मीटू प्रभाव, बलिउडका फिल्ममेकर साजिद खानमाथि कारबाही
यौन उत्पीडन विरुद्धको मीटू अभियानका क्रममा कैयौं महिलाहरुले गम्भीर आरोप लगाएपछि फिल्म निर्देशक साजिद खान कारबाहीमा परेका छन्। उनलाई इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एसोसिएसन (आईएफटीडीए) ले एक वर्षका लागि निलम्बन गरेको हो।
साजिदमाथि सुरुमा एक महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। यसपछि अभिनेत्री सलोनी चोपडा, रशेल वाइट, सिमरन सूरीले पनि यस्तो आरोप लगाएका थिए।
यी आरोपहरुमा गम्भीरतापूर्वक विचार गर्दै एसोसिएसनले निलम्बनको निर्णय गरेको हो। साजिदले एसोसिएसनको यो निर्णयबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
साजिदले 'डरना जरुरी हे' (२००६), 'हे बेबी' (२००७), 'हाउसफुल' (२०१०) र 'हाउसफुल २' (२०१२), 'हिम्मतवाला' (२०१३) लगायत फिल्म निर्देशन गरेका छन्।
साजिदका साथै बलिउडका ख्यातिप्राप्त अभिनेता आलोक नाथमाथि पनि मीटू अन्तर्गत यौन उत्पीडनको आरोप लागेको छ। जसमाथि कारबाही गर्दै सिने क्षेत्र र टेलिभिजन कलाकारहरुको एसोसिएसनले उनलाई निष्कासन गरेको थियो। उनी विरुद्ध प्रहरीमा उजुरी पनि दर्ता पनि भएको छ। - एजेन्सी