बुद्धका बाबु शुद्धोदन शाक्य-गणराज्यका आवधिक जनप्रतिनिधि थिए। यस्ता जनप्रतिनिधिलाई पनि राजा-महाराजा सम्बोधन गरिने तत्कालीन परम्पराको हेक्का नराखी इतिहास लेखिंदा गौतम बुद्धलाई राजतन्त्रात्मक सुखसयलमा हुर्किएको राजकुमार भनी भ्रामक प्रचार भइरहेछ।
वसन्त महर्जन
राष्ट्रिय महिला आयोगको प्रकाशन प्रथम तथा अग्रज महिला (विसं २०६९) मा गौतम बुद्धका सौतेनी आमा प्रजापति गौतमी र पत्नी यशोधरा पनि समाविष्ट छन्। प्रजापतिलाई ‘प्रथम बौद्ध भिक्षुणी’ र यशोधरालाई ‘बुद्धकी अग्रश्राविका भिक्षुणी’ का रूपमा पुस्तकमा ठाउँ दिइएको हो। शुरूमा प्रस्ताव आउँदा पहिले उति चर्चामा नआएका नाम भएकाले ‘यी नेपाली नै हुन् र ?’ भन्ने जस्ता प्रश्न आए।
यसको उत्तर गाह्रो थिएन- गौतम बुद्धको देश कपिलवस्तु वर्तमान नेपालको राजनीतिक भूगोल अन्तर्गत परेकै आधारमा उनलाई नेपाली मान्ने हो भने उनको परिवार पनि नेपाली नै हुन्छ। तर यो प्रश्नले टड्कारो संकेत गर्छ कि वर्तमान नेपालले चर्चेको भूभागभित्रको ऐतिहासिक, सांस्कृतिक, सामाजिक लगायत क्षेत्रमा अझै पनि पुग्दो अध्ययन-अनुसन्धान भएको छैन।
प्राचीन कपिलवस्तु राज्यका महाराज शुद्धोदनलाई प्रायः गौतम बुद्धको सन्दर्भमा मात्र सम्झिइन्छ। शुद्धोदनलाई इतिहासको विषयवस्तु बनाउन ऐतिहासिक एवं बौद्धिकहरू हिचकिचाइरहेको महसूस हुन्छ। मानौं, गौतम बुद्ध पनि पौराणिक आख्यानका एक पात्र हुन्, ऐतिहासिक होइनन्। अझ कतिपयको बुझाइमा गौतम बुद्ध शुद्धोदनका छोरा अर्थात् राजगद्दीका उत्तराधिकारी हुन् जो अचानक वैराग्य जागेपछि दरबार छाडेर हिंडे। तर ऐतिहासिकताको कसीमा यी कथ्य मेल खाँदैनन्।
सिन्धु घाटी सभ्यताको पतनपछि अस्पष्ट रहेको भारतीय इतिहासमा इस्वीपूर्व छैटौं शताब्दीतिर आएपछि बल्ल केही प्रकाश पर्छ। त्यो प्रकाश भनेको जैन धर्मका महावीर वर्धमान र बौद्ध धर्मका गौतम बुद्धको भौतिक अवशेष, पुरातात्त्विक प्रमाण तथा वाङ्मय हो। जैन र बौद्ध सन्दर्भस्रोतका आधारमा ‘प्राचीन भारत’ को इतिहास लेखन सम्भव देखिइसक्दा पनि त्यस्तै स्रोत उपयोग गरेर ‘प्राचीन नेपाल’ का लुकेका तथ्य बाहिर ल्याउनमा नेपाली ऐतिहासिकहरू उदासीन छन्। अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएकाले गौतम बुद्धको प्रसंगलाई जबर्जस्ती स्विकारे पनि उनीसँग जोडिएको ऐतिहासिकताको अध्ययन-अनुसन्धान तथा लेखनतर्फ उनीहरूले जाँगर नचलाएको महसूस हुन्छ।
कपिलवस्तु राज्य
कपिलवस्तु राज्यको स्थापनाबारे खासै जानकारी पाइँदैन। बौद्ध साहित्यको अनुशीलन गर्दा राज्य स्थापनाको शुरूमा यहाँ राजतन्त्रात्मक पद्धति रहेको अनुमान हुने झिनो संकेत भने पाइन्छ। काशीका राजा ओक्काकका चार राजकुमार र पाँच राजकुमारी आफ्नो देशबाट निर्वासित भएपछि कपिलवस्तुमा नयाँ राज्य स्थापना गरेका थिए। यसबाट त्यहाँ राजतन्त्रात्मक पद्धति रहेको मान्न सकिए पनि कति समय कायम रह्यो भन्ने खुल्दैन। कपिलवस्तुबारे अलि स्पष्ट रूपमा छैटौं शताब्दी (इपू) देखि मात्र थाहा हुन्छ जति वेला त्यहाँ गणतन्त्रात्मक शासन पद्धति थियो। त्रिपिटक अन्तर्गतको बौद्ध पालि वाङ्मय दीघनिकाय, मज्झिमनिकाय र अंगुत्तरनिकाय ग्रन्थहरूमा शाक्य गणराज्यको शासन व्यवस्था, कपिलवस्तुको सामाजिक-धार्मिक जीवन र बुद्धको पारिवारिक पृष्ठभूमिको वर्णन छ। यसरी नै कपिलवस्तुको शासकीय सभाको उल्लेख चुल्लहात्थिपदोपम सुत्त मा पाइन्छ।
ललितविस्तर, दिव्यावदान लगायत संस्कृत भाषाका महायानी बौद्ध वाङ्मयले भने त्यहाँ राजतन्त्रात्मक शासन पद्धति रहेको झल्को दिन्छन्। गणसदस्यलाई राजा र गणप्रमुखलाई महाराजा भनेर पनि सम्बोधन गरिने तत्कालीन परम्पराको हेक्का नहुँदा सम्भवतः संस्कृत वाङ्मयका पछिका लेखकहरूबाट भूल हुन गयो।
गणतान्त्रिक शासन र राजा-महाराजा
कपिलवस्तु जनपदलाई सामान्यतः शाक्य गणराज्य भनिएको पाइन्छ, तत्कालीन वज्जी महाजनपदलाई लिच्छवि गणराज्य पनि भनिए जसरी। छैटौं शताब्दीतिर वर्तमान भारतीय भूगोलभित्रका १६ वटा महाजनपदमा एक वज्जी थियो। यसैगरी सयौं जनपद थिए। कपिलवस्तुको स्तर जनपद मात्र हो। महाजनपदको तात्पर्य ठूलो र समृद्ध राज्य भन्ने हुन्छ। महाजनपद तथा जनपदको शासन पद्धति दुई प्रकारको हुन्थ्यो, गणतन्त्रात्मक र राजतन्त्रात्मक। अनेकौं गण एउटै सुरक्षा-छातामुनि आएर सिंगो राष्ट्र भई गणतन्त्रात्मक शासन पद्धति चलाउने परम्पराको स्थापना यही वज्जी गणराज्यबाट भएको इतिहास छ। वज्जी संघका आठ गणमा एक लिच्छवि थियो। लिच्छवि गण प्रभावशाली हुनुका साथै राजधानी वैशाली उनीहरूकै क्षेत्रमा पर्ने भएका कारण पूरै वज्जी महाजनपद र लिच्छवि गणराज्य पर्याय जस्तै बनेर व्यवहार हुने गरेको बुझिन्छ। कपिलवस्तुमा पनि शाक्यकुलको वर्चस्व थियो र शाक्य गणराज्य भनियो।
शाक्य गणराज्यमा राजतन्त्र अनुसारको राजा र राजकुमारको कल्पना तर्कसंगत होइन। गौतम बुद्धलाई राजकुमार तथा उनका बाबुलाई राजा-महाराजा भनेर किन सम्बोधन गरियो भन्ने प्रश्न ज्यादै अर्थपूर्ण छ। यस सन्दर्भमा पनि लिच्छवि गणराज्यको दृष्टान्त अघि सार्दा बुझ्न सहज होला। जैन धर्मका २४औं तीर्थंकर वर्धमान महावीरको जन्म वज्जी गणराज्य अन्तर्गत ज्ञातृक गणको मुखियाको घरमा इपू ५९९ मा भएको थियो। उनलाई राजकुमार र बाबु सिद्धार्थलाई राजा भनिए पनि वास्तवमा उनी जनताद्वारा चुनिएका मुखिया मात्र थिए। मुखियाको छोरालाई राजकुमार ठान्नु र राजगद्दीको उत्तराधिकारी मान्नु इतिहास सम्बन्धी भूल हो।
उति वेला महासंघका सभासद् सबैलाई राजा भनेर सम्बोधन गरिन्थ्यो। तर उनीहरू वंशानुगत राजा नभएर जनताद्वारा चुनिएका जनप्रतिनिधि भनेर बुझ्नुपर्छ। सबै निर्वाचित जनप्रतिनिधिलाई राजा नै भनिन्थ्यो। वज्जी गणराज्यको राजधानी वैशालीकी एक गणिका आम्रपालीले गौतम बुद्धलाई भोजनको आमन्त्रण गरेर रथमा फर्किरहेको प्रसंग यहाँ उल्लेखनीय छ। उक्त वर्णन अनुसार वैशालीका ‘लिच्छवि राजाहरू’ पनि भोजनको आमन्त्रण गर्न गएका थिए। राजतन्त्रमा राजा एक जना मात्र हुन्छ, तर यहाँ बहुवचनमा ‘राजाहरू’ भनिनुको तात्पर्य गणसदस्य भनेर बुझ्नुपर्छ।
यसैगरी कुशीनारामा गौतम बुद्धको महापरिनिर्वाणपछि अस्थिधातु लिन आउनेमा पनि ‘कपिलवस्तुका राजाहरू’ भनिएको छ (महापरिनिर्वाणसूत्र )। यसबाट अझ स्पष्ट भयो, शुद्धोदनलाई राजा-महाराजा भनिए पनि उनी राजतन्त्रका राजा थिएनन्। राजा भनिएका शुद्धोदनको छोरा भएकैले गौतम बुद्धलाई पछि भ्रमवश राजकुमार भनियो। उनी महाभिनिष्क्रमण गरी आध्यात्मिक साधनामा लागेर बुद्धत्व प्राप्त गरी बुद्ध बने। बुद्ध भइसकेपछि आफ्नो संघ बनाउँदा त्यसको ‘मोडालिटी’ गणतन्त्रात्मक शासन पद्धतिलाई अपनाए। बौद्ध संघको सञ्चालन पद्धतिमा हिजोआज पनि त्यसैको निरन्तरता देख्न पाइन्छ। गणतन्त्र गौतम बुद्धलाई मन पर्ने राजनीतिक शासन पद्धति हो।
गणतन्त्रात्मक राज्य व्यवस्थामा जनताद्वारा चुनिएका प्रतिनिधि निश्चित अवधिपछि पुनः जनताद्वारा चुनिन सक्थे वा फेरिन्थे। बुद्धत्व प्राप्त गरी दुई वर्षपछि गौतम बुद्ध कपिलवस्तु फर्कंदा शुद्धोदन भूतपूर्व महाराजा भइसकेका थिए। त्यति वेला कपिलवस्तुका शासक वा महाराजा भद्दीय थिए। गौतम बुद्धको महापरिनिर्वाणको केही वर्षअघि कपिलवस्तुमा कोशल महाजनपदको भीषण आक्रमण भई शासन पतन हुँदा त्यहाँका शासक वा महाराजा महानाम थिए। उनी नाताले गौतम बुद्धकै काका थिए। यसबाट बुझिने अर्को कुरा हो, कपिलवस्तुमा शाक्यकुलकै वर्चस्व थियो।
शुद्धोदन शाक्यकुलका एक प्रभावशाली व्यक्ति रहेको बुझ्न सकिन्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा उनको जन्म इपू ६२१ मा भएको थियो। कोलिय राज्यका दुई दिदीबहिनी मायादेवी र प्रजापतिसँग विवाह गरेका उनलाई लामो समयसम्म सन्तान लाभ भएको थिएन। नाताले उनीहरू शुद्धोदनका मामाका छोरी हुन्। तत्कालीन शाक्य र कोलियहरूमा मामा र फुपूका छोराछोरीबीच विवाह चल्थ्यो। गौतम बुद्धको विवाह पनि मामाकै छोरी यशोधरासँग भएको थियो। प्रजापति गौतमीबाट छोरी नन्दा जन्मिएपछि शुद्धोदनको दोस्रो सन्तानका रूपमा मायादेवीबाट गौतम बुद्धको जन्म भएको पाइन्छ। गौतम बुद्ध जन्मिँदा शुद्धोदनको उमेर ५८ वर्ष थियो। तेस्रो सन्तानका रूपमा पुनः प्रजापतिबाटै छोरा जन्मिए। बुद्धका यी भाइको नाम नन्द थियो।
कपिलवस्तुको पतन
कपिलवस्तु राज्य स्थापनाबारे स्पष्ट प्रमाणहरू नभेटिए पनि पतनका बारेमा केही कुरा खुल्दछ। कपिलवस्तुको इतिहास केही प्रस्ट हुँदा यसले आफ्नो सार्वभौमसत्ता गुमाइसकेको देखिन्छ। यो कोशल महाजनपद अन्तर्गत परिसकेको थियो। अब कपिलवस्तु ठूल्ठूला निर्णय आफैं गर्न स्वतन्त्र थिएन, कोशलको स्वीकृति लिन पर्थ्यो।
कोशल नरेश प्रसेनजित गौतम बुद्धका परम उपासक थिए। बुद्ध शाक्यकुलसँग सम्बन्धित भएकाले उनी पनि त्यही कुलमा वैवाहिक सम्बन्ध गाँस्न र उक्त सम्बन्धबाट जन्मिएको सन्तानलाई राजा बनाउन चाहन्थे। तर जातीय अभिमान पालेका कपिलवस्तुका शाक्यहरूले छल गरी दासीकन्या भिडाएर उनलाई कुठाराघात गरिदिए। दासी कन्याबाट जन्मिएका राजकुमार विडूडभलाई जातीय भेदभाव हुन्थ्यो। त्यही द्वेषमा विडूडभले आफू राजा भएपछि कपिलवस्तुमा हमला गरेर ध्वस्त पारिदिए। यस हमलाबाट बच्न कपिलवस्तुका कतिपय शाक्य पूर्वमा काठमाडौं उपत्यका र पश्चिममा मध्यएशियासम्म पुगेको पाइन्छ।
पाँचौं शताब्दीमा मध्यएशियाबाट चीन पुग्ने प्रसिद्ध भिक्षु बुद्धभद्र कपिलवस्तुका तिनै शाक्यका वंशज थिए। गौतम बुद्धको गृहनगर कपिलवस्तुमा कोशलको कारबाही मगधका राजा अजातशत्रुलाई मन परेन। उनले पनि कोशलमा भीषण आक्रमण गरेर त्यस महाजनपद अन्तर्गतका सबै भूभागलाई मगध साम्राज्यमा गाभ्दा कपिलवस्तु स्वतः मगध अन्तर्गत पर्न गयो। मगध सम्राट् अशोकले इपू २४९ मा लुम्बिनी तथा कपिलवस्तुमा निर्बाध रूपमा भ्रमण गर्नु र लुम्बिनीमा कर मिनाहा गरिदिनुले यो भूभाग मगध अन्तर्गत रहेको जनाउ दिन्छ।
पुरातात्त्विक प्रमाण
कपिलवस्तु क्षेत्रका पुरातात्त्विक अवशेषलाई बुद्धकालीन प्रमाणका रूपमा बुझेर प्रचारप्रसार गर्ने चलन व्यापक छ, तर यो गलत बुझाइ हो। ती पुरातात्त्विक संरचना बुद्धकालभन्दा पछिका हुन्। अहिले जताततै इँटाबाट निर्मित भग्नावशेष पाइन्छन्। बुद्धको समयमा इँटाको प्रयोग हुँदैनथ्यो। भारतीय पुरातत्त्वविद् देवलामित्राले यिनै इँटाबाट निर्मित भग्नावशेषको अध्ययन गरेर बुद्धकालीन नभएको बताएका थिए। तर उनको अभिव्यक्तिबाट नेपाली पक्ष रिसाउँदा उत्पन्न कटुता जनमानसमा अझै सेलाइसकेको छैन।
उनको उत्खनन तथा अध्ययन कुषाणकालसम्म मात्रै पुगेको थियो। बुद्धकालीन पुरातत्त्वको प्रमाण भेट्न कुषाणकालभन्दा पनि तल जानुपर्ने हुन्छ, जहाँ इँटा नै पाइँदैन। पछिल्लो समय देवलामित्राले भन्दा पनि तलसम्म उत्खनन र सूक्ष्म अध्ययन गरेर धेरै कुरा प्रकाशमा ल्याइसकिएको छ जसले बुद्धकालभन्दा पुराना कुरा पनि थाहा भएका छन्। यसबाट बुद्धकालीन संरचनामाथि विभिन्न समयमा अनेकौं अन्य संरचना बनेको र कालान्तरमा पुनः भत्किएको बुझ्न सकिन्छ।
प्राचीन कपिलवस्तुको ऐतिहासिकता दर्शाउने प्रमुख स्रोत पुरातात्त्विक प्रमाण र साहित्य हुन्। प्राचीन बौद्ध ग्रन्थहरूबाट तत्कालीन भूगोल, घटनाविवरण तथा जनजीवनबारे निकै कुराहरू जानिन्छन्। ती विवरण पुरातात्त्विक अध्ययनबाट पनि पुष्टि भएका छन्। नेपाल र भारतमा छरिएर रहेका बुद्धकालीन तर पछि निर्मित अनेक विहार, स्तूप आदि कालान्तरमा हराएका थिए। पाँचौं र सातौं शताब्दीमा आएका चिनियाँ भिक्षुद्वय फाहियान र ह्वेनसाङका यात्रा विवरणले ती कुरासँगै लुम्बिनी, कपिलवस्तु लगायत अधिकांश पुरातात्त्विक स्थलको खोजी गर्न सघाएका थिए।
नेपालको ऐतिहासिक अध्ययन-अनुसन्धान काठमाडौं उपत्यकालाई केन्द्रमा राखेर हुँदै आए पनि यस उपत्यकाको प्राचीनता जनाउने कतिपय तथ्य कपिलवस्तुको प्रसंगबाट प्राप्त हुन्छ। ऐतिहासिक कालको कुरा गर्दा काठमाडौंभन्दा कपिलवस्तुको इतिहास अझ प्राचीन हुन जान्छ। बौद्ध ग्रन्थ मूलसर्वास्तिवादविनयसूत्र का आधारमा बुद्धकालीन नेपाल (काठमाडौं उपत्यका)को भूगोल, व्यापार-वाणिज्य र समाजलाई जानिन्छ। कपिलवस्तुमा कोशल महाजनपदका राजा विडूडभको भीषण आक्रमण हुँदा यताउता भागेका शाक्यहरू काठमाडौं उपत्यकामा पनि पुगेको वर्णनले शाक्यहरूका लागि काठमाडौं पहिल्यैदेखि परिचित रहेको संकेत गर्छ। यसबाट थप बुझ्न सकिने कुरा हो, कपिलवस्तु र काठमाडौं उपत्यकाको सामाजिक, सांस्कृतिक तथा वाणिज्य-व्यवसायको सम्बन्ध गौतम बुद्धभन्दा पुरानो छ।