मण्डलामा ‘उपियाँको निबन्ध’
हालै भारतको कोलकाता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएको नाटक ‘उपियाँको निबन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेको छ।
केदार श्रेष्ठको लेखन र परिकल्पना रहेको नाटक २५ मंसिरदेखि मञ्चन भइरहेको हो। ४१ औं मञ्चनबाट मण्डलामा शुरु भएको नाटक ३ पुससम्म हरेक दिन १२ देखि ५ बजेसम्म मञ्चन हुनेछ। उक्त नाटक राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला र दुई वर्षअघि थिएटर मलमा नियमित मञ्चन गरी ४० पटक मञ्चन भएसकेको छ।
स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा छ ‘उपियाँको निबन्ध’मा। नाटकलाई हाँस्य व्यंग्य शैलीमा तयार पारिएको छ।
परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासका बीच एक बालकले अवोध रूपमा गरेको चतुर्याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा गरिएको छ। नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्याईंपछि शिक्षकको प्रतिक्रिया हो।
हरिसिद्धिस्थित प्रेरणा विद्याश्रम, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको सहकार्यमा नाटकको प्रस्तुति भइरहेको छ। विद्याश्रमका विद्यार्थीहरु योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन, अदिन महर्जन, लुमन्ति महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन र जल्लु लिम्बूले नाटकमा अभिनय गरेका छन्।