लघुवित्तको ऋणको चक्रव्यूहबाट मुक्ति खोज्न आन्दोलनका लागि देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूको दिनचर्या कष्टकर बनिरहेको छ।
पुरानो भवन, जीर्ण संरचना। ढोकैमा एकपछि अर्को गरी लेखिएको छ, सप्तरी, सिरहा, मोरङ आदि। छेउमै जुत्ता-चप्पल छन्। लुगाफाटो, झोलाझाम्टा असरल्ल छन्। तिनै कोठाभित्र कोचिएर बसेका महिलाको अनुहारमा पीडा छचल्किरहेको प्रस्टै देखिन्छ।
यो कारुणिक दृश्य काठमाडौंको क्षेत्रपाटीस्थित गोर्खा अस्पतालको भवनभित्रको हो। वर्षौंदेखि खाली रहेको अस्पताल भवनका ४२० कोठा र चार वटा हलमा देशका विभिन्न भागबाट आएका लघुवित्तपीडित बसिरहेका छन्।
एउटा कोठामा भेटिइन्, बाँकेकी सइदा भाट। उनी डेढ वर्षीय छोरा बोकेर लघुवित्तको ऋणबाट छुटकारा पाइने आशा लिएर काठमाडौं आएकी हुन्। उनी भन्छिन्, “मैले ऋण तिरिसकेकी थिएँ। लघुवित्तलाई बुझाएको पैसा पनि कर्मचारीले खाएर भागे।”
खातुनले १४ वर्षअघि बाँकेकै महिला उपकार लघुवित्तमा कारोबार शुरू गरेकी थिइन्। कारोबार राम्रै चलिरहेको थियो। त्यसबाट हौसिएर २०७४ सालमा ट्र्याक्टर किन्न विजय लघुवित्त वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँ ऋण झिकिन्।
क्षेत्रपाटीस्थित गोर्खा अस्पतालको भवनमा बसिरहेका लघुवित्तपीडित।
ऋण लिंदा २० हजार कटाएर लघुवित्तले चार लाख ८० हजार रुपैयाँ मात्रै दिएको उनी सुनाउँछिन्। त्यसमा २० हजार रुपैयाँ आफैंले थपिन्। पाँच लाख रुपैयाँमा ट्र्याक्टर किनिन्। आम्दानी राम्रै भइरहेको थियो। हरेक २८ दिनमा १५ हजार ७०० रुपैयाँका दरले किस्ता तिर्थिन्।
पाँच लाखमध्ये दुई लाख २५ हजार रुपैयाँ तिरिसकेकी थिइन्। तर दुई वर्ष नपुग्दै २०७६ अन्त्यतिर आएको कोभिड-१९ महामारीका कारण बन्दाबन्दी भयो। जसले गर्दा कामकाज ठप्प भई लघुवित्तको किस्ता तिर्न नसकेको उनी सुनाउँछिन्।
केही सीप नचलेपछि उनका श्रीमान् मजदूरी गर्न भारतको हिमाचल गए। भारतबाट श्रीमान्ले पठाउने पैसा र आफूले स्थानीय विद्यालयमा कार्यालय सहयोगीका रूपमा पाउने पारिश्रमिकले किस्ता तिर्न थालिन्। त्यो पनि धेरै दिन सम्भव भएन। “केही नचलेपछि तीन लाखमा ट्र्याक्टर बेचें। त्यसमध्ये दुई लाख लघुवित्तलाई दिएँ,” भाट भन्छिन्।
तर कर्मचारीले ऋण तिरेको रसिद दिएनन्। बरु पासबूक पनि लगे। केही दिनपछि किस्ता उठाउन अर्कै कर्मचारी आउन थाले। “पहिले किस्ता उठाउने मान्छे त विदेश गइसकेका रहेछन्। मैले तिरेको पैसा पनि कार्यालयको खातामा चढाएकै रहेनछन्,” उनी भन्छिन्।
भक्कानिंदै लघुवित्तपीडित।
किस्ता र एकमुष्ट गरेर उनले ट्र्याक्टरको हिसाब चुक्ता गरिसकेकी थिइन्। तर कर्मचारीको बदमासीका कारण पैसा बुझाउनै पर्ने देखियो। तीन महीनामा आउने आफ्नो तलबबाट लघुवित्तलाई किस्ता बुझाउन थालिन्। फेरि पनि लघुवित्तले हरहिसाब राखेको पासबूक दिएको छैन। “सधैं पछि मिलाऔंला, कार्यालयमा हिसाब छ भन्दै टार्ने गरेका छन्,” भाट भन्छिन्, “यति धेरै पैसा तिरिसक्दा पनि कहिले सावाँ नै घटाउँदैनन्।”
जति गर्दा पनि लघुवित्तको ऋणबाट छुटकारा नमिलेपछि उनी काठमाडौं आएकी हुन्। आफ्नो सट्टामा छोरीलाई विद्यालयमा काम गर्न पठाएकी छन्। काठमाडौं आएको पनि तीन साता भइसक्यो। डेढ वर्षीय छोरा बोकेर दैनिक प्रदर्शनमा हिंडिरहेकी उनी साँझपख त्यही अस्पताल भवनको काठामा फर्किन्छिन्। “सधैं खानेकुरा पनि हुँदैन, कहिलेकाहीं त भोकै सुत्छु,” भाट भन्छिन्।
अहिले देशका विभिन्न भागबाट आएका उनी जस्ता डेढ हजार लघुवित्तपीडित अस्पताल भवनमा आश्रय लिइरहेका छन्। दैनिक काठमाडौंका सडकमा प्रदर्शन गर्छन्। कहिले माइतीघर त कहिले नयाँ बानेश्वर। कहिले बालुवाटार त कहिले सिंहदरबार। ‘वित्तीय शोषणको अन्त्य गर’, ‘लघुवित्त समस्या समाधान गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
दिनभरि सडकमा र्याली, जुलूस, नाराबाजी गरेपछि साँझ उही अस्पतालमा फर्किन्छन्। धेरैले काठमाडौं आउँदा चामल बोकेर ल्याएका थिए। यहाँको बसाइ लम्बिएकाले कतिले त सरसामान सकिएर भोकै रात काट्नुपरेको पीडादायी अनुभव सुनाउँछन्।
कोही ससाना छोराछोरी छोडेर आएका छन् भने कोही वृद्ध बाबुआमा। दिनभरि सडकमा नारा लगाए पनि साँझपख घरका मान्छेले फोन गरेर के कसो भयो भनेर सोध्दा जवाफ दिनै गाह्रो हुने पीडितको भनाइ छ।
बिहानपख क्षेत्रपाटी पुग्दा सगिरा खातुन रोइरहेकी थिइन्। एक्लै रहेकी उनी कोही आएको चाल पाएपछि थोरै सम्हालिइन्। नवलपरासीको सुस्ताबाट चैत १७ मा काठमाडौं आएकी उनलाई अब के गर्ने भन्ने थाहा छैन। उनी पनि लघुवित्तको ऋणबाट मुक्ति पाइने आशमा काठमाडौं आएकी थिइन्।
यतिका दिन प्रदर्शन गर्दा पनि कुनै मेलोमेसो पाएकी छैनन्। अब उनलाई ऋणबाट छुटकारा पाइएला भन्ने आश पनि छैन। “लघुवित्तबाट ऋण निकाल्दा सबै सकियो,” उनी भन्छिन्।
कस्मेटिक र जुत्ता-चप्पल पसल खोल्नका लागि सात वर्षअघि चार वटा लघुवित्तबाट १९ लाख ऋण लिएकी थिइन्। शुरूआतमा पसल राम्रै चलेको थियो। किस्ता पनि बुझाएकी थिइन्।
लघुवित्तपीडित सगिरा खातुन।
तर कोभिड-१९ महाव्याधिसँगै व्यवसाय खस्कियो। किस्ता बुझाउन गाह्रो भयो। लघुवित्तले ब्याज र जरिवाना समेत जोड्दै लग्यो। “पसल पनि बेचेर लघुवित्तलाई पैसा दिएँ,” उनी भन्छिन्, “तैपनि लघुवित्तको ऋणबाट उम्कन सकिएन।”
लघुवित्तका कर्मचारी आएर कराउन थाले। कहिलेकाहीं त चर्काचर्की नै पर्थ्यो। घरमा ताल्चा लगाइदिने धम्की दिन्थे। त्यो सुनेका १८ वर्षीय छोरा स्कूलको पढाइ छोडेर मलेशिया गए। १६ वर्षीय कान्छा छोराले पनि पढाइ छोडेको उनी सुनाउँछिन्। “ममी, मलाई मुम्बई पठाइदिनू! म कमाएर ऋण तिर्छु भन्छ,” खातुन भन्छिन्, “पसल सकियो, छोराछोरीको भविष्य बिग्रियो, तर लघुवित्तको ऋण कहिले सकिएन!”
मन बुझाउने मेलो आन्दोलन
पर्साको धोबिनी गाउँपालिका-२ की महादेवी सोनार पनि लघुवित्तकै कारण घरबारविहीन भएपछि सहारा खोज्दै काठमाडौं आएकी छन्। सोनारले नौ वर्षअघि ग्लोबल लघुवित्तबाट सात लाख र डिप्रोक्स लघुवित्तबाट तीन लाख रुपैयाँ कर्जा लिएकी थिइन्। त्यही पैसाले किराना पसल खोलिन्।
हरेक १५ दिनमा किस्ता बुझाउनुपर्थ्यो। जसोतसो पाँच वर्षसम्म लघुवित्तको किस्ता बुझाइन्। पसलको कमाइले धान्न नसकेपछि उनका छोरा मजदूरी गर्न भारतको केरला गए। तर उताको कमाइले पनि किस्ता तिर्न पुगेन। त्यसपछि छोरा मलेशिया गएको सोनार सुनाउँछिन्। “मलेशिया गएको केही महीना भएको थियो, मशिनले छोराको हात काटियो,” उनी भन्छिन्, “किस्ता तिर्ने बाटै बन्द भयो।”
किस्ता तिर्न नसकेपछि लघुवित्तका कर्मचारीले सताउन थाले। चर्काचर्की हुन थाल्यो। अन्ततः लघुवित्तले घरमा ताला लगायो। “एकातिर ऋण तिर्न भनेर मलेशिया गएका छोरा थला परे, अर्कातिर लघुवित्तले उठिबास लगायो,” उनी भन्छिन्।
गाउँमा बस्नै नसकेपछि उनी काठमाडौं आइपुगेकी हुन्। अन्य लघुवित्तपीडितलाई हेरेर चित्त बुझाइरहेको उनी सुनाउँछिन्। आन्दोलन गरेर लघुवित्तको ऋण कम हुने आशा पनि कम हुँदै गएको छ। दिनदिनैको प्रदर्शनले थकित बन्दै गएकी छन्।
पीडा सुनाउँदा भक्कानिंदै लघुवित्तपीडित।
यस्तो अवस्थामा भेटिइन्, नवलपरासीको रामग्राम नगरपालिका-१८ की लीला परियार। १७ वर्षअघि श्रीमान्को मृत्यु भएपछि दैनिक जोहोका लागि लघुवित्तसँग जोडिएकी थिइन्। छिमेक लघुवित्तबाट दुई लाख रुपैयाँ कर्जा लिएर ऐलानी जग्गामा घर बनाइन्। कपडा सिलाउने मशिन किनिन्। कमाइले किस्ता तिर्न पुगेन। त्यसपछि एउटा लघुवित्तबाट ऋण निकालेर अर्कामा बुझाउन थालिन्। सात वटा लघुवित्तसँग कारोबार भयो।
अन्य लघुवित्तबाट ३०-४० हजार ऋण निकालेको भए पनि ब्याज थपिंदै गएको उनी सुनाउँछिन्। ऋण तिर्न गरगहना बेचिन्। “मैले त तिरिसकेकी थिएँ। उनीहरूले नै बदमासी गरे। ब्याजमाथि ब्याज लगाए, जरिवाना थपे,” परियार भन्छिन्, “नाकको फुली समेत निकालेर बेचें। बेच्न बाँकी केही रहेन। अहिले त लघुवित्तका मान्छेले घरमा ताला लगाइदिए।”
कुनै उपाय नलागेपछि आत्महत्या गर्न खोजेको उनी सुनाउँछिन्। छरछिमेकी र अन्य लघुवित्तपीडितले सम्झाइबुझाइ गरेपछि मन बुझाएको उनको भनाइ छ। त्यसपछि भने उनी आन्दोलनका लागि काठमाडौं आएकी हुन्।
यसरी काठमाडौं आइपुगेका कतिपय लघुवित्तपीडित महिला मानसिक समस्या झेलिरहेका छन्। लघुवित्तका कर्मचारीले दिएको मानसिक यातनाका कारण औषधि खानुपरिरहेको उनीहरू बताउँछन्। रुपन्देहीको रोहिणी गाउँपालिका-३ की अम्बिका देवान लघुवित्तको ऋणका कारण तीन महीनासम्म डिप्रेशनको औषधि खानुपरेको बताउँछिन्।
देवानले बाख्रापालनका लागि निर्धन लघुवित्तबाट ४० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण लिएको महीनादिनमै किस्ता तिर्नुपर्यो। तत्काल आम्दानी हुने कुनै उपाय थिएन। किस्ता तिर्न अर्को लघुवित्तबाट ऋण निकालिन्। एकपछि अर्को गर्दै ऋण लिएका लघुवित्त १५ वटा पुगे।
काठमाडौंमा प्रदर्शन गरिरहेका लघुवित्तपीडित।
ऋण लिएसँगै बाख्रा पनि थपिन्। बाख्रापालन राम्रै भइरहेको थियो। तर एकाएक ३५ वटा बाख्रा मरेको उनी सुनाउँछिन्। “बाख्रा मरेपछि व्यवहार बिग्रियो। किस्ता तिर्न सकिनँ,” देवान भन्छिन्।
त्यसपछि डिप्रेशनको औषधि खानुपरेको उनी सुनाउँछिन्। गाउँमा बस्न समस्या भएपछि अन्य लघुवित्तपीडितसँगै काठमाडौं आएकी छन्। गत चैत १७ यता विभिन्न जिल्लाबाट चार हजार ५०० लघुवित्तपीडित काठमाडौंमा आन्दोलनरत रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मणिराम ज्ञवाली बताउँछन्। उनीहरूमध्ये एक हजार ५०० जना गोर्खा अस्पतालको पुरानो भवनमा आश्रय लिइरहेका छन्।
अध्यक्ष ज्ञवालीका अनुसार, अहिलेसम्म देशभरका एक लाख ९० हजार पीडितहरू संघर्ष समितिमा जोडिएका छन्। यो संख्या अझै धेरै हुने उनको भनाइ छ। उनीहरूले कति पैसा तिरे र कति तिर्न बाँकी छ भन्ने तथ्यांक भने नभएको उनी बताउँछन्।
अस्पतालमा बसिरहेका लघुवित्तपीडितहरू एक-अर्काको पीडा सुनेर चित्त बुझाइरहेको सुनाउँछन्। उनीहरू एकअर्काको पीडामा मलम लगाउँछन्, साहस जुटाउँछन्। अनि फेरि अर्को बिहान प्रदर्शनमा निस्किन्छन्। अब समस्या समाधान नहुँदासम्म घर नफर्किने उनीहरूको अडान छ। बाँकेबाट आएकी सइदा भाट घर फर्किने कुनै आधार नभएको सुनाउँछिन्। उनी भन्छिन्, “अब हाम्रो जाने ठाउँ छैन। सरकारले हामीलाई न्याय दिनुपर्यो। होइन भने यहीं मर्छौं, तर न्याय विना फर्किंदैनौं।”
VIDEO