फाष्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल
नेपाल कम्युनिष्ठ पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधीन काठमाडौं-तरार्इ फाष्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एकअर्काका परिपूरक रहेकाले दुवै योजना एकसाथ सम्पन्न हुनुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजकसमेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने टाँगिया बस्तिलाई बाराको कोल्हवी , सिमरा र निजगढमा स्थानान्तरण गर्न सकिने बताए।
निर्माणस्थलबाट विस्थापित परिवारलाई रोजगारीका लागि पहिलो प्राथमिकता दिइने कुरामा जोड दिँदै नेपालले विमानस्थल निर्माण यथाशीघ्र अगाडि बढाउन सरकारलाई आग्रह गर्ने गरी प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरे ।
नेता नेपालसहितको टोलीले विमानस्थल निर्माण क्षेत्रमा पर्ने लालबकैया , ककडी गाउँ , दुधौरा खोला, फास्ट ट्रयाक र टाँगिया बस्तीको स्थलगत अवलोकन गरेको छ । टोलीमा समितिका सदस्य तथा सांसद दिव्यमणी राजभण्डारी , शेखचाँद तारा , दीपकप्रसाद भट्ट, समितिका सचिव सुरजकुमार दुरा , अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका ओम शर्मा , सांसद अनिल झा , उमाकान्त चौधरी , एकवाल मियाँ , सीता गुरुङ , जीतपुर-सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल , निजगढका नगरप्रमुख सुरेश खनाललगायत सहभागी थिए।