी हेर्ने बेला थियो”, तसाङ सम्झ्िन्छिन्, “घेवा नपरेको भए सबै घर–घरमा पुरिन्थ्यौं।”
डेढ वर्ष भयो, गिरानचौरवासीले पूर्णिमा सम्झिरहेका भूकम्पमा ज्यान जोगिएकोमा। आफ्नो भत्किएको घर बिर्सिसकेका छन्, किनकि धुर्मुस–सुन्तली फाउण्डेशनले चिटिक्कका ६५ वटा नयाँ घर बनाइदिएको छ।
हेलाको गिरानचौर
बनेपा–धुलिखेलबाट अरनिको राजमार्ग र मेलम्ची–हेलम्बू सडकहुदै चारघण्टा वा काठमाडौंको साँखुबाट जहरसिं पौवा हुँदै एकघण्टामा पुगिन्छ, गिरानचौर।
चारैतिर अग्ला डाँडाले घेरेको गिरानचौर थुम्को टाढाबाट हेर्दा चउरजस्तै देखिन्छ। पूर्वको इन्द्रावती नदी, उत्तरको सिन्धुखोला, पश्चिम र दक्षिणको जर्कीखोलाले जमीन गिरान (कटान) गर्दै लगेको छ। “चारैतिरबाट गिरान भइराख्ने चौर, गिरानचौर भयो” हर्कबहादुर तामाङ (७१) भन्छन्।
बिहान आकर्षक सूर्योदयसँगै पूर्वतिर देखिने गणेश हिमश्रृंखला, दिउँसोको चौतर्फी हरियाली र इन्द्रावतीको सन्ध्या सुसाई गिरानचौरको विशेषता हो, जहाँ चार सय परिवारको बसोबास छ। बाहुन–क्षेत्री र तामाङ बहुल यो बस्तीमा तामाङहरू सबभन्दा गरीब भएको हर्कबहादुर बताउँछन्।
उनका अनुसार, यो टोलका ६५ परिवार तामाङ समुदायका ५१५ जनामध्ये अमरबहादुर तामाङ शिक्षक र छिरिङ तामाङ नर्स छिन्। बाँकी सबै ड्राइभर, ग्यारेजमा काम गर्ने मिस्त्री र मजदूर छन्– नेपालदेखि भारतको गुजरात र राजस्थानसम्म।
“ड्राइभर नभएको कुनै घर छैन”, गिरानचौरको तामाङ समुदायका पहिलो एसएलसी रामबहादुर भन्छन्, “नर्स छिरिङ मेरी छोरी हुन्, एसएलसी गरेका अरू तामाङ भनेका दिलेन, अमर र ज्ञान तामाङ हुन्।”
शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी जस्ता आधारभूत सुविधा नपाएका गिरानचौरवासी भूकम्पपछि डेढ वर्षसम्म कटेरामै बसे। उनीहरूले सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँ र राहत सामग्रीबाहेक अरू केही पाएनन्।
राहत सामग्री पनि अन्य ठाउँमा वितरण गरेपछि उब्रेको मात्रै पाएको गिरानचौरवासी बताउँछन्। उनीहरूका अनुसार, राहत बाँड्नेहरू बाटो बिराएजस्तो गरी आइपुग्थे। हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) पनि बाटो बिराएझैं पुगेका थिए, गिरानचौर।
नमूना बस्ती
धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) ले टेलिसिरियलहरू मेरी बास्सै र भद्रगोल तथा सामाजिक सञ्जाल सगुन डटकम को सहकार्यमा देश–विदेशबाट रु.५८ लाख ५० हजार सहयोग संकलन गरेर महाभूकम्प गएको तीन महीनामै काभ्रेको पाँचखाल नगरपालिका–१६ पहरीगाउँमा १८ परिवारका लागि नमूना बस्ती निर्माण गरेका थिए। त्यसमा कुल रु.६९ लाख ५० हजार खर्च भएकोमा उनीहरू आफैंले नौ लाख लगाएका थिए।
सहयोग जुटाउँदै भूकम्पपीडितहरूको घर बनाउने ठाउँ खोज्ने क्रममा मेलम्ची पुगेको बेला सुन्तली र धुर्मुसले गिरानचौरका रामबहादुर तामाङलाई भेटे। उनीहरू मेलम्ची नगरपालिकाकै कटुञ्जे, तनहर र सार्कीगाउँमा घर बनाउने कुरामा स्थानीयवासीसँग सहमति नजुटेपछि काठमाडौं फर्किंदै थिए।
रामबहादुरसँगको भेटकै परिणामस्वरुप गिरानचौरमा ६५ वटा आधुनिक घर बनेको धुुर्मुस–सुन्तली फाउण्डेशनको गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाका संयोजक अर्जुन न्यौपाने बताउँछन्।
उनका अनुसार, १२ वैशाख २०७३ मा गाउँका ४०० मध्ये ६५ वटा घर पुनःनिर्माणको शिलान्यास गरेर २९ जेठबाट काम शुरू भयो अनि १२ कात्तिकमा घर हस्तान्तरण। यो नमूना बस्ती निर्माणमा देश–विदेशका सहयोगीहरूको रु.४ करोड ९१ लाख लगानी भएको छ।
४८४ वर्गफिट क्षेत्रमा निर्मित बस्तीको ब्लक 'ए'मा २३, 'बी'मा २७ र 'सी'मा १५ वटा एकैनासे सुविधाजनक घर छन्। तीन आना जमीनमा बनाइएको हरेक घरमा तीन वटा बेडरुम, एउटा भान्साकोठा, बाथरुम र फराकिलो बुइँगल छ।
प्लाइउड राखिएको बुइँगलमा पनि खाद्यान्न भण्डारण गर्न, सरसामान राख्न र सुत्न मिल्छ। हरेक घरको अगाडि आँगन, फूलबारी र पछाडि करेसाबारीको लागि पाँच आना जमीन। सबै घर र कोठासम्म ह्वीलचेयर पुग्ने बाटो हुनु यो नमूना बस्तीको अर्को विशेषता हो।
सबै संरचना ज्येष्ठ नागरिक, शारीरिक रूपमा अपाङ्ग र बालबालिकालाई सजिलो हुने गरी बनाइएको परियोजना संयोजक अर्जुन न्यौपाने बताउँछन्। काठ धेरै प्रयोग गरिएका हरेक घरका छानाबाट आकाशे पानी करेसाबारीमा पुर्याउने व्यवस्था गरिएको छ।
भूकम्प थेग्ने गरी ६ पिलर र ५ वटा बीमलाई एकापसमा जोडेर बनाइएका हरेक घरमा ६ इन्चको ब्लक प्रयोग गरिएको छ। प्राविधिक किशोर बर्माका अनुसार, छानोलाई पनि बीम र पिलरमा 'इन्टरकनेक्ट' गरिएको छ। भूकम्प आउँदा यस्तो घरको कुनै एकभाग हल्लिने वा खस्ने हुँदैन।
हरेक घरमा अगाडि दुईवटा झयाल र पछाडि दुइटा भेन्टिलेटर छन्। बीचमा तीनमिटरको बाटो भएको हरेक लहरमा ६ घर छन्, डेढ मिटर फरकमा।
८०० मिटर तलको सिन्धुखोलाबाट दुइटा मोटरले पानी तानेर तीनइन्चको पाइपबाट तीनवटै ब्लकमा चौबीसै घण्टा पानी पुर्याइएको छ। हरेक घरमा विद्युत्सँगै चारवटा चिम बल्ने सोलार जडान गरिएको छ। टेलिभिजनका लागि डिस र इन्टरनेट जडान गरिएको छ।
नमूना बस्तीलाई पाँच किलोमिटर सडक बनाएर मेलम्ची–हेलम्बू सडकसँग जोडिएको छ। परियोजनाका ओभरसियर किशोर बर्मा नेपाली स्तरको एउटा बस्तीलाई आवश्यक सबै सुविधा राखिएको बताउँछन्।
भूकम्प गएको एक वर्षसम्म टहरामा बस्दा कसैले वास्ता नगरेका गिरानचौरवासीलाई पनि 'घर बनाइदिन्छु' भन्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मुस आउँदा 'घर त त्यस्तै हो, हँसाउन चाहिं पक्कै हँसाउँछन्' भन्ने लागेको थियो।
“तर, हेर्दाहेर्दै बसौं–बसौं लाग्दो बस्ती नै बनाइदिएपछि म त साइतै नहेरी सरें”, 'सी' ब्लकको ६१ नम्बर घर पाएका बहादुर तामाङले भने।
नयाँ घर, नयाँ संशय
नयाँ घर पाएका गिरानचौरवासी खुशीसँगै अलिकति ढुलमुलमा पनि छन्। खेतीपाती गर्ने, भैंसी, बाख्रा, कुखुरा पाल्ने उनीहरू सामञ्जस्य मिलाउन खोजिरहेका छन्। खेतमा मल नहाली हुँदैन, त्यसका लागि भैंसी पाल्नै पर्यो।
तर, नयाँ घरमा गाईभैंसी वा कुखुरा–बाख्रा पाल्ने ठाउँ छैन। त्यसैले ए ब्लकको ९ नम्बर पाएकी सन्तमाया तामाङ (५३) भूकम्पले ढुंगामाटोको थुप्रो बनाइदिएको पुरानो घरमा गोठ बनाउने तारतम्य मिलाउँदै छिन्।
तीनवटै ब्लकका अध्यक्षसहित सबैले नयाँ बस्तीमा कुखुरा पनि नपाल्ने सहमति गरिसकेका छन्। त्यसका लागि अहिले बसिरहेको कटेरो वा लडेको घर विकल्प छ, तर अप्ठेरो त्यत्तिमै नसकिने संग्राम लामा (५२) ले बताए।
हुन पनि, तामाङ समुदायको संस्कारमा कोदोको रक्सी अनिवार्य हुन्छ। पूजाआजा गर्दा र इष्टमित्र आउँदा मात्र होइन, जन्मँदा वा मर्दा पनि रक्सी चाहिन्छ।
'ए' ब्लकको ४ नं. घरधनी संग्राम कोदोको रक्सी बनाएर राख्ने सुरक्षित ठाउँ न्यानो घरबाहेक अरू नहुने बताउँछन्। “राम्रो घर पाएको खुशीसँगै यो अप्ठ्यारो आइलागेको छ”, उनी भन्छन्, “फेरि नयाँ घरमा त दाउरा पनि बाल्न मिल्दैन, ग्याँस चाहिन्छ।”
कमजोर आर्थिक अवस्थाका गिरानचौरवासी यसरी पशुपक्षी एकातिर आफू अर्कातिर बस्नुपर्ने भएपछि केही संशयका साथ मेलोमेसो मिलाउन खोजिरहेका छन्।
नयाँ घरमा मुश्किलले १५ परिवार मात्र सरेका छन्। “घर त राम्रो पाइयो, तर त्यसले खान दिंदैन। घर बनाइदिनेलाई नै खान पनि देऊ भन्न मिलेन”, सन्तमाया तामाङ भन्छिन्, “त्यसैले सर्नुअघि निकै सोचविचार गर्नुपर्ने भएको छ।”
आशाको ज्योति
डेढ वर्षसम्म घर नबन्दा निराश गिरानचौरवासीलाई मात्रै होइन, अन्य भूकम्पपीडितलाई पनि आशा जगाएको छ, गिरानचौर पुनःनिर्माणले। मानवशास्त्री सुरेश ढकाल सरकारले समयमा काम नगर्दा भूकम्पपीडितसँगै पूरा समाजमा निराशा छाएको बेला धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौरबाट नयाँ आशा जगाएको बताउँछन्। उनी भन्छन्, “यसको ठूलो अर्थ र महत्व छ।”
उनका अनुसार, यसबाट गिरानचौरवासीलाई राहत त भइहाल्यो त्यस अतिरिक्त समाजसेवा, स्वयंसेवामा लागेकाहरूलाई प्रेरणा र सकारात्मक सोच राख्न उत्साह मिलेको छ।
अर्कातिर, काम गर्न नसकिरहेको सरकारलाई पनि नैतिक दबाब पुगेको छ जनतामा हामी गर्न सक्छौं भन्ने सन्देश गएको छ। यस्तो कामले मानवता र सहयोगी भावनाको विकास–विस्तार हुने मानवशास्त्री ढकाल बताउँछन्।
तथापि, सीताराम–कुञ्जनाको कामलाई सरकारसँग दाँज्न नहुने उनको धारणा छ। उनका अनुसार, व्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारले विभिन्न नीति, नियम, प्रक्रिया पालन गर्नुपर्छ। यस्तो संरचनाले काम गर्न सहज बनाउँदैन।
भौतिक पूर्वाधार निर्माणविज्ञ प्रा.डा. सूर्यराज आचार्य पनि सरकारले काम गर्न नसकिराखेको बेला धुर्मुस–सुन्तलीले स्तुत्य काम गरेको बताउँछन्। उनीहरूले महाभूकम्पपछिको सुस्त पुनःनिर्माणमा आशा मात्र नजगाएर नेपालजस्तो देशमा एकीकृत बस्ती निर्माणको नमूना देखाएको उनको धारणा छ।
“हाम्रो जस्तो डाँडाका टुप्पा–टुप्पामा बसेका नागरिकलाई घर–घरमा सुविधा पुर्याउन संभव हुँदैन”, प्रा.डा. आचार्य भन्छन्, “न्यूनतम लागतमा आधारभूत सेवासुविधा पुर्याउन यस्तै एकीकृत बस्ती बनाउनुपर्छ।”
नयाँ पर्यटकीय गन्तव्य
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्वीकृति र सुपरीवेक्षणमा निर्माण गरिएको गिरानचौर एकीकृत नमूना बस्तीलाई वातावरण, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकमैत्री तथा भूकम्पप्रतिरोधी बनाउन विशेष ध्यान दिइएको छ।
यसमा सीताराम र कुञ्जनालाई पाँच जनाको टोलीले निरन्तर सघाउँदै आएको छ, त्यो पनि स्वयंसेवाका रूपमा। ती हुन्– अर्जुन न्यौपाने, मदनकृष्ण तिमिल्सिना, ईश्वर बर्मा, चन्द्र खड्का र रामबहादुर तामाङ।
न्यौपाने गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रबर्द्धन परियोजनाका संयोजक हुन् भने तिमिल्सिना धुर्मुस–सुन्तली फाउण्डेशनका उपाध्यक्ष। त्यस्तै, बर्मा परियोजनाका ओभरसियर, खड्का क्वीक भोलिन्टियर समूह संयोजक र तामाङ नमूना बस्ती व्यवस्थापन समिति संयोजक हुन्।
भूकम्पपीडितका लागि नमूना बस्ती बन्दैछ भन्ने सुनेर गिरानचौर पुगेका नवलपरासीका ओभरसियर बर्मा सीताराम–कुञ्जनाको काम देखेपछि त्यहीं बसेर सघाउन थालेको बताउँछन्। उनका अनुसार, बिहान ३ बजेदेखि काममा खटिने सीतारामलाई ६५ जना स्थानीय, ७० जना मिस्त्री, देश–विदेशका स्वयंसेवी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी दैनिक २२५ जनाले राति १० बजेसम्म सघाएका थिए।
साढे पाँच महीनाको निरन्तर प्रयासबाट निर्मित गिरानचौरलाई अब पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने परियोजना संयोजक न्यौपाने बताउँछन्। “आन्तरिक पर्यटक त आउन थालिसकेका छन्, अब व्यावसायिक विकास गरिनेछ” उनी भन्छन्।
गिरानचौरलाई 'होमस्टे' का रूपमा व्यवस्थित गर्न तीनवटै ब्लकका तीन समिति र मूल व्यवस्थापन समितिले योजना बनाइसकेको नमूना बस्ती व्यवस्थापन समिति संयोजक तामाङले बताए। त्यसका लागि मासिक बचत, तामाङ सांस्कृतिक टोली गठन, 'रिहर्सल' र आवश्यक पोशाक तथा बाजाहरू जुटाउने काम शुरू भएको छ भने अतिथिलाई घुमाउन एक किलोमिटर तल जर्कीखोला किनारस्थित कुण्डेश्वर महादेवको मन्दिरसम्मको बाटो सम्याइएको छ। कुण्डेश्वरमा मन्दिरसँगै ढुङ्गे कुण्ड र नागमाथि पल्टेका विष्णु (नारायण) छन्।
पर्यटकलाई इन्द्रावती र मेलम्ची घुमाउने योजना बन्नुका साथै शंकरापुर डाँडोबाट गुम्बा चौरमा प्याराग्लाइडिङ गराउन शंकरापुर प्याराग्लाइडिङ प्रा.लि.सँग एक तहको सहमति भइसकेको परियोजना संयोजक न्यौपानेले बताए। उनका अनुसार, प्याराग्लाइडिङ कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिने प्रक्रिया शुरू गरेको छ।