कलिलैमा बिहे, बालापनमै आमा
उमेर १३ वर्ष। तर, ९ महिनाकी गर्भवती। मकवानपुरको राक्सिराङ गाउँपालिका-३ की गंगामाया चेपाङ एक महीनादेखि काठमाडौं वनस्थलीस्थित एक नातेदारको डेरामा छिन्। उनलाई गत ७ मंसीरमा प्रधानमन्त्री कार्यालय र सहयोगीहरूको मद्दतमा काठमाडौं ल्याइएको हो।
गंगामायाको रेखदेख र स्याहार सुसार गर्न उनका श्रीमान रञ्जित (१८) र आमा राममाया (४६) पनि काठमाडौं आएका छन्। थापाथलीस्थित प्रसुती गृहमा नियमित गर्भजाँच गराइरहेकी छन्, उनले।
४ कक्षा पढदा पढ्दै भागी बिहे
माघ २०७४ मा एक नातेदारको घरमा बिहे थियो। गंगामाया काम सघाउन त्यहाँ गएकी थिइन्। नजिकैको अर्को घरमा भतिजाको छेवरमा गएका थिए, मकवानपुर कैलाश गाउँपालिका-७ का रञ्जित पनि। उनीहरूबीच त्यहीं देखाभेट भयो। गंगामाया रञ्जितसँगै बसिन्, केही दिन घर फर्किनन्। १० माघ २०७४ मा रञ्जितको घरमा गंगामाया बुहारीको रूपमा भित्रिइन्।
गंगामायाकी आमा राममायालाई उनी त्यसअघि एक पटक मात्र रजश्वला भएको थाहा छ। “त्यसपछि उसको पेट बसेछ,” राममाया भन्छिन्, “परघर (विवाह) भइसकेकी उसले पढाइ पनि उतिबेलै छाडेकी हो।”
२२ भदौ २०६३ मा गंगामाया जुम्ल्याहा दिदी जमुनाका साथमा जन्मिएकी हुन्। उनी २२ भदौ २०७५ मा १२ वर्ष पूरा भएर १३ वर्ष लागेकी छन्। उनीभन्दा केही मिनटले जेठी दिदी जमुना भने राक्सिराङ-३ पलाँसेमा ६ कक्षामा पढिरहेकी छन्। बिहे हुँदा गंगामाया भने साना कक्षामा अनुत्तीर्ण भएर ४ कक्षा मात्र पुगेकी थिइन्।
बालापन नसकिँदै गर्भवती भएकी गंगामायाकी दिदी प्रितिमायाले पनि ३ कक्षाको पढाइ नसिकिँदै १३ वर्षको उमेरमा भागी बिहे गरेकी थिइन्। हाल १८ वर्ष पुगेकी प्रितिमायाका ५ र ३ वर्षका २ सन्तान छन्।
गर्भवती छोरीको स्याहारका लागि काठमाडौं आएकी राममाया आफैं ९ सन्तानकी आमा हुन्, जसका १० नातिनातिना भइसकेका छन्। १५ वर्षको छँदा बिहे गरेका जेठा छोरो कृष्णकुमारका २, १८ वर्षको हुँदा बिहे गरेका माइला एकराजका १, १७ वर्षको हुँदा बिहे गरेका साहिंला शुकबहादुरका २ सन्तान छन्।
यस्तै, १८ वर्षमा बिहे गरेको काहिंलो बिक्रमका २ र १५ वर्षको हुँदा बिहे गरेका अन्तरे शुक्रका १ सन्तान छन्। कान्छा छोरो बुद्धसिंह (१६) कक्षा-७ मा पढ्दैछन्।
राममायाका ७ छोराछोरीले १३ देखि १८ वर्षको उमेरमा आफूखुशी भागी बिहे गरेका हुन्। राममाया आफैंले पनि १६ वर्षको हुँदा जेठो छोरो कुष्णकुमारलाई जन्म दिएकी थिइन्। “म त कालो अक्षर भैंसी बराबर भएँ,” उनी भन्छिन्, “अक्षर चिनेका छोराछोरीले चिचिलैमा यसरी बिहे गरेको देख्दा यिनीहरूको जुनी पनि मेरोजस्तै खेत खोरियामै बित्ने भयो भन्ने पीर लाग्छ।”
घरको आर्थिक अवस्था बनिबुतो गरेर पालिनुपर्ने छ। हातमा कुनै सीप नभएका रञ्जित ट्याक्टरमा ढुंगा बालुवा भर्ने काम गर्छन्। त्यो पनि, वर्षमा ५-६ महीना मात्र पाइन्छ। बाँकी समय खेतबारीमा मजदूरी गर्छन्। भन्छन्, “जसरी भए पनि पालिनै पर्यो।” उनले यसो भनिरहँदा १३ वर्षे गर्भिणी गंगामाया आमा राममायाको ढाडमा ज्यान अड्याएर मजेत्रोले पेट छोप्दै थिइन्।