अमेरिका चीनबीच सम्झौता, व्यापार युद्ध थाती
अमेरिका र चीनबीच व्यापार युद्ध थाती राख्ने सम्झौता भएको छ ।
अर्जेन्टिनामा भइरहेको जी–२० सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच भएको ‘साइड लाइन वार्ता’मा व्यापार युद्ध थाती राख्ने सहमति भएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार २०१९ जनवरीदेखि थप सामानमा कर नलगाउन ट्रम्प र सी सहमत भएका छन् ।
गत जुनमा अमेरिकी राष्ट्रपति ट्रम्पले ३४ अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध शुरू भएको थियो । पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगाएको थियो ।
त्यसको प्रतिकार स्वरुप चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थपेको थियो ।
यसअघि अमेरिकाले जनवरीदेखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा १० बाट कर बढाएर २५ प्रतिशत पु¥याउने बताएको थियो ।
बीबीसीका अनुसार अमेरिकी सञ्चार माध्यमले यो सम्झौता दुवै देशको हितमा रहेको उल्लेख गरेका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ‘दुई ठूला देश अमेरिका र चीनको विश्व व्यापारमा महत्वपूर्ण प्रभाव छ साथै विश्वको शान्ति र समृद्धिका लागि दुबैको महत्वपूर्ण जिम्मेवारी छ ।’