सम्पत्ति बेचेर बेसहारालाई हुर्काउँदै
आफ्नो पैतृक सम्पत्ति बेचेर ललितपुरमा २९ वर्षदेखि अनाथालय सञ्चालन गरिरहेका एक दम्पती दिगो स्रोतका लागि रु. १ करोडको अक्षयकोष खडा गर्ने अभियानमा छन्।
दुई वर्षअघि काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा सुत्केरी भएकी करीब १८ वर्षकी एक युवती नवजात शिशुलाई त्यहीं छोडेर बेपत्ता भइन्। त्यसको भोलिपल्ट ६ चैत २०७३ मा अस्पतालले उक्त शिशु ललितपुर, नक्खुमा अनाथालय सञ्चालन गरिरहेकी रीता राईलाई सुम्पियो। दुई वर्ष पुगेको बालकतिर देखाउँदै रीता भन्छिन्, “गाईको दूध खुवाएर मैले यसलाई बडो मुश्किलले यतिसम्म हुर्काएँ।”
९ वर्षअघि प्रहरीले काठमाडौंको गोंगबुमा फेला पारेको सालनालसहितको शिशु अनाथ बालबाटिका संघमा बुझायो। हुर्कंदै जाँदा ती बालिकाको मस्तिष्कको पर्याप्त विकास हुन सकेन। उनलाई माइक्रोसेफाली (टाउकोको आकार सानो भएर मस्तिष्क वृद्धि हुन नसक्ने) भएको रहेछ।
मकवानपुरको चेपाङ बस्तीबाट १० वर्षअघि रीताको काखमा आइपुगेका अर्का ११ वर्षीय बालक अनाथालयमा ल्याइँदा ६ महीनाका मात्र थिए। बाबुको मानसिक सन्तुलन गुमेको र आमासमेत रोगी भएपछि प्रहरीले संघको जिम्मा लगाएका ती बालक अहिले कक्षा ४ मा पढिरहेका छन्।
यस्तो कठिन हालतबाट उद्धार गरिएका ३२ जना बालबालिकालाई अहिले ललितपुर महानगरपालिका-१३ स्थित अनाथ बालबाटिका संघले संरक्षण गरिरहेको छ, जसको सञ्चालिका रीता राई (४७) हुन्।
आफूले जन्माएका दुई छोराहरूको नाम लिँदै रीता भन्छिन्, “यिनीहरू सबै मेरा लागि सुदिन र सुबोधजस्तै हुन्।” परोपकार गर्दा मनमा शान्ति मिलेको बताउने रीता आफ्नै मर्जीले यो काम गरिरहेकी छन्। भन्छिन्, “म बाँचुञ्जेल मेरो कर्म यही हो।”
संघमा रहेका सबै बालबालिकाको थर उनले हिमाली राखिदिएकी छन्। संस्थाको नाम पनि उनी आफैंले जुराएकी हुन्। उनी भन्छिन्, “जात र थरका आधारमा कसैले पनि हेलाहोचो महशूस गर्नु नपरोस् भनेर सबैको थर हिमाली राखिदिने गरेकी छु, यो शब्दले नेपाली भूगोलको परिचय पनि बोकेको छ।”
कठिन शुरूआत
सानैदेखि परोपकारमा रुचि भएकी रीताको मन बेसहारा र अपहेलित बालबालिका देख्दा द्रवित हुन्थ्यो। त्यस्ता बालबालिकालाई स्नेह दिएर हुर्काउने इच्छा राखेकी उनले मनका कुरा इञ्जिनियर श्रीमान् निर्मलचन्द्र राईलाई सुनाइन्। श्रीमान् पनि राजी भएपछि २०४६ सालमा नक्खुस्थित उनको घरमै खुल्यो अनाथ बालबाटिका संघ।
परिवारबाट अंशमा पाएकोमध्ये ९ आना जग्गामा रु.४२ लाख लगानी गरेर उनीहरूले तीनतले घर निर्माण गरेका थिए, जुन अहिले संघको नाममा छ। आफ्नो घर अनाथ बालबाटिका संघको नाममा नामसारी गर्न जाँदा मालपोत कार्यालयकै हाकिमबाट समेत ‘सम्पत्ति धेरै भएको’ जस्ता व्यंग्य उनीहरूले सुन्नु परेको थियो। आफन्तहरूले त नकारात्मक टिप्पणी कति गरे कति।
त्यही वर्षको कुरा हो, एक जना सरकारी अधिकृतकी श्रीमतीले तीन छोरी छोडेर दोस्रो विवाह गरिन्। श्रीमतीले छोडेर गएपछि ती अधिकारीले समेत छोरीहरूलाई बेवास्ता गर्न थाले। आमा-बाबुबीचको किचलोले हुनेखाने घरकै बालिकाहरू सडकमा पुग्ने अवस्था देखेपछि रीताले तिनलाई आफ्नै संस्थामा राखेर संरक्षण दिइन्।
त्यसको तीन वर्षपछि कतै प्रचार नगरिदिन अनुरोध गर्दै ती अधिकारीले छोरीहरू फिर्ता लगे। अहिले ती छोरीमध्ये दुई जना युरोपमा प्रतिष्ठित जीवन बिताइरहेका छन् भने अर्की काठमाडौंमै ब्यांकिङ क्षेत्रमा कार्यरत छिन्। रीता भन्छिन्, “उनीहरू माइती मान्न यहीं आउँछन्, यहाँका बालबालिकालाई खान्की जुटाउन मद्दत पनि गरिरहेका छन्।”
शुरूका दिनमा संघ चलाउन भएको गाह्रो अहिलेसम्म पनि उस्तै रहे पनि यसबाट मिल्ने सन्तुष्टिको तुलनामा त्यो दुःख केही नरहेको उनी बताउँछिन्। भन्छिन्, “अनाथ बालबालिकालाई पाल्न मैले दुई रोपनी जग्गा र भएका गरगहना पनि बेचें।” त्यसपछि संघलाई दिगो बनाउने उपायको खोजी गर्न थालेका उनीहरूले अनाथ बालबालिकाबारे वृत्तचित्र उदय निर्माण गरे।
त्यही वृत्तचित्र वित्तीय संस्था, व्यापारिक फर्म, लायन्स क्लबलगायत विभिन्न संस्था र प्रतिष्ठानलाई देखाएपछि अनाथालयलाई केही सहयोग प्राप्त भयो। बालबाटिकामा मासिक खर्च हुने करीब रु.१ लाख यस्तै अनियमित दाताको सहयोगबाट चलिरहेको रीता बताउँछिन्। भन्छिन्, “प्रत्येक दिन कोही न कोही सहृदयी यहाँ आइरहेको हुन्छ।”
छैन नियमित आयस्रोत
२०५७ सालको कुरा हो, एकदिन अचानकै डा. सुन्दरमणि दीक्षितले रीतालाई फोन गरेर संघको ठेगाना सोधे। संघबारे अखबारमा प्रकाशित समाचार पढेपछि डा. दीक्षितले उनलाई फोन गरेका रहेछन्। त्यसको केहीबेरमै संघको कार्यालय पुगेका उनले त्यहाँ रहेका १९ जना बालबालिकाको पढाइ खर्च निरन्तर सात वर्षसम्म बेहोरिदिए। रीता भन्छिन्, “त्यसपछि यति लामो अवधिसम्म यत्रो भरथेग गरिदिने अर्को दाता भेटिएको छैन।”
हिजोआज जन्मोत्सव, विवाहोत्सवका अवसरमा सहयोग गर्न चाहनेहरूबाट बालबालिकाका लागि साताको कम्तीमा पाँच छाक खाना जुटिरहेको छ। संघले एक छाकका लागि शाकाहारी खाना खुवाउन चाहनेबाट रु.१० हजार र मासुसहितको खाना खुवाउन चाहनेबाट रु.१२ हजार लिने गरेको छ। बाहिर पकाएको खाना भने त्यहाँका बालबालिकालाई खुवाउन पाइँदैन।
नियमित स्रोत नभएको संघलाई लायन्स, रोटरीजस्ता सामाजिक संघसंस्था साथै रीता र निर्मलका विदेशमा रहेका आफन्तले पनि बेला मौकामा सघाइरहेका छन्। अब दिगो आयस्रोतका लागि कम्तीमा रु.१ करोडको अक्षय कोष खडा गर्ने अभियानमा छिन्, रीता। हालसम्म रु.१ लाख ५० हजार मात्रै जम्मा भएको उनी सुनाउँछिन्।
अनाथ बालबालिकाका लागि सहयोग माग गर्न २०५७ सालमा समाज कल्याण मन्त्रालय पुगेका राई दम्पतीलाई मन्त्रालयले दुई पटक गरेर जम्मा रु.३० हजार दिएको थियो। करीब तीन महीनासम्म फाइल बोकेर मन्त्रालयका टेबलहरू चहार्दाको हैरानी र कर्मचारीहरूको बोली–व्यवहारले फेरि सरकारी अड्डा नगएको रीता बताउँछिन्। भन्छिन्, “सरकारले नै अनाथालय सञ्चालनका लागि छुट्याएको बजेट प्राप्त गर्न पनि साह्रै कठिन रहेछ।” त्यस्तै, संघमा रहेका ३२ मध्ये १२ बालबालिका बेवारिसे अवस्थामा भेटेर बुझाएको नेपाल प्रहरीले फेरि उनीहरूको अवस्था के छ भनेर सोधखोज नगरेको रीता बताउँछिन्।
‘हेला नगरी पालिदिनुहोला’
३१ माघ २०५८ को अपराह्न, रीता दाल-चामल किन्न पसल गएका बेला दुई जना महिला संघको कार्यालय प्रांगणमा आएछन्। त्यहाँ खेलिरहेकी एक बालिकासँग पानी मागेका उनीहरू बालिका पानी लिएर आउँदा फेरि देखिएनन्। बरु एउटा झोला छोडिएको थियो।
“एकछिनमा झोलाभित्र केही चलमलायो, खोलेर हेर्दा नवजात शिशु पो रहेछ,” रीता भन्छिन्, “त्यसमा एउटा कागज पनि थियो, ‘नानी हेला नगरी पालिदिनुहोला’ लेखेको।” रीताका श्रीमान् निर्मलचन्द्रले त्यो शिशुको किराँती नाम राखिदिए।
निर्मलचन्द्र भन्छन्, “किराँती नाम राखिदिएको केटो हुर्कंदै जाँदा त आर्य अनुहारको देखियो।” हाल अमेरिकाको मोन्टानामा बालरोग विशेषज्ञ डा. टेरेजा र उनका श्रीमान् डा. माइकले धर्मपुत्र बनाएर पालिरहेका ती बालकले बेलाबेला रीता र निर्मलचन्द्रलाई फोन गर्छन्।