जलविद्युत् आयोजनाहरूले मापदण्ड अनुसार पानी नछोड्दा कास्कीको मादी गाउँपालिका क्षेत्रमा मादी नदी नै सुकेको छ।
मादी नदीको कलकल आवाज माथि माथि पाखापखेरासम्म सुनिन्थ्यो। सफा र निश्चल सलल बगेको देखेरै आनन्दित हुन्थे, छेउछाउका बासिन्दा। गर्मी याममा पनि गाउँघरमा शीतल महसूस हुन्थ्यो।
कास्कीको मादी गाउँपालिकाका दर्जनौं गाउँको संस्कृति र दैनिकीसँग जोडिएको मादी नदी यति वेला भने सुक्खा बनेको छ। कुनै विपद् वा प्राकृतिक कारणले मादी सुकेको होइन। बिजुली निकाल्न नदी थुनेका जलविद्युत् आयोजनाले आवश्यक मात्रामा पानी नछोड्दा वा नफर्काउँदा यस्तो अवस्था हो।
मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ मादीको अहिलेको अवस्था देख्दा दुःख लाग्ने गरेको बताउँछिन्। “पहिला सलल मादी बगेको देख्थ्यौं, अहिले त सुकेको छ, सुक्खै भएको छ,” गुरुङ भन्छिन्।
देशकै होचो स्थानमा रहेको क्हफुचे हिमताल (२४५० मिटर) बाट बग्ने क्हब खोलासँगै क्हायादु खोला र माद्मी खोला मिसिएर बनेको छ, मादी नदी। अन्नपूर्ण दोस्रो र चौथोको दक्षिणी ढालबाट बग्ने सप्तगण्डकीको सहायक नदी पनि हो, मादी। किनारतिर सिक्लेस, ताङतिङ, पार्चे, खिलाङ लगायत दर्जनौं गाउँ छन्।
जलविद्युत् आयोजनाका कारण नदी सुकेपछि गुरुङ समुदायका बस्ती पनि प्रभावित छन्। नदी सुक्दा मादी आसपास र माथिल्लो भेगमा रहेका गाउँमा पनि गर्मी बढ्न थालेको स्थानीय बासिन्दा बताउँछन्। “पहिले त शीतल हुन्थ्यो, अहिले त नदीमा पानी नभएरै होला, गर्मी हुन्छ,” उपाध्यक्ष गुरुङ भन्छिन्।
मादी गाउँपालिकाको क्षेत्रमा पर्ने मादी नदीमा मात्रै सात वटा जलविद्युत् आयोजना छन्। पाँच वटा जलविद्युत् आयोजनाले बिजुली उत्पादन नै गरिरहेका छन् भने दुई निर्माणाधीन छन्।
शुरूआतमा १३ मेगावाटको सिक्लेस जलविद्युत् आयोजना बनेको थियो। त्यसपछि ४४ मेगावाटको सुपर मादी, १२ मेगावाटको हिमालयन/नामार्जुन, २५ मेगावाटको माथिल्लो मादी र ८.८० मेगावाटको रुदी खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण भएका छन्। अहिले ४३ मेगावाटको अपर मादी जिरो र २४ मेगावाटको माद्मी खोला जलविद्युत् आयोजना निर्माणका क्रममा छन्।
माथिल्लो मादी जलविद्युत् आयोजना र तलतिर सुकेको मादी। तस्वीर: एक्याप
यिनै आयोजनाका कारण मादी सुकेको हो। यस विषयमा स्थानीय बासिन्दाले पटक पटक गुनासो गरेका छन्। त्यस्तै, स्थानीय जनप्रतिनिधिले पनि पटक पटक भन्दा पनि पानी नछाड्ने गरेको उपाध्यक्ष गुरुङ बताउँछिन्। “नदी सुकेको विषयमा पटक पटक जलविद्युत् आयोजनासँग बैठक बस्दा मुखले हुन्छ भने पनि पानी छाड्ने गरेका छैनन्,” उनी भन्छिन्।
संरक्षित क्षेत्रमै प्रकृतिको दुर्गति
मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी र कास्की गरी पाँच जिल्लाका १५ गाउँपालिकाको सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्र अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ। जैविक विविधता, प्राकृतिक स्रोत र वातावरणलाई संरक्षित गरेर राख्नुपर्ने भएकैले यी क्षेत्र समेटेर अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना (एक्याप)का रूपमा अघि बढाइएको हो। तर संरक्षित क्षेत्रभित्रै बनिरहेका जलविद्युत् आयोजनाका कारण नदीनालामा मात्रै होइन, जैविक विविधतामै असर परिरहेको छ।
हाल अन्नपूर्ण संरक्षित क्षेत्रभित्र ३४ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन्। त्यही क्षेत्रमा पर्ने मादी नदीमा मात्र सात वटा जलविद्युत् आयोजना छन्। मादी नदीभन्दा माथिका पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ लगायत छन्।
एक्यापका अनुसार भुजुङमा अपर खुदी, अपर स्यांगे, अपर मर्स्याङ्दी ‘ए’, खुदी, रुदी खोला ‘बी’, अपर मिदिम, स्यांगे माइक्रो र न्यादी जलविद्युत् आयोजना छन्। त्यस्तै, घान्द्रुकमा घलेम्दी खोला, मिस्त्री खोला, रेले खोला, निलगिरि खोला, निलगिरि खोला-२ क्यास्केड र म्याग्दी जलविद्युत् आयोजना छन्। नामार्जुङ मादी, सुपर मादी, अपर मादी, अपर मादी जिरो, माद्मी खोला, रुदी खोला ‘ए’, मद्क्यु खोला र घर खोला जलविद्युत् आयोजना सिक्लेस क्षेत्रमा छन्।
यसैगरी, संरक्षण क्षेत्रभित्रै रहेको ल्वाङमा सार्दी खोला, अपर मार्दी खोला, मार्दी खोला सानो, सेती नदी, राधीसाना, साइती खोला, करुवासेती, अपर सार्दी खोला र भदौली खोला जलविद्युत् आयोजना छन्। मनाङमा मनाङ मर्स्याङ्दी, जोमसोममा थापा खोला र चोखोपानी जलविद्युत् आयोजना रहेको एक्यापले जनाएको छ।
यी जलविद्युत् आयोजना निर्माणका क्रममा जथाभावी सडक खन्ने र रूख काट्ने काम हुँदै आएको छ। निर्माणसम्पन्न जलविद्युत् आयोजनाले नदी तथा खेलामा पानी छोड्ने गरेका छैनन्।
जलविद्युत् आयोजनाले पानी नछोड्दा ताङतिङभन्दा तल पूर्ण रुपमा सुकेको मादी नदी। तस्वीर: हुम गुरुङ
संरक्षित क्षेत्रभित्रै रहेका आयोजनाले पनि पानी नछाड्दा मादी सुकेको हो। जसले गर्दा संरक्षित क्षेत्रमा एकातिर जलचर संकटमा परेका छन् भने अर्कातिर पारिस्थितिक प्रणाली खलबलिन पुगेको छ।
मापदण्डको बेवास्ता
संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० मा जलविद्युत् आयोजनाले नदी तथा खोलामा पानी छोड्ने सम्बन्धी व्यवस्था गरिएको छ। कार्यविधिको दफा १९ को उपदफा १ मा भनिएको छ, ‘संरक्षित क्षेत्रको जग्गा प्रयोग गरी आयोजना सञ्चालनका लागि नदी, खोला थुन्दा वा फर्काउँदा नदी खोलामा उच्च सुक्खा मौसम अवधिभर अनूसूची ५ बमोजिमको न्यूनतम बहाव वा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएकोमध्ये जुन बढी हुन्छ, सोही प्राकृतिक प्रवाह (नेचुरल फ्लो) सुनिश्चित गरी जलप्रवाह वर्षौंभरि निर्बाध खुला छाड्नुपर्नेछ।’
अनुसूची ५ मा कति क्षमताको जलविद्युत् आयोजनाले नदी तथा खोलामा कति पानी छोड्ने भन्ने तोकेको छ। मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रमा २५ मेगावाटको आयोजनाले २० प्रतिशत, २५ देखि १०० मेगवाटसम्मको आयोजनाले १५ प्रतिशत र १०० भन्दा माथिको आयोजनाले १० प्रतिशत पानी छाड्नुपर्ने व्यवस्था छ। अझ नदीमा पानीको मात्रा घट्न नदिन सुनिश्चित गर्न १०० मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाले तोकिएको प्रतिशतभन्दा कम नहुनेगरी कम्तीमा ३.५ क्युसेक पानी वर्षैभरि निर्बाध रूपमा छाड्नुपर्ने अनुसूचीको द्रष्टव्य २ मा उल्लेख गरिएको छ।
जलविद्युत् आयोजनाले पानी छाड्नुपर्ने सम्बन्धी कार्यविधिमा रहेको व्यवस्था र अनुसूचीमा तोकिएको पानीको मात्रा।
तर मादी नदीमा रहेका आयोजनाले त्यस अनुसार पानी छाडेका छैनन्। नदी नै सुकेपछि गत वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र इलाका संरक्षण कार्यालय, सिक्लेसले जलविद्युत् आयोजनाको अनुगमन गरेका थिए। कानून अनुसार छाड्नुपर्नेमा मात्रमा पानी नछोडेको नपाइएपछि गत वर्ष एक्यापले आयोजनाहरूलाई दुई पटक पत्र नै पठाएको थियो।
एक्यापले गत फागुन ८ मा माथिल्लो मादी जलविद्युत् आयोजनालाई पत्र पठाएर पानी छाड्न भनेको थियो। पत्रमा भनिएको छ, ‘नदी खोला थुन्दा नदी खोलामा उच्च सुक्खा मौसम अवधिभर कम्तीमा २० प्रतिशत वा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएकोमध्ये जुन बढी हुन्छ, सो प्राकृतिक प्रवाह सुनिश्चित गरी जलप्रवाह वर्षैभरि निर्बाध खुला छाड्नुपर्ने भन्ने प्रावधानलाई बेवास्ता गरेको पाइएको छ।’
मादी नदीमा बनेका जलविद्युत् आयोजनाले पटक पटक पत्र पठाउँदा र बैठक बसालेर सचेत गराउँदा पनि आवश्यक मात्रामा पानी नछाडेको इलाका संरक्षण कार्यालय, सिक्लेसका प्रमुख संग्राम कार्की बताउँछन्। अब कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने उनको भनाइ छ। “पानी थुनिंदा मादी नदीका जलचरलाई असर पुगेको छ, नदी आफ्नो ‘नेचुरल फ्लो’ मा बग्न पाएको छैन,” कार्की भन्छन्, “हामीले अनुगमन गर्यौं, पत्र काट्यौं। अब पनि कार्यान्वयन नभए कानूनी प्रक्रियामा जानेछौं।”
एक्यापले माथिल्लो मादी र नामार्जुङ मादी जलविद्युत् आयोजनालाई काटेको पत्र।
पहिचानै गुम्ने डर
मादी नदी सुकेपछि स्थानीय बासिन्दा मात्र होइन, जनप्रतिनिधि पनि चिन्तित छन्। मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ जलविद्युत् आयोजनाहरूले पानी छाड्न बेवास्ता गरिरहेको बताउँछन्। यसबारे पटक पटक बैठक बसेर आवश्यक मात्रामा पानी छाड्ने सहमति गरे पनि आयोजनाहरूले कार्यान्वयन नगरेको उनको भनाइ छ। “आयोजना निर्माणाधीन अवस्थामा सामाजिक उत्तरदायित्व अनुसार थुप्रै काम गर्छु भनिएको हुन्छ, तर आयोजना बनिसकेपछि केही कार्यान्वयन हुँदैन। गर्छु भनेका हुन्छन्, तर व्यवहारमा लागू हुँदैन,” वडाध्यक्ष गुरुङ भन्छन्।
मादी खोला सुक्दा यसको प्रत्यक्ष असर स्थानीय बासिन्दालाई परेको छ। मादीमाथिको गाउँ सिक्लेसमा गर्मी बढेको महसूस हुन थालेको अध्यक्ष गुरुङ सुनाउँछन्। “पहिले गर्मी याममा पनि शीतल महसूस हुन्थ्यो, अहिले त गर्मी बढेको महसूस हुन्छ,” उनी भन्छन्, “मादी खोला सुकेर नै त्यस्तो भएको जस्तो लाग्छ।”
मादीमाथिको सिक्लेस गाउँ।
वातावरणविद् पनि नदी सुक्दा त्यसको चौतर्फी असर पर्ने बताउँछन्। नदी पानी मात्र नभई संस्कृति, गाउँको पहिचान पनि भएकाले पानी नै सुक्दा त्यो सम्बन्ध पनि टुट्ने वातावरणविद् हुम गुरुङ बताउँछन्। “अहिले सुक्खा याममा नदी पनि हिंड्ने बाटो जस्तो भएको छ,” वातावरणविद् गुरुङ भन्छन्, “नदी भनेको पानी मात्र होइन, हाम्रो संस्कृति हो, जीवन हो। जहाँ नदीको आवाज आउँछ, घरबस्ती, गाउँ, खेतीपाती यो सबैको संयोजन हो, अब नदी नै नरहेपछि यो सबै टुट्छ।”
जलविद्युत् आयोजनाका कारण प्रकृतिको अति दोहन भइरहेको उनी बताउँछन्। अब यसको विकल्प सोच्नुपर्ने उनको भनाइ छ। वातावरणविद् गुरुङ भन्छ्न्, “प्रकृतिको अति दोहन भइरहेको छ। अब विकल्पका रूपमा सोलार ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्छ।”