“डाक्टर” बनाउने धन्दा
‘नेपाली डाक्टर उत्पादन गरिरहेको’ गफ गर्ने मेडिकल कलेज संचालक पैसाका लागि नेपालीलाई रूसी वा भारतीय प्रमाणित गर्नेसम्मको पत्याउनै मुश्किल पर्ने कृत्य गरिरहेका छन् ।
यो सँगै अरू प्रश्न उठ्छ– हाम्रो कानून निमुखाका लागि मात्र हो ? धनी र शक्तिशालीका सन्तान जतिसुकै अयोग्य भए पनि तिनलाई मेडिकल डाक्टरको डिग्री पाउने सुविधा हाम्रो राज्यले दिनुपर्ने हो ?
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले ११ वर्षमा पढाएका कुल १ हजार ३५३ विद्यार्थीमा ६१३ मात्र नेपाली थिए ।
त्यस्तै, भरतपुरको कलेज अफ मेडिकल साइसेन्ज (सीओएमएस) ले १० वर्षमा नेपालीभन्दा करीब दोब्बर विदेशी विद्यार्थी भर्ना लियो । कलेजले २००२–०१२ मा ३६२ नेपाली र ६७० जना भारतीय विद्यार्थीलाई स्नातकको उपाधि दियो ।
२००५ मा एमबीबीएसको ११५ सीटमा त ८० जना भारतीय विद्यार्थीले स्नातकको उपाधि पाए ।
सन् १९९७ बाट एमबीबीएस पढाउन थालेको नेपालगञ्ज मेडिकल कलेजले पनि २००३ देखि २०१२ सम्ममा उत्पादन गरेका ९८६ डाक्टरमध्ये ५५५ विदेशी र ४३१ जना नेपाली थिए । कलेजबाट २००७ मा एमबीबीएस उत्तीर्ण ७३ विद्यार्थीमध्ये १९ जना मात्र नेपाली थिए ।