शाहरुख खानको 'जिरो' : नामजस्तै व्यापार र समीक्षा
बलिउड स्टार शाहरुख खानको फिल्म 'जिरो' को भारतीय बक्स-अफिसको दुई दिनको व्यापारले यो फिल्म भारतीय दर्शकलाई खासै रुचिकर नलागेको देखाएको छ। २१ डिसेम्बरमा रिलिज भएको फिल्मले पहिलो दिन भारतमा २० करोड १४ लाख र दोस्रो दिन १८ करोड २२ लाख भारु कमाएको छ।
भारु २०० करोडमा बनेको 'जिरो' ले समीक्षकबाट पनि नकारात्मक प्रतिक्रिया पाएको छ। बलिउडका व्यापार विश्लेषक तरूण आदर्शले फिल्मलाई 'अत्यन्त निराशाजनक' भनेका छन्। उनले ट्विटरमा लेखेका छन्- शाहरुख र निर्देशक आनन्द एल. रायको सहकार्यबाट धेरै अपेक्षा गरिए पनि कमजोर लेखन (खासगरी मध्यान्तरपछि) ले फिल्मलाई खस्काएको छ।' उनले 'जिरो' लाई ५ स्टारमा १.५ स्टार मात्र दिएका छन्।
इन्टरनेशनल स्टार कहलिएका शाहरुखको फिल्म न्यूजिल्यान्ड र अष्ट्रेलियामा पनि रिलिज गरिएको छ। ती देशहरूमा प्राप्त स्क्रिनहरूको हिसाबमा फिल्मले सन्तोषजनक कमाइ गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बलिउड हंगामाको आँकडा अनुसार 'जिरो' अष्ट्रेलियामा करीब ३६ र न्यूजिल्यान्डमा २६ स्क्रिनमा रिलिज भएको छ। फिल्मले अष्ट्रेलियामा अहिलेसम्म भारु २५ करोड ९१ लाख र न्यूजिल्यान्डमा २० करोड ३१ लाख कमाइसकेको छ।
भारतमा ४ हजार ३८० स्क्रिनसहित 'जिरो' विश्वभरि ५ हजार ९६५ स्क्रिनमा रिलिज गरिएको थियो। त्यस हिसाबले कमाइको आँकडा धेरै कम रहेको उल्लेख गरिएको छ। फिल्ममा शाहरुखका साथै अनुष्का शर्मा र कट्रिना केफ मुख्य भूमिकामा छन्। शाहरुख विवाहका लागि युवती नभेटेर समस्या खेपिरहेका होचा व्यक्ति बौवा सिंहको भूमिकामा देखिएका छन्।
सन् २०१७ मा आएको शाहरुखको फिल्म 'रइस' ले भारतमा १९२ करोड ५१ लाखको व्यापार गरेको थियो। उक्त फिल्मले विभिन्न देशमा गरी ९५ करोड कमाउँदै विदेशमा उनको राम्रो फ्यान फ्लोइङ रहेको साबित गरेको थियो। गत वर्ष नै आएको फिल्म 'जब ह्यारी मेट सेजल' फ्लप साबित भए पनि विदेशमा ४४ करोड कमाउँदै घाटाबाट बचेको थियो। एजेन्सी