'दी विजार्ड अफ ओज' विश्वको सबैभन्दा प्रभावशाली फिल्म
सन् १९३९ मा निर्माण भएको अमेरिकाको म्युजिकल फेन्टासी फिल्म 'दी विजार्ड अफ ओज' विश्वको सबैभन्दा प्रभावशाली फिल्ममा दरिएको छ।
इटालीको एक विश्वविद्यालयको अनुसन्धानअनुसार प्रभावशाली फिल्महरूको सूचीमा लिम्यान फ्राङ्क बमले सन् १९०० मा लेखेको बाल उपन्यासमा आधारित उक्त फिल्म पहिलो नम्बरमा परेको हो। प्रभावशाली फिल्मको सूचीमा 'स्टार वार्स' (१९७७) र 'साइको' (१९६०) पनि छन्।
इटालीको युनिभर्सिटी अफ ट्यूरिनका शोधकर्ताहरूले इन्टरनेशनल मुभी डाटाबेस (आईएमडीबी) मा सूचीबद्ध ४७ हजार फिल्महरूको प्रभाव आकलन गरेर उत्कृष्ट २० प्रभावशाली फिल्मको सूची बनाएका हुन्। यससम्बन्धी रिपोर्ट एप्लाइड नेटवर्क साइन्समा प्रकाशन भएको छ। रिपोर्टअनुसार सूचीमा परेका २० वटा फिल्म सन् १९८० अगाडि नै बनेका हुन्। तीमध्ये धेरैजसो अमेरिकामा निर्माण गरिएका छन्।
शोधकर्ताहरूका अनुसार यो अध्ययन पश्चिमा फिल्महरूमाथि गरिएको हो किनकि आईएमडीबी पश्चिमा मुलुककै फिल्ममा केन्द्रित छ।
सूचीका लागि यस्तो मानक
प्रभावशाली फिल्महरू चयन गर्न केही मानक निर्धारण गर्दै त्यसअनुसार परिणाम निकालिएको थियो। ती मानकमध्ये फिल्म बक्स-अफिसमा टिकेको समय, फिल्मबारे समीक्षा र दर्शकको रुचि मुख्य थिए।
सबै मानकमा खरो उत्रिएपछि 'दी विजार्ड अफ ओज', 'स्टार वार्स' र 'साइको' हर समयको सबैभन्दा प्रभावशाली फिल्महरूमध्ये माथिल्लो लहरमा उभिए। एजेन्सी