पातलिँदै पाहुना चरा (तस्वीर कथा)
- कमल मादेन
काठमाडौं उपत्यकामा चरा अवलोकनका निम्ति चोभार नजिकैको टौदह आकर्षक गन्तव्य मानिन्छ । हिउँदमा विभिन्न आगन्तुक चरा पाइने यो पोखरी क्षेत्रमा विशेषतः आवासीय हाँसहरू नजिकबाट नियाल्न सकिन्छ ।
एक दशक अगाडिसम्म हिउँद याममा जाडो छल्न पोखरी क्षेत्रमा आउने आगन्तुक चराहरू ५०० भन्दा बढीको संख्यामा देखिन्थे । पछिल्लो तीन/चार वर्षयता भने चराको संख्या समग्रमा घट्नुका साथै आगन्तुक चरा कमै देखिन्छन् । यसपालि मंसीर दोस्रो साता टौदह पुग्दा ६/७ दर्जन मात्र चरा देखिए ।
८–१० वर्षअघि यही समयमा टौदहमा सुनजुरे हाँस (रेड–क्रिस्टेड पोचार्ड), कैलोटाउके हाँस (कमन पोचार्र्ड), खोयाहाँस (बार–हेडेड गूज), चखेवा (रुडी सेल्डक), खडखडे हाँस (गाड्वाल), हरियोटाउके हाँस (मलार्र्ड), फुर्के हाँस (फाल्केटेड डक), बिजुलागैरी (कमन टिल) आदि प्रशस्त मात्रामा आइसक्थे ।
यसपालि खडखडे हाँस, हरियोटाउके हाँस, बिजुलागैरी र चखेवा, मरुल (कमन कुट), जलेवा (ग्रेट कर्मोर्यान्ट), सानो जलेवा (लिटल कर्मोर्यान्ट) र बकुल्ला मात्र देखिए ।
पोखरी वरिपरि घर बन्नुका साथै होटलहरू खोलिएका कारण टौदहको प्राकृृतिक स्वरूप पछिल्लो समय बिथोलिएको छ । होटलको सुविधाले आन्तरिक पर्यटकहरूलाई सुविधा भए पनि ध्वनि प्रदूषण र मानवीय कोलाहल चराको संख्या घट्नुको कारण हुनुपर्छ ।
होटलमा साउन्ड बक्सबाट निरन्तर बजिरहने गीतले पर्यटकलाई नै झिजो लगाउँछ । त्यसको असर सुनजुरे हाँस, चखेवा जस्ता लजालु चरामा अवश्य पर्छ ।
पोखरी वरिपरि पूर्वाधार र शृंगार थप्दा पर्यटक त बढ्लान् तर, त्यस्तो कार्यले चराको आगमन घटाउँछ भन्ने कुरातर्फ टौदह व्यवस्थापन पक्षले हेक्का राखेको छैन ।
पढ्नुहाेस् ।