बलिउड अभिनेता प्रकाश राज राजनीतिमा, कमल हसनले दिए शुभकामना
दक्षिण भारत एवं बलिउडका प्रभावशाली अभिनेता प्रकाश राजले राजनीतिक यात्रा थाल्ने भएका छन्। उनले आगामी लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा बैङ्लुरु केन्द्रीय संसदीय क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनको सफल राजनीतिक यात्राका लागि प्रतिष्ठित अभिनेता एवं मक्कल निधि मैयम पार्टीका प्रमुख कमल हसनले शुभकामना दिएका छन्। हसनले प्रकाश राज आफूले भनेको कुरा गरेर देखाउने व्यक्ति भएको टिप्पणीसमेत गरेका छन्। अभिनेताबाट नेता बनेका हसनले आइतबार ट्विटमा लेखेका छन्, "मेरा मित्र प्रकाश राजलाई उनको राजनीतिक सफरका लागि धेरै धेरै शुभकामना। वाचा पूरा गरेकोमा धन्यवाद !"
प्रकाश राज केही वर्षयता देशका विभिन्न विषयमा खरो विचार प्रकट गर्दै आएका छन्। खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शासन र कार्यशैलीप्रति उनको असन्तुष्टि सार्वजनिक हुने गरेको छ।
राजको राजनीतिक यात्रामा आम आदमी पार्टीले पनि आफ्नो समर्थन दिएको छ। आम आदमीले सबै असल व्यक्ति राजनीतिमा आउनुपर्नेमा समेत जोड दिएको छ। उसले ट्विट गर्दै भनेको छ, ‘‘प्रसिद्ध अभिनेता प्रकाश राजको लोकसभा चुनावमा उठ्ने योजना छ, आम आदमी पार्टी उनलाई आफ्नो खुला समर्थन दिन्छ।"
दिग्गज अभिनेता रजनीकान्त र कमल हसनपछि प्रकाश राज राजनीतिक मैदानमा उत्रिने पछिल्लो कलाकार बनेका छन्। हसनले सन् २०१८ मा तमिलनाडु राज्यमा मक्कल निधि मैयम नामक क्षेत्रीय पार्टी खोलेका थिए। एजेन्सी