‘मरिसकेको मान्छे’लार्इ नेपाल पानोरमा बेस्ट डकुमेन्टरी अवार्ड
२१ मंसीरदेखि जारी काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा ‘मरिसकेको मान्छे’नामक वृत्तचित्र ले नेपाल पानोरमा बेस्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।
उक्त वृत्तचित्रलार्इ विद्या चापागार्इं र कमल कुमारले निर्देशन गरेका छन् । महोत्सवको यस संस्करणको ट्यागलाइन 'विमिन मुभ माउन्टेन्स' थियो ।
यस्तै, इसिमोड बेस्ट माउन्टेन फिल्म अवार्ड निर्देशक मुन्मुन धलारियाको भारत हिमाचलको दैनिकीमा आधारित 'एन अनसर्टेन विण्टर'ले जित्यो । प्रसुना डंगोलको डोल्पो डायरीले १ हजार अमेरिकी डलरको 'बेस्ट इन्भेन्सन माउन्टेन फिल्म अवार्ड' हात पार्यो ।
१ हजार अमेरिकी डलरको नेपाल पानोरमा बेस्ट फिक्सन अवार्ड अविनाश विक्रम शेर्पाको टट्टिनीले प्राप्त गर्यो । अशिन पौडेलको द ग्रेट मुखियाले नेपाल पानोरमा जुरी मेन्सन अवार्ड हात पार्यो ।
अन्तर्राष्ट्रियतर्फ अफगानिस्तानकी सारा मनीको अ थाउजेन्ड गर्ल्स लाइक मिले पहिलो पुरस्कार प्राप्त गर्यो, जसको राशी १ हजार ५ सय अमेरिकी डलर छ ।
सोही विधामा भुटानका अरुण भट्टराई र डोरोत्यो जुर्बोको द नेक्स्ट गार्जियनले दोस्रो हुँदै १ हजार डलर प्राप्त गर्यो । फिनल्यान्डका निकोलस कुलस्टोर्म, मार्तिन कार्तिनेनको इस्टर्न मेमोरिजले तेस्रो हुँदै ५ सय अमेरिकी डलर जितेको छ ।
५० हजार रुपैयाँको अडियन्स च्वाइस अवार्ड नेपालका शेनाङ ग्याम्जो तामाङको सुपर मन्कले जित्यो ।