बक्स-अफिसमा रजनीकान्तको '२.०' को रफ्तार, कमाइ ७०० करोड नाघ्यो
२९ नोभेम्बरमा रिलिज भएको रजनीकान्त र अक्षय कुमारको फिल्म '२.०' ले विश्वभरि निरन्तर कमाइ गरिरहेको छ। विज्ञान कथामा आधारित फिल्मले दर्शकको साथ भरपूर पाइरहेको छ।
व्यापार विश्लेषकहरूका अनुसार फिल्मले दुई सातामा विश्वव्यापी रूपमा भारु ७१० करोडको व्यापार गरेको छ। यससँगै '२.०' ले ७०० करोड कमाउने पहिलो तमिल फिल्मको कीर्तिमान रचेको तमिल फिल्मका व्यापार विश्लेषक मनोबाला विजयाबालनले ट्विटरमा उल्लेख गरेका छन्।
मूल रूपमा तमिल भाषाको यो फिल्म हिन्दीसहित १५ भाषामा रिलिज भएको थियो। फिल्मको कमाइको रफ्तार जारी रहेकाले '२.०' ले एक हजार करोड पार गर्नसक्ने अपेक्षा गरिएको छ। यदि त्यसो भएमा यो फिल्म भारु एक हजार करोड कमाउने दोस्रो भारतीय फिल्म बन्नेछ। एक हजार करोड कमाउने पहिलो भारतीय फिल्मको कीर्तिमान दक्षिण भारतीय अभिनेता प्रभासको पोल्टामा छ।
विश्लेषक विजयाबालनका अनुसार '२.०' ले पहिलो साता ५२६ करोड ८६ लाख कमाएको थियो। दुई साताको कमाइ जोड्दा फिल्मको कमाइ विश्वभरिमा भारु ७१० करोड ९८ लाख पुगेको छ। शंकरको निर्देशनमा बनेको यो फिल्मले हिन्दीभाषी क्षेत्रमा सुशान्तसिंह राजपुत र सारा अली खान अभिनीत 'केदारनाथ' लाई खासै टक्कर दिन नसकेको बताइएको छ। तर, आगामी साता '२.०' को कमाइमा असर पर्ने देखिएको छ। २१ डिसेम्बरमा शाहरुख खानको फिल्म 'जिरो' रिलिज हुँदैछ। एजेन्सी