११ पुसदेखि चितवनमा हात्ती महोत्सव
पन्ध्रौं चितवन हात्ती महोत्सव ११-१५ पुसमा सौराहाको बाघमारा चौरमा सञ्चालन हुने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगतझैं यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरूले पोलो र फुटबल खेल्नेछन्। हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ। संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विशेष कार्यक्रमसमेत आयोजना हुनेछन्।
महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ। घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको छ। पशु अधिकारकर्मीले हात्तीलाई दबाबमूलक काम लगाएको बताउँदै गत वर्ष विरोध गरेका थिए।
स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ। प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड छ।
भूकम्प, नाकाबन्दी र नारायणगढ-मुग्लिन सडकका कारण सुस्ताएको सौराहाको पर्यटन व्यवसाय यस वर्ष उत्साहप्रद देखिएको छ। रासस