मनिषाकी आमा सुष्माले भनिन्, “तिमीलाई जन्माउँदा बुवाले सानो मुख बनाएका थिए”
बलिउड अभिनेत्री मनिषा कोइरालाकी आमा सुष्माले छोरी जन्मँदाको पीडा पोखेकी छन् । ७ पुसदेखि पोखरामा शुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा छोटो मन्तव्य दिँदा उनी निकै भावुक बनिन् । “मनिषालाई जन्माउँदा तिम्रा बुवाले सानो अनुहार बनाएका थिए,” उनले भनिन्, “त्यतिबेला मैले छोरीको अनुहार हेरेर भनेको थिएँ, संसारका बुवाले तिमीलाई हेरेर गर्व गरुन् ।”
मनिषा जन्मिँदा आफू १७ वर्षकी मात्र भएको उनले बताइन् । छोरी मनिषालाई त्यतिबेला डाक्टर बनाउने आफूहरूको चाहना रहेको उनले बताइन् । तर, जब उनी अभिनयमा लागिन्, त्यसपछि भारतका प्रख्यात निर्देशकहरूले नै मनिषाको प्रशंसा गर्न थालेको बताइन् । जब मनिषालाई क्यान्सर भयो, त्यतिबेला आफूलाई विश्वास नै नलागेको आमा सुष्माले बताइन् ।
क्यान्सरको संकेतलाई बेवास्ता गरें– मनिषा
पाठेघरको क्यान्सरबाट मुक्त भएकी अभिनेत्री मनिषा कोइरालाले आफूले पहिल्यै आएको स्वास्थ्य समस्यालाई बेवास्ता गर्दा क्यान्सर हुन पुगेको बताइन् । क्यान्सरबाट मुक्त भएपछिका अनुभुति समेटेर उनले लेखेको पुस्तक “हिल्ड”को विमोचनपछि उनले स्वास्थ्य समस्यालाई सानो भनेर बेवास्ता गर्दा क्यान्सर भएको बताइन् ।
“मलाई ६ महिना अघिदेखि नै गाह्रो भएको थियो । ज्वरो, खोकीलाई बेवास्ता गरें, पछि क्यान्सर भएपछि मात्र यसको संकेत थियो भन्ने थाहा पाएँ,” मनिषाले भनिन् ।
नेपाली महानायक राजेश हमालसँगको वार्तालापमा मनिषाले क्यान्सरविरुद्ध जनचेतना जगाउन आवश्यक रहेको बताइन् । “एक जनाको प्रयासले मात्र हुँदैन । सरकार, समुदाय सबै मिलेर क्यान्सरविरुद्ध जनचेतना फैलाउनुपर्छ,” उनले भनिन्, यसमा मेरो पनि सहभागिता रहन्छ ।”
पेन्गुइनले प्रकाशन गरेको पुस्तक “हिल्ड” मनीषाकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सार्वजनिक गरेका थिए ।
विविध विषयमा मन्थन
पोखरास्थित पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले फेस्टिभलको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दै जोनले पोखरा बस्नुको कारण यसरी खुलाए– “५, ६ महिना पोखरा बस्ने भनेर आएका थियौं, मलाई हजारौं विद्यार्थीले माया गर्थे तर पोखराले जति माया कसैले गरेन ।”
भारतको केरलामा जन्मिएका जोनले कालान्तरमा काठमाडांै हुँदै पोखरा आएर यहाँको शिक्षाको क्षेत्रमा काम गरेको विषय एवम् उनका योगदानबारे साहित्यकार सरुभक्तले बोलेका थिए ।
कार्यक्रमको तेस्रो सेसनमा ‘अझै रमिता छ’ शीर्षकमा मञ्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले संवाद गरेका थिए । चौथो सेसनमा निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘दी आर्ट अफ दी ग्राफिक मेम्वायर’ बारे संवाद गरेकी थिइन् ।
पाँचौं सेसनमा कान्तिपुरका प्र्रधान सम्पादक नारायण वाग्ले र स्तम्भकार खगेन्द्र संग्रौलाले ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा अन्तरसंवाद गरे । सोही समयमा लेखक मोहम्मद हनिफको पुस्तक ‘रेड बड्र्स’का विषयमा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितले संवाद गरे ।
युवराज श्रेष्ठ, पोखरा