पञ्चायती सरकारले धानमा लगाएको करको विरोध गर्न कपिलवस्तुको अजिगरा गाउँमा भेला भएका किसानमाथि सुरक्षाकर्मीले गोली बर्साएको साढे पाँच दशक बितिसक्दा पनि पीडितले न्याय पाएका छैनन्।
बहादुरगन्जस्थित गोरखनाथ माविका विद्यार्थी अब्दुल रहीम मनिहार ‘टिफिन टाइम’ पछि कक्षा ‘बंक’ गरेर घर फर्किए। आइतबार भए पनि मनिहारलाई कक्षामा बसिरहन मन लागेन, किनकि छिमेकी गाउँमा भेला थियो।
स्कूलबाट फर्किएका कक्षा ९ का विद्यार्थी उनी घर नपुग्दै छिमेकी गाउँ अजिगराकै आँपको बगैंचातिर लागे। जहाँ वरपरका गाउँबाट थुप्रै मानिस जम्मा भइसकेका थिए। गाउँले आउने क्रम जारी थियो।
केही बेरमा भाषणको कार्यक्रम शुरू भयो। सुरक्षाकर्मीले ‘कार्यक्रम बन्द गर्नुस्’ भन्दै माइकिङ गर्न थाले। “हेर्दाहेर्दै गोली चल्यो। सबैको भागाभाग भयो,” मनिहार साढे पाँच दशकअघिको घटना सम्झिंदै भन्छन्, “भाग्यले बाँचें। बुबा र ठूलो काका पनि जोगिए, तर धेरै मानिस मरे।”
२०२६ वैशाख ८ गतेको घटना हो, यो। सरकारले लगाएको धनही अर्थात् अनिवार्य बचत करको विरोध गर्न किसान कपिलवस्तुको अजिगरा गाउँको उत्तरतिरको आँप बगैंचामा भेला भएका थिए। भूमि सम्बन्धी ऐन, २०२१ मा अनिवार्य बचत तथा ऋणको व्यवस्था गरिएको थियो। त्यसका दफा ४० मा भनिएको छ, ‘अनिवार्य बचत गर्नुपर्ने : प्रत्येक जग्गावाला र मोहीले आफ्नो वा आफूले कमाएको जग्गाको एक मुख्य वार्षिक उब्जनी बालीको तोकिएको दरले जिन्सीमा अनिवार्य बचत तोकिएको समिति संस्था वा अधिकारी छेउ जम्मा गर्नु गराउनुपर्छ।’
यस अनुसार सरकारले कर उठाउन थालेपछि तराई क्षेत्रका किसान विरोधमा उत्रिन थालेका थिए। विशेष गरेर रुपन्देही र कपिलवस्तुमा आन्दोलन चर्किंदै थियो। त्यही क्रममा वैशाख ८ मा कपिलवस्तुका विभिन्न गाउँका मानिस अजिगरा पुगेका थिए।
अब्दुल रहीम मनिहार।
मनिहारका अनुसार त्यो दिन हतियार बोकेका सुरक्षाकर्मी पनि कार्यक्रमस्थलमा तैनाथ थिए। प्रहरी मात्र थिए कि सेना पनि थिए भन्ने चाहिं उनले खुट्याउन सकेनन्न।
उनको ध्यान भने भेलामै केन्द्रित थियो। त्यसैका लागि उनी स्कूल छोडेर आएका थिए। नाचगान गर्नका लागि बनाइएको माटोको चबुतरालाई मञ्च बनाएर किसानका अगुवा बसिरहेका थिए। “बगैंचामा चार-पाँच हजार जति मान्छे आएका थिए होलान्,” उनी अनुमान लगाउँछन्।
किसान अगुवाले बोल्न शुरू गरेसँगै प्रहरीले गोली चलाएको उनी सुनाउँछन्। “गोली चल्दा एकछिन त के गरौं, कसो गरौं भन्ने भयो। अकमक्क भएँ,” मनिहार भन्छन्, “पछि रूखको आड लिएर लुकें।”
धेरै बेर अडिन नसकी मौका छोपेर भागेको उनी सुनाउँछन्। अजिगरा गाउँकै इस्माइल पठानको घरमा किताब राखेका थिए। त्यहाँबाट किताबको झोला समातेर घरतिर दगुरेको उनी बताउँछन्। “घर पुगेपछि त खुट्टाबाट रगत बगिरहेको देखें,” ७० वर्षीय मनिहार दायाँ खुट्टाको खत देखाउँदै भन्छन्, “मेरो पनि खुट्टामा एउटा गोली लागेको रहेछ। धन्नले जोगिएछु।”
मनिहार त जोगिए, तर उनका छिमेकी जोगिएनन्। तत्कालीन भिल्मी गाउँ पञ्चायत-७, करमा गाउँका सुखाने तेली, ताली बाबा (आचार्य) र गंगाराम कुर्मीको गोली लगेर घटनास्थालमै ज्यान गयो। उनीसँगै करमा गाउँका मोटे तेली, काशी तेली र मंगल तेली गोली लागेर घाइते भए। त्यस घटनामा गोली लागेर घाइते भएकामध्ये करमा गाउँका मनिहार मात्रै जीवित छन्।
गोलीकाण्डबारे कुराकानी गर्दै मोहम्मद रजा नाऊँ र अब्दुल रहीम मनिहार।
स्थानीय बासिन्दा मोहम्मद रजा नाऊँ पनि संयोगले जोगिएको सुनाउँछन्। आँप बगैंचामा हुने कार्यक्रममा सहभागी हुन उत्साहित थिए। तर त्यही दिन गाउँकै ठाकुर भुजको मृत्यु भयो। सबै जना अन्त्येष्टि गर्न वाणगंगा नदीको घाटमा गएका थिए। “अन्त्येष्टि गरेपछि कार्यक्रममा सहभागी हुने सोचेका थियौं,” उनी भन्छन्, “फर्किंदै गर्दा बाटामा नै गोली चलेको थाहा भयो। अन्त्येष्टिमा ढिलाइ हुँदा धेरै जना जोगियौं।”
यकीन छैन मृतकको संख्या
भेलामा अजिगरा गाउँकै अतिकुर रहमान मुसलमान पनि सहभागी थिए। त्यति वेला ११ वर्षका रहमान बाध्यताले कार्यक्रममा सहभागी भएका थिए। उनका अनुसार हरेक घरबाट एक जना सहभागी हुनुपर्ने तय गरिएको थियो। “गाउँमा जवारभर (क्षेत्रभर)का किसानको भेला हुँदा बुबा बिरामी भएकाले हाम्रो घरबाट म गएको थिएँ,” ६७ वर्षीय मुसलमान भन्छन्।
उनका अनुसार शुरूआतमा रमाइलै थियो। छरछिमेकका गाउँबाट पनि मान्छे आइरहेका थिए। भाषण शुरू भएपछि भने प्रहरीले धरपकड गरेको उनी सुनाउँछन्। गोली चल्न थालेपछि भागाभाग भएको बताउँदै उनी भन्छन्, “हमरे गोली नाई लाग, हम भाग आएन।”
अतिकुर रहमान मुसलमान।
गोली चलेपछि भाग्दै गर्दा केही मान्छे ढलेको देखेको उनी सुनाउँछन्। कति जनाको ज्यान गयो भन्ने त उनलाई पनि यकीन छैन। त्यति वेला ३०-४० जना मरेको भनी गाउँभरि चर्चा भएको उनी सम्झन्छन्।
घाइते भएका मनिहार पनि यति नै मान्छेको मृत्यु भएको भन्ने त्यो वेला पनि यकीन नभएको सुनाउँछन्। मान्छे मरेपछि भीड तितरबितर भएको थियो। सुरक्षाकर्मी पनि फर्किएका थिए। त्यसपछि स्थानीय बासिन्दा आफैंले चिनजानका मान्छेको शव लगेको उनी बताउँछन्। “गाउँलेहरूले मान्छे पहिचान गर्दै लास बोकेर साँझसम्म लगेका थिए,” उनी भन्छन्।
गोरखापत्र मा छापिएको समचार। स्रोत: मदन पुरस्कार पुस्तकालय
त्यसको नौ दिनपछि गोरखापत्र मा छापिएको समाचारमा पनि मृतकको संख्या उल्लेख गरिएको छैन। ‘रुपन्देही-कपिलवस्तुको घटना : श्री ५ बाट जाँच आयोगको गठन’ शीर्षकमा वैशाख १७ गते छापिएको समाचारमा आयोग गठनबारे उल्लेख छ। समाचारमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज सरकारबाट गत २०२५ साल चैत्र महीनामा र यही वैशाख महीनामा लुम्बिनी अञ्चलको रुपन्देही तथा कपिलवस्तु जिल्लाहरूमा गोली चलाउन परेको सम्बन्धमा सबै कुरा यथार्थ जाँच बुझ गरी प्रतिवेदन पेश गर्न सर्वोच्च अदालतका न्यायाधीश श्री मीनबहादुर थापाको एक सदस्यीय आयोग आज नियुक्ति गरिबक्सेको कुरा गृह पञ्चायत मन्त्रालयमा प्रवक्ताले बताउनुभएको छ भनी रासस ले उल्लेख गरेको छ।’
दुई सातापछि वैशाख २३ मा गोरखापत्र ले छापेको अर्को समाचारमा भने १४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। ‘अजगरा गोली काण्डमा १४ जनाको मृत्यु’ शीर्षकको समाचारमा भनिएको छ, ‘प्रशासनिक सूत्रका अनुसार गत ८ गतेको अजगराको गोली काण्डमा १४ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए।’
यससँगै घाइते थप दुई जनाको मृत्यु भएको पनि लेखेको छ। रासस बाट लिइएको गोरखापत्र को समाचारमा भनिएको छ, ‘उपरोक्त १४ जना बाहेक घाइते हुनेमध्ये अरू दुई जनाको पनि मृत्यु भएको कुरा स्थानीय जनताबाट थाहा भएको छ।’
साथीको सम्झनामा शालिक
साढे पाँच दशक भइसक्दा पनि अजिगराका ७२ वर्षीय रामवरणप्रसाद यादवले त्यो घटना बिर्सिन सकेका छैनन्। त्यसबारे कुराकानी गर्दा अझै भावुक हुन्छन्। “मेरो साथी पनि मरेको थियो,” यादव भन्छन्।
रामवरणप्रसाद यादव।
त्यति वेला उनी कक्षा १० मा अध्ययनरत थिए। छिमेकी गाउँ शिवानगरमा डेरा लिएर पढिरहेका थिए। उनीसँगै डेरामा बस्थे, बहादुरगन्जस्थित डगरमरवा गाउँका अयोध्या चौधरी। दुवै जनाको किसान भेलामा सहभागी हुने योजना थियो। “अयोध्या र मेरो फरक फरक स्कूल हो। ऊ स्कूलकै साथीसँगै अगाडि नै भेलामा गएछ,” यादव भन्छन्, “एक्लै जान मन लागेन, डेरामा फर्किएँ।”
सभामा गोली चलेको हल्ला सुनेसँगै उनी आत्तिए। त्यो बगैंचा उनको घर नजीकै थियो। आफ्नो साथी डेरामा नफर्किएकाले पनि चिन्ता बढ्दै गयो। साँझ परिसकेको थियो। तैपनि शिवानगरबाट गाउँतिर लागे। तर स्थानीय हरिनारायण रजौरियाले ‘भोलि बिहान हातमा कापी-किताब लिएर जानू’ भन्दै फर्काए। कापी-किताब बोक्दा विद्यार्थी भनेर कसैले केही नगर्ला भन्ने रजौरियाको सोचाइ थियो।
दोस्रो दिन बिहानै यादव शिवानगरबाट घरतिर लागे। गोली लागेर घाइते भएका गाउँले उपचारका लागि बयलगाडामा सीमापारि भारतको बढनी बजारतर्फ गइरहेको देखे। उनका ठूला दाइ पनि बयलगाडामा थिए। “दाइ देख्ने बित्तिकै त रोइहालें। ब्यलगाडातर्फ दौडिएँ,” उनी सम्हालिंदै भन्छन्, “घाइतेलाई उपचारका लागि भारत लग्दै रहेछन्। हाम्रो परिवारका सदस्य सभामा सामेल भए पनि सकुशल रहेछन्।”
त्यसपछि उनी बगैंचा हुँदै घर फर्किए। बगैंचा रक्ताम्य थियो। आँपका रूखमा गोलीका घाउ थिए। “मसँगै डेरामा बस्ने अयोध्या पनि गोली लागेर बितेछ,” उनी त्यो क्षण सम्झिँदै भन्छन्, “साह्रै मन दुख्यो। म त ढिलो भएर एक्लै सभामा जान मन नलाग्दा बाँचें, तर मेरो साथी मर्यो।”
त्यस घटनाले उनी विक्षिप्त भए। गाउँ र समाजप्रति समानुभूति पलायो भने सरकारप्रति वितृष्णा। त्यसपछि नै राजनीतितिर लागेको उनी सुनाउँछन्। त्यति घटनापछि राजतन्त्रका विरुद्धमा बोल्न थालेको उनको भनाइ छ।
दुई दशकपछि २०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो। उनी गजेन्द्रनारायण सिंहले नेतृत्व गरिरहेको नेपाल सद्भावना पार्टीमा आबद्ध भए। सिंहलाई कपिलवस्तु बोलाएर अजिगराको इतिहासलाई संरक्षण गर्न आग्रह गरे। त्यसपछि नेता सिंहबाट २०४६ असोज ४ मा अजिगराको आँप बगैंचामा शहीद स्मारक स्तम्भको उद्घाटन गराएको यादव बताउँछन्।
उनले नै शहीदका नाम संकलन गरेका थिए। कतिपय परिवारले त नाम बताउनै मानेनन्। शहीद स्मारक स्तम्भमा १२ जनाको नाम छ। अजिगराका कन्हैया कुर्मी, भोराहवाका बाँगुर कोहाँर, सुखरामपुरका दुन्ना अहिर, छोटकी बुटहनियाका शिवचरण कहाँर, डगरमरवाका अयोध्या चौधरी र सम्पत्ति कुर्मी, देवानगढियाका टुनमुन अहिर र सुमिरन कहाँर, मजिगावाका बुद्धु पासी, करमाका गंगाराम तेली, सुखाने तेली र आचार्य तिवारी रहेका छन्।
मृतकलाई ५०, घाइतेलाई सय रुपैयाँ
भूमि सम्बन्धी ऐन आएसँगै सरकारले किसानबाट धान उठाउन शुरू गर्यो। कर असुल्न गाउँ पञ्चायतका प्रधानको नेतृत्वमा समिति बनाइएको थियो। त्यस्तै, प्रत्येक वडामा चार जनाको समिति थियो। समितिको निर्णय अनुसार कुनै एक ठाउँमा धान जम्मा गरिन्थ्यो।
किसानले प्रत्येक बिघा डेढ मन अर्थात् ६० किलोग्राम धान धर्मभकारीमा जम्मा गर्नुपर्थ्यो। जसलाई अनिवार्य बचत कर भनिएको थियो। किसानबीच भने ‘धनही’ नामले प्रचलित थियो। यसरी जम्मा गरेको धान अप्ठ्यारो परेका स्थानीय बासिन्दालाई ऋणका रूपमा दिन सकिने व्यवस्था गरिएको थियो।
आयोग गठनबारे गोरखापत्र मा छापिएको समचार। स्रोत: मदन पुरस्कार पुस्तकालय
पहिलो वर्ष कर बापत जेनतेन धान बुझाएका किसानले दोस्रो वर्षदेखि भने विरोध शुरू गरेका थिए। कतिपय ठाउँमा त धर्मभकारी लुट्ने लगायत कार्यक्रम पनि अघि सारिएका थिए। तर त्यसले व्यापकता नपाउँदै अजिगरामा किसानको सामूहिक हत्या गरियो।
गोली लागेर ज्यान गुमाएका तथा घाइतेलाई सरकारका तर्फबाट केही सहयोग नमिलेको मनिहार सुनाउँछन्। आन्दोलनकारीका तर्फबाट भने मृतक र घाइतेका परिवारलाई सहयोग गरिएको थियो। “शहीदका परिवारलाई काजकिरिया गर्न ५० रुपैयाँ र गोली लागेर घाइते भएका व्यक्तिलाई उपचार गर्न १०० रुपैयाँ आन्दोलनकारी पक्षले दुई दिनभित्र नै दिएका थिए,” उनी भन्छन्।
घटनाको दुई सातापछि २०२६ वैशाख २१ मा तत्कालीन गृह पञ्चायत, खाद्य तथा भूमि सुधारमन्त्री खड्कबहादुर सिंहले अजिगराको स्थलगत निरीक्षण गरेको गोरखापत्र ले समाचार छापेको थियो। घटना पीडित दुई जनाको परिवारलाई मात्रै सहयोग गरिएको वैशाख २३ मा प्रकाशित गोरखापत्र को समाचारमा उल्लेख छ। समाचारमा भनिएको छ, ‘श्री सिंहले स्थानीय जनतालाई भेट्नुभयो। उहाँले अजगरा गाउँको गोली लागी मृत्यु हुने कनै कुर्मीकी आमा शिवराजी कर्मीनीलाई रु. ५००।- आर्थिक सहायता र घाइते हुने वामु गोसाईंलाई रु. १००।- औषधी खर्च दिनुभयो।’
घटनाको छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश मीनबहादुर थापाको नेतृत्वमा एक सदस्यीय जाँचबुझ आयोग पनि गठन भएको थियो। तर आयोगले केही नगरेको स्थानीय बासिन्दा बताउँछन्। रहमान भन्छन्, “जाँचबुझ आयोग गठन गरे पनि केही भएन। गोली लागेर मरेका र घाइते भएका परिवारलाई अहिलेसम्म न्याय मिलेको छैन।”