बन्दैछ ‘बेसहारा बहिनी’हरूको घर
पाँच वर्षअघि आमाको मृत्यु भयो, भारतीय बाबु त्यसलगत्तै बेपत्ता भए। सडक विस्तारका क्रममा भएको एक झुपडी पनि भत्कियो। मोरङ जहदा-१ धुनी टोलका ४ दिदी-बहिनीले पाउनुसम्म दुःख पाए। अब आफ्नै निजी घर बन्दैछ, दुःखका दिन पनि सकिएको महशुस गरेका छन्।
आमाको मृत्यु र बाबु बेपत्ता बनेपछि तीन बहिनीको लालनपालनको जिम्मा त्यतिबेला ११ वर्षकी मात्र रहेकी काजल मुखियाको काँधमा आयो। पाँच वर्षदेखि सडक किनारको झुपडीमा बसेर ३ बहिनीको लालनपालन गर्दै आएकी छन्। त्यही झुपडी पनि सडक विस्तारका क्रममा भत्कियो।
दैनिक ६ किलोमिटर टाढा सुनसरीको अमडुवास्थित उखु फारममा पुगेर घाँस काटेर ल्याउँछिन्। र, जोगवनीको रेलवे लाइनमा पुर्याएर बिक्री गर्छिन्। त्यसबाट हुने सानो आम्दानीबाट बहिनीहरू सुनैना (५) नेहा (८) र रानी (१०) लाई पाल्दै आएकी छन्।
यी बेसहारा दिदीबहिनीका लागि जीवन विकास समाजले रु. अढाइ लाख लागतमा टिनको छानो भएको दुई कोठे घर बनाइदिँदैछ। समाजका अध्यक्ष योगेन्द्र मण्डलले बेसहारा उनीहरूका लागि घर बनाइदिन पाएकामा खुशी व्यक्त गरे।
उनीहरूको घर बनाइदिन प्रदेशसभा सदस्य जयराम यादवलगायत व्यक्तित्वले १९ मंसीरमा श्रमदान गरे। काजलका मामा दिलिप मुखियाले उनीहरूका लागि घर बनाउन थोरै जमिन दिएका छन्। केही दिनभित्रै घर निर्माण सकेर उनीहरूलाई भित्र्याइने जीवन विकासले जनाएको छ।
काजलले १६ वर्षकै उमेरमा गत महिना आफूखुशी विवाह गरिन्। तर, उनले बहिनीहरूलाई छाडेकी छैनन्।
कमल रिमाल, विराटनगर