आईएमई नेपाल लिट्रेचर फेस्टिभल सम्पन्न
बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल–२०१८’ सम्पन्न भएको छ ।
फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन आज विभिन्न रोचक एवम् बौद्धिक छलफल भयो ।
पोखराको लेकसाइड तालबाराही चोकस्थित फूटबल मैदानमा भएको फेस्टिभलमा भूपी कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र सञ्चालन भए ।
आईएमई ग्रुपको मुख्य प्र्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकारसँगै सर्वसाधारण र विद्यार्थीहरुको समेत उल्लेख्य सहभागिता रह्यो ।
फेस्टिभलमा सहभागीहरुले आफ्ना प्रिय लेखकका पुस्तक किनेर उनीहरुसँग अटोग्राफ पनि लिए ।
फेस्टिभलअन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ मा मनीषा कोइराला र आनी छोइङसँग संवाद भयो । उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ता थिए । उनीहरुसँग पत्रकार यज्ञेशले अन्तरसंवाद गरे ।
यो सेसनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरण एवम् देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल भयो । उक्त अवसरमा अभिनेत्री मनीषा कोइरालाले बलात्कार जस्ता घटना बढ्नुमा कानून कार्यान्वयनको पाटो फितलो हुनु कारण रहेको बताइन् ।
साथै घरपरिवारमा पनि छोरा र छोरीबीच गरिने भेदभाव नहटेसम्म समृद्ध एवम् विकसित नेपालको सपना देख्न नसकिने उनको भनाइ छ ।
बलात्कार एवम् एसिड आक्रमण गर्नेहरु समाजमा खुलेआम हिँडिरहँदा समेत सरकारले उनीहरुलाई उचित दण्डसजायको व्यवस्था नगर्नु लाजमर्दाे विषय रहेको उनले बताइन् ।
उक्त सेसनमा आनी छोइङले नारीहरुलाई कम नआँक्न र उनीहरु सचेत एवम् जागरुक भइरहेको धारणा राखिन् । उत्पीडकलाई दण्डसजायको व्यवस्था चुस्तदुरुस्त पार्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा एसिड प्रहारमा परेकी संगीता मगरले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको र उसमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन् ।
त्यति मात्र नभई उसले जेलबाटै आफ्नो परिवारलाई धम्की दिइरहेको र जे पनि गर्न सक्ने आशयका धम्कीपूर्ण भनाइ दिइरहेको उनले गुनासो गरिन् । एसिड आक्रमणमा परिसकेपछि आफूलाई सर्जरी गर्नका लागि आर्थिक सहयोग नपुगेको मात्र बताइनन्, आफ्नो परिवारले दुःख गरेरै उपचार खर्च जुटाइरहेको बताइन् ।
कार्यक्रममा सीमा बस्नेतले गायिका बन्ने लक्ष्य लिएर अघि बढेको आफूमा एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन हटाउने काममा लागिपर्ने सोच आएको जानकारी दिइन् ।
एसिड आक्रमणमा पर्दा आफूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरबाट साथ–सहयोग मिले पनि सरकारी स्तरबाट भने उचित सहयोग नपाएको गुनासो गरिन् ।
आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधन गरेर लेखेको चिठीले भने तत्कालीन गृहमन्त्री वामदेव गौतम आफूलाई भेट्न आएको प्रसंग पनि कोट्याइन् ।
दोस्रो सेसनमा भूपी कक्ष र अलि मियाँ कक्ष दुवैतिर अन्तरसंवाद भयो । भूपी कक्षमा ‘संघीय नेपालमा आञ्चलिक स्वर’ शीर्षकमा केदार शर्माले कुन्ता शर्मा, अशोक थारु र हनिफ मियासँग संवाद गरे ।
उक्त अवसरमा उनीहरुले संघीयतामा गएको नेपालमा आञ्चलिकताको प्रभाव एवम् यसको प्रयोग सन्दर्भका विविध पक्षमाथि विश्लेषण गरे । साहित्यको विविधीकरणका विषयमा पनि उनीहरुले आआफ्ना धारणा राखे ।
त्यसैगरी अलि मियाँ कक्षमा ‘म किन राष्ट्रवादी होइन ?’ मा खगेन्द्र संग्रौला र ‘ह्वाई आन्र्ट यू अ फेमिनिस्ट’ शीर्षकमा अर्चना थापाले सम्बद्ध विषयमाथि प्रकाश पारे ।
चौथो दिनको तेस्रो सेसन थियो, ‘अबको नेतृत्वः कसको, कस्तो ?’ यो सेसनमा पत्रकार गुणराज लुइँटेलले नेकपा नेता नारायणकाजी श्रेष्ठ, कांगे्रस नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग संवाद गरे । उक्त सेसनमा पछिल्लो समय नेतृत्ववर्गमा देखिएको गुणअवगुणबारे त छलफल भयो नै सँगै नेपालको राजनीतिक क्षेत्रले अब लिनुपर्ने बाटोका विविध पक्षमाथि पनि विचारविमर्श भयो ।
नेतृत्वको कमजोरी एवम् स्वार्थी चरित्रका कारण नेपालले विकासको मूल बाटो पहिचान गर्न नसकेको वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले आफूहरुले नेकपामा आन्तरिक परिवर्तनको काम थालेको र त्यो कार्यान्वयनको चरणमा रहेको धारणा राखे । त्यसअघि नेता रवीन्द्र मिश्रले कांग्रेस, नेकपा जस्ता ठूला पार्टीमा भ्रष्टाचार मौलाएको र नेता, मन्त्री एवम् सांसदले सरकारबाट एउटै शीर्षकमा दोहोरो सुविधा लिइरहेकोमा असन्तुष्टि जनाएका थिए ।
मिश्रले जबसम्म नेतृत्ववर्गबाटै भ्रष्टाचार उन्मूलन हुँदैन, त्यति बेलासम्म विकास एवम् समृद्धि सम्भव नहुने बताए । कांग्रेस नेता थापाले नेतृत्ववर्गमा आफू मात्र अघि आउने प्रवृत्तिले विकासमा बाधा पुर्याएको दाबी गरे ।
चौथो सेसनमा पनि भूपी कक्ष र अलि मियाँ कक्षमा अन्तरसंवाद चले ।
भूपी कक्षमा ‘गणतन्त्रपछिको नेपाली समाज’ शीर्षकमा राधेश्याम अधिकारी, सुरेश ढकाल र दुर्गा सोबसँग पत्रकार किरण नेपालले अन्तरसंवाद गरे ।
यो सेसनमा गणतन्त्र प्राप्तिपछि नेपाली समाजले लिएको बाटो, अव्यवस्था, कुरीति, कुसंस्कार एवम् अब लिनुपर्ने दिशाबारे रोचक छलफल भयो ।
अलि मियाँ कक्षमा भने ‘द वेवार्ड डटरः अ काठमान्डू स्टोरी’ शीर्षकमा संवाद भयो । संवादमा मुना गुरुङ र श्रद्धा घलेले विचार–विमर्श गरे ।
‘साहित्यमा सेन्सरसिप’ शीर्षकमा पाँचौं सेसन चल्यो । यो सेसनमा युग पाठक, सरस्वती प्रतीक्षा, महेशविक्रम शाहसँग बहसिए– नयनराज पाण्डे ।
उनीहरुले साहित्यमा सेन्सरसिपको अवस्थासँगै लेख्न हुने, नहुने आदि विषयवस्तुबारे छलफल गरे ।
सोही समयमा अलि मियाँ कक्षमा ‘चाल्र्स शोभराजः इन्साइड द हार्ट अफ द बिकिनी किलर’ नामक पुस्तक विमोचन भयो । विमोचनसँगै पुस्तकका लेखक रामेश कोइरालासँग ब्रजेशले कुराकानी गरे ।
फेस्टिभलअन्तर्गत चौथो दिनको छैटौं सेसन थियो, ‘दन्त्यकथा’ । यो शीर्षकमा प्रदीप गिरिले आफ्ना अभिव्यक्ति दिए । उनले दन्त्यकथासँगै मिथकबारे पनि प्रवचन दिएका थिए ।
मंगलबारको अन्तिम सेसन ‘कविता वाचन’मा विभिन्न ११ जना कविले कविता वाचन गरे । आजबाट सातौं ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल’ समापन भएको छ ।