क्यान्सरलाई जितेर भारत फर्किइन् सोनाली बेन्द्रे
बलिउड अभिनेत्री सोनाली बेन्द्रे अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराएर करीब पाँच महीनापछि मुम्बई फर्किएकी छन्।
आइतबार राति उनी पति गोल्डी बहलको साथमा मुम्बई विमानस्थलमा उत्रेकी हुन्। उनको अनुहारमा क्यान्सरविरुद्धको युद्ध जितेको खुशीसँगै घर फर्किनुको उल्लास पनि छल्किएको थियो। विमानस्थलबाहिर निस्किनासाथै उनले प्रशंसकहरूलाई हात जोडेर अभिवादन गरेकी थिइन्।
सोनालीले गत ४ जुलाईमा आफू क्यान्सरसँग संघर्ष गरिरहेको र उपचारका लागि न्यूयोर्क जान लागेको सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। उनले आफूलाई धेरै खतरनाक अर्थात् 'हाई ग्रेड' क्यान्सर भएको बताए पनि कुन अंगमा भएको भन्ने खुलाएकी थिइनन्।
उनले अब फेरि उपचारका लागि न्यूयोर्क जानु नपर्ने र नियमित स्वास्थ्य जाँच गरे पुग्ने बताएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
सोनालीले १ डिसेम्बरमा न्यूयोर्कबाट मुम्बई फर्कने क्रममा ट्विटरमा घर फिर्तीको खुशी प्रकट गरेकी थिइन्। उनले लेखेकी छन्- "दूरीले प्रेम बढाउँछ भन्छन्, पक्कै पनि यो साँचो हो। तर, यो कुरालाई पनि उपेक्षा गर्नुहुँदैन, दूरीले हामीलाई के सिकाउँछ। घरदेखि टाढा न्यूयोर्कमा हुँदा मैले कैयौं कथाहरूमा आफू यात्रारत रहेको महशुस गरें। हरेक मानिस आफ्नो कथालाई आफ्नो तरीकाले लेख्ने कोशिस गर्छु। अब म फर्किंदैछु त्यहाँ, जहाँ मेरो मन छ।"
४३ वर्षीया अभिनेत्रीले अभिनय गरेका 'दिलजले' (सन् १९९६), 'मेजर साब' (१९९८), 'सरफरोश' (१९९९), 'हम साथ साथ हे' (१९९९), 'हमारा दिल आपका साप हे' (२०००) लगायत फिल्म बक्स-अफिसमा हिट भएका थिए। एजेन्सी