पूर्वगभर्नर रावलसहित तीनविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन गभर्नर रावलसहित तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र अष्ट्रेलियाली कम्पनी मे फ्लावरका स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध भ्रष्टाचारको अभियोग लगाएको हो। रावल, पौड्याल र पाँडे तीनै जनाविरुद्ध जनही रु. ९१ लाख ९ हजार ८ सय ८९ बिगो मागदाबी गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा रु. १० को ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको कम्पनीको स्थानीय एजेन्टमार्फत भ्रष्टाचार गरी कसुर गरेको देखिएकाले मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
नोट छपाइका लागि बोलपत्र आह्वान गर्नुपूर्व मिलेमतो गरिएको अख्तियारको दाबी छ। नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको भेटिएको उल्लेख गरेको छ।
अख्तियारले छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नल्याउन सञ्चारकर्मीहरूलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाइएकोसमेत जनाएको छ।
नोट छपाइका लागि जसलाई पछि कार्यादेश दिइएको हो, उसलाई नै बोलपत्रपूर्व नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रतिहजार अष्ट्रेलियन डलर ६८ बाट ४ बढाउन लगाई सोहीबमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराई नोक्सानी पुर्याई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको अख्तियारको दाबी छ।