दीपिका पादुकोण एसिड पीडितको भूमिकामा देखिने
बलिउड अभिनेत्री दीपिका पादुकोण निर्देशक मेघना गुलजारको फिल्ममा एसिड आक्रमणको पीडितको भूमिकामा देखिने भएकी छन्। एसिड पीडित लक्ष्मी अग्रवालको यथार्थ कथामा बनाउन लागिएको फिल्मको सुटिङ नयाँ वर्ष २०१९ मा हुनेछ।
१५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको थियो, जुन घटनापछि उनको कैयौं पटक शल्यक्रिया गरिएको थियो। केही समयपछि उनले एसिड पीडित महिलाहरुलाई सहयोग गर्ने अभियान शुरु गरिन्। फिल्मको निर्माता समेत रहेकी दीपिकाले भनिन्, "यो फिल्म यस्तो कथामा बन्न लाग्दैछ, जसबारे मानिसहरुलाई बताउनु जरुरी छ भन्ने मलाई लाग्छ। फिल्म सत्य घटनामा आधारित हुनेछ, राम्रो चीज बाहिर आउँछ भन्ने आशा छ।"
आउँदो ५ जनवरीमा ३३ वर्षमा टेक्न लागेकी दीपिकाले विवाहपछिको पहिलो जन्मदिन मनाउने योजना हालसम्म नबनेको बताइन्। व्यस्तताकै कारण हनिमुनमा समेत जान नभ्याएको उनको भनाइ थियो।
अहिले आफू पति रणवीर सिंहको नयाँ फिल्म 'सिम्बा' को रिलिजमा मात्र केन्द्रित रहेको उनी बताउँछिन्। एक अवार्ड समारोहमा सहभागी उनले भनिन्, "सिम्बा रिलिजपछि हामी हनिमुन र जन्मदिनबारे सोच्नेछौं। मलाई लाग्छ, यो फिल्म ब्लकबस्टर हुनेछ।"
रोहित शेट्टीले निर्देशन गरेको 'सिम्बा' यही २८ डिसेम्बरमा रिलिज हुँदैछ। - एजेन्सी