डेंगी नियन्त्रण गर्न सफल दिल्ली, नेपाललाई पाठ हुन सक्छ
लामुखुट्टेको टोकाइबाट डेंगी संक्रमण नेपालमा डरलाग्दो गरी बढेको छ ।
यस्तै महामारी तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा देखिएको थियो । त्यो बेला दिल्लीमा मात्रै १७ हजार ५०० मानिस डेंगी संक्रमित थिए ।
तर, दिल्ली सरकारले डेंगी नियन्त्रण गर्न थालेको अभियान सफल देखिएको छ । नयाँ दिल्लीमा अपनाइएको विधिले अहिले दुई हजार ७०० मात्र डेंगी संक्रमित भेटिए ।
त्यहाँ, हप्तामा एक दिन एक पटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेंगी बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ ।
अहिले नेपालको धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण बढनाका साथै यसबाट मानिसको मृत्यु समेत हुन पुगेको छ ।
दिल्लीमा शुरुआत गरिएको अभियान नेपालमा शुरु भएमा यो रोगको खतराबाट मुक्त हुन सकिने कोशी अस्पतालका चिकित्सक सङ्ज्ञा ज्ञवाली बताउँछन् ।
सुनसरीको धरानबाट फैलिएको यो रोग अहिले नेपालको ५३ जिल्लामा फैलिएको छ ।
डेंगीको यो भयावह स्थितिलाई हेरेर यस विषयमा राष्ट्रिय संकट घोषणा गर्नुपर्ने र सरकारले अहिले चालेको कदम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् ।