डाँडाको घाम भयो सुख र चैन (भिडियो)
मोरङको सुन्दर हरैंचा नगरपालिका-११ नयाँ बेलेपुरस्थित सडक किनारमा एक झुपडी छ। त्यहाँ बस्छन्, फिरन राजधामी (७३) र उनकी पत्नी पवित्रा (७०)। फिरनको खुट्टा नटेकिएको, बोली र कान बन्द भएको १२ वर्ष बित्यो। हाट बजारमा मागेर पति र आफूलाई पाल्दै आएकी छन्, सावित्राले।
तराईमा शीतलहर शुरु भएको छ। फुसको छानोबाट तपतपी शीत चुहिन्छ भने बाँसको टाटीबाट छिरेको चिसो सिरेटोले मुटु कमाउँछ। “सिरक भए यो जाडोमा बूढा न्यानोसँग सुत्न सक्थे,” सावित्राले रुँदै भनिन्, “बूढाको उपचार भए ढुक्कले बाँच्न पाइन्थ्यो।”
आफन्त शिवलाल धामी (७१) का अनुसार फिरन सुनसरीको बक्लौरीबाट किशोरावस्थामा हरैंचा आएका थिए। त्यसपछि धेरैका घरमा गोठालो बसे। हली बनेर धेरैका खेत पनि जोते।
विस्तारै सडक किनारमा फुसको घर बनाएर बस्न थाले। बल हुन्जेल दुवै दम्पत्ति दाउरा बोकेर विराटचोक पुग्थे। र, त्यही बिक्री गरेर छाक टार्थे।
फिरन हिँडडुल गर्न नसक्ने भएपछि सावित्रा अरूका घरखेतमा गएर मजदूरी गर्न थालिन्। काम गर्ने बल कम हुँदै गएपछि मागेर जीवीका चलाउन थालिन्।
मोतीविन्दुले आँखा पनि बन्द भएपछि फिरन थप समस्यामा परे। भरखरै गाउँलेले आँखाको शल्यक्रिया गराइदिएकाले देख्न भने थालेका छन्।
उनीहरूकी एक मात्र छोरी नजिकैको ऐलानी जमिनमा घर बनाएर परिवारसहित बस्छिन्। छोरी र नाति-नातिनीलाई पनि सावित्राले मागेर सहयोग गर्दै आएकी छन्। सडक विस्तार हुने भएकाले उनीहरूको फुसको झुपडी भत्किने पक्का छ।
ज्येष्ठ नागरिक दम्पत्तीको दैनिकी दुःखदायी भएको छिमेकी हेमकुमारी कार्की बताउँछिन्। हिँडडुल गर्न नसक्ने फिरन दिनभरि माग्न गएकी सावित्रालाई पर्खिएर बस्छन्। झुपडीमा एक मात्र काठको खाट छ तर फिरन चढ्न नसक्ने भएकाले भुईंमै सुत्छन्। दिसा-पिसाब भित्रै गर्छन्। कसैले उपचार गराइदिए फिरनको कान सुन्ने समस्या हट्ने छिमेकी मुना विश्वकर्माको अड्कल छ।
हेर्नुहोस् भिडियो