भिसाको म्याद गुजारेर पोखरामा मजदूरी
अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ।
उक्त परिवार पोखराआसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो। पक्राउ पर्नेहरूमा रुसी नागरिक खामोव दिमित्री (४६), उनकी श्रीमती कोभालिन्को भेलिरिया (२६), उनीहरूका छोराहरू कोभिलिन्को बोग्दान (३) र ११ महिने इमेलिन छन्।
अध्यागमन कार्यालय पोखराले उनीहरूलाई पोखरा-६ खहरेखोला नजिकबाट पक्राउ गरेको हो। उक्त परिवार त्यहाँ छाप्रो बनाएर बसेको थियो। र, मजदूरीबाट पालिएको थियो। “यो परिवार कहिले वरपरका किसानकहाँ त कहिले होटलमा मजदूरी गर्दो रहेछ,” अध्यागमन कार्यालय पोखराका प्रमुख सन्तोष लामिछानेले हिमालखबरसँग भने।
गाउँ नजिकैको खुला ठाउमा अचम्मसँग एउटा विदेशी परिवार केही वर्षदेखि बसिरहेको बताउँदै गाउँलेले अध्यागमन कार्यालय पोखरामा खबर गरेपछि उनीहरू पक्राउ परेका हुन्।
१२ अप्रिल २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल प्रवेश गरेका थिए, दिमित्री र भेलिरिया। ११ महीनाअघि पोखरामै जन्मेका हुन्, इमेलिन। यो परिवार गाउँलेसँग सामान्य छिमेकीझैं मिलेर बसेको थियो।
अध्यागमन विभागले उनीहरूको नेपाल बसाइको ‘ओभर स्टे’ (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको जनाएको छ। अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ। त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ।