पोखरामा नयाँ घामकिरी
नेपालमा हालै घामकिरीको नयाँ प्रजाति फेला परे पनि सिमसार क्षेत्रमाथिको अतिक्रमण र प्रदूषण बढ्दै जाँदा यसको अस्तित्व खतरामा छ ।
गएको वसन्तको एक बिहान, कीटविज्ञ (एन्टामोलोजिस्ट) करेन कन्निफ पोखराको फेवातालमा घामकिरी (ड्रागनफ्लाई) खोज्दै थिइन् । डुंगामा सवार उनी दुर्लभ प्रजातिको फिलोगंगा मोन्टाना भेट्ने आशामा यताउता नियाल्दै परसम्म पुगिन् ।
यसअघि फेवातालमै फेला परेको योे प्रजातिको घामकिरी यसपालि तालको पल्लो किनारामा पुग्दा पनि देखिएन । कन्निफले डुंगालाई किनारमा बाँधिन् र वनतर्फ उक्लिइन् । तर पनि कीरो कतै भेटिएन ।
त्यसैबेला सानो खोल्सो पारि पातमा बसेको एउटा घामकिरी देखियो, रुखहरूको बीचबाट छिरेको घामको किरणमा टल्किरहेको । यो कीरो उड्नु अगावै कन्निफले केही तस्वीर खिच्न भ्याइन् र, फर्किइन् ।
साँझ आफ्नो कोठामा पुगेर बिहान खिचिएका तस्वीरहरू कम्प्युटरमा खन्याएर हेरेपछि उनले थाहा पाइन्, यो त नयाँ प्रजातिको घामकिरी रहेछ । यसअघि एशियामा फेला परेका ११ प्रजातिका माइक्रोगोम्फस ड्रागनफ्लाई भन्दा यसको ‘एनल एप्पेन्डेज’ फरक खालकोे थियोे । यो प्रजाति यसअघि नेपालमा देखिएको रेकर्ड थिएन ।
नयाँ प्रजाति फेला परेको कुरा सार्वजनिक गर्ने प्रक्रिया जटिल हुन्छ । सम्बन्धित विषयमा अध्ययन गरिरहेकाहरूको समीक्षा (पियर रिभ्यू) र वैज्ञानिक परीक्षण जस्ता प्रक्रियाबाट गुज्रनुपर्छ । अन्ततः कन्निफको अनुसन्धान लेख जर्मन जर्नल ओडोनाटोलजिका मा प्रकाशित भयो । र, नयाँ प्रजातिको माइक्रोगोम्फस फेवाताली औपचारिक रुपमा नेपालको रैथाने घामकिरी हुन पुगेको छ ।
अस्तित्व संकटमा
माइक्रोगोम्फस फेवाताली पाइएपछि कन्निफ खुशी हुनुपर्ने हो, तर उनी चिन्तित छिन् । किनकि नेपालमा बढ्दो प्रदूषण र तालतलैयालगायत सिमसार क्षेत्रको विनाशका कारण यस्ता घामकिरीहरूको अस्तित्व संकटमा छ ।
“पोखरामा पर्यटकीय गतिविधि बढ्दै जाँदा यहाँको पानीमा प्रदूषण पनि बढिरहेको छ, सिमसार क्षेत्र खुम्चँदैछन्” उनी भन्छिन्, “सिमसार संरक्षण नहुने हो भने केही वर्षमै यहाँ घामकिरीहरू देखिने छैनन् ।”
तीन करोड २५ लाख वर्ष अघिदेखि पृथ्वीमा अस्तित्वमा रहेको मानिने घामकिरी वैज्ञानिकहरूका अनुसार शुरुमा दुई मिटरसम्म लामा हुन्थे । तर यो कीराको अस्तित्वमा अहिले जस्तो जोखिम यसअघि कहिल्यै आएको थिएन । कीटनाशकको जथाभावी प्रयोग, जलवायु परिवर्तन र उनीहरूको आवास क्षेत्र (सिमसार) मा भएको मानवीय अतिक्रमणका कारण चम्किलो रङको फूर्तिलो यो जीव लोप हुने अवस्थामा छ ।
वैज्ञानिकहरूका अनुसार घामकिरी ‘पारिस्थितिकीय प्रणाली सूचक प्रजाति’ हो । जहाँ घामकिरी प्रशस्त हुन्छन्, त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणाली स्वस्थ मानिन्छ । कुनै ठाउँबाट घामकिरी हराउन थाले भने बुझ्नुपर्छ, त्यस क्षेत्रका ताल र सिमसार क्षेत्र कि सुक्दैछन् कि त प्रदूषित छन् ।
“घामकिरी निकै संवेदनशील हुन्छ, अधिकांश प्रजातिलाई पूर्णरुपमा प्राकृतिक र स्वच्छ वासस्थान चाहिन्छ” एक दशकदेखि नेपालमा रहेकी कन्निफ भन्छिन्, “जब त्यसमा मानवीय हस्तक्षेप हुन्छ, घामकिरी त्यहाँ रहँदैन ।”
कन्निफले पुतली विशेषज्ञ महेन्द्रसिं लिम्बूसँगको सह–लेखनमा नयाँ प्रजातिबारेको अनुसन्धान लेख तयार पारेकी हुन् । उनीहरू दुवै जना काठमाडौं उपत्यकाको फुल्चोकी वा नेपालका अन्य भागमा पुतली र घामकिरीबारे अध्ययन गरिरहेका हुन्छन् । फेवातालमा पाइएको नयाँ प्रजातिको घामकिरीलाई माइक्रोगोम्फस फेवाताली नाम उनीहरूले नै दिएका हुन् ।
“प्रत्येक घामकिरी हराएसँगै प्रकृतिमाथि हस्तक्षेप भइरहेको बुझ्नुपर्छ” लिम्बू भन्छन्, “पारिस्थितिकीय प्रणालीको सन्तुलन बिग्रियो भने मानव जाति नै संकटमा पर्छ ।”
विषाक्त पदार्थ बाहेक यो कीराको अस्तित्वमाथि जलवायु परिवर्तनको पनि चुनौती छ । पछिल्लो ३० वर्षमा युरोपबाट करीब ९० प्रतिशत कीराहरू नष्ट भइसकेका छन् र अमेरिकामा पछिल्लो २० वर्षमा डुलुवा रानी पुतलीको संख्या ९० प्रतिशत घटेको छ ।
संसारभर पाइने करीब पाँच हजार प्रजातिका घामकिरीमध्ये १४० प्रजाति नेपालमा पाइन्छन् । यीमध्ये केही त नेपालमा मात्र पाइने पनि छन् । काठमाडौं उपत्यकाको दक्षिणपूर्वमा रहेको फुल्चोकी घामकिरी प्रशस्तै पाइने ठाउँ हो, तर त्यहाँ पनि पुतली र घामकिरीको संख्या कम हुँदै गएको छ । फुल्चोकीबाट घामकिरी हराउन थाल्नुको कारण भने उपत्यकामा पानी आपूर्तिका लागि दैनिक सयौं ट्यांकरले त्यहाँबाट पानी निकाल्नु होे ।
त्यस्तै, पिकनिक स्थलहरूको फोहोर र नदी क्षेत्रको प्रदूषणले पनि घामकिरीको अस्तित्वमाथि थप संकट निम्त्याएका छन् । शिवपुरी राष्ट्रिय निकुञ्जमा मात्रै पाइने गरेको घामकिरीकै एक प्रजाति एपिओफेलेविया धेरै समयदेखि देखिएको छैन ।
नेपालदेखि अफ्रिकासम्म
अण्डाबाट जीवनचक्र शुरु हुने घामकिरीको जीवनको लामो अवधि पानीभित्र लार्भाका रुपमा बित्छ । केही प्रजाति त सात वर्षसम्म पनि लार्भा अवस्थामै हुन्छन् । लार्भाबाट विकसित भएर पखेटासहितको पुतली बनेपछि भने यसको आयु केही हप्ताको मात्रै हुन्छ । आहार र प्रजनन्को मुख्य ठाउँ पानी नै भएको घामकिरी तालतलैया सुके वा प्रदूषित भए बाँच्न सक्दैन ।
लामखुट्टे खाने भएकाले घामकिरीलाई मलेरिया र डेंगु नियन्त्रक पनि भनिन्छ । कन्निफ भन्छिन्, “लामखुट्टे बाहेक धान खेतमा पाइने अन्य साना कीरालाई पनि घामकिरीले आहार बनाउने हुँदा यसले कृषि उत्पादन वृद्धिमा समेत सहयोग पुर्याउँछ ।”
घामकिरीको बसाइँसराइ पनि अचम्मको हुन्छ । नेपालका केही प्रजातिका घामकिरी त हिमाल पार गरेर जापान र ताइवानसम्म पुगेका छन् । अन्य केही हावासँगै उडेर भारत हुँदै हिन्दमहासागर पार गरी अफ्रिकासम्म पुगेका छन् । तर, जलवायु परिवर्तनले घामकिरीको यस्तो आप्रवासन प्रक्रिया र उनीहरूको प्राकृतिक जीवनचक्र विथोलिदिएको छ ।
जीवजन्तुको संरक्षण प्रयासमा नेपालले अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएको छ । सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने निश्चित जस्तै रहेको नेपालमा गैंडाको चोरी शिकार पनि रोकिएको छ । स्तनधारी जन्तुहरूमा केन्द्रित रहँदै गर्दा कीरा प्रजातिका महत्वपूर्ण जीवको रक्षाका विषयमा भने नेपाल चुकिरहेको छ । जलीय वासस्थानको विनाशका कारण घामकिरीमाथि ठूलो खतरा छ ।
कन्निफ भन्छिन्, “मानिसहरूलाई सिमसार संरक्षण र जलाधार व्यवस्थापनबारे जागरुक बनाउनु जरुरी छ । पानी व्यवस्थापनको नयाँ तरिका खोज्नु र प्रकृति संरक्षणमा धेरैको रुचि जगाउनु नै यो कीरा जोगाउने प्रभावकारी उपाय हो ।”