ढाकाकुमार श्रेष्ठलाई सांसदबाट पनि हटाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठलाई सांसदबाट पनि हटाउने निर्णय गरेको छ।
रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले दुई करोड घूस मागेको अडिओ प्रकरणमा श्रेष्टलाई सांसदबाट हटाउने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति रवि लामिछानेले सांसद श्रेष्ठलाई कारबाही गरिएको बताए।
सभापति लामिछानेले भने, “डा. ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गरेको छ। यस निर्णयले उहाँको सांसद पद खारेज गरी रिक्त रहेको उक्त सांसद पदमा कानून बमोजिम निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक बन्द सूची क्रमअनुसार, श्री बिन्दाबासिनी कंसाकारलाई निर्वाचित गरी सांसद पदमा स्थापित गर्ने प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ।”
रास्वपाले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही गरिएको सभापति लामिछानेले बताए।
रास्वपा सभापति लामिछानेले अडिओ सुन्दा सांसद श्रेष्ठकै स्वर भएको बुझिने बताए। “अडिओमा उहाँकै आवाज हो भन्ने देखिएको छ। त्यसैले हामीले यति छिटो कारबाही गरेका छौं,” लामिछानेले भने, “अडिओ वा भिडिओ आउँदा यति छिटो कसैले कारबाही गरेको छैन।”
स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। मन्त्री बनेपछि आफ्नो काम गर्नुपर्ने सर्तमा दुई करोड दिने बताएका थिए।