शहीद स्मारक ‘ए’ डिभिजन लिग- मनाङको लगातार पाँचौं जित
उपाधी होडमा रहेको मनाङ मर्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौं जित निकालेको छ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शनिवार भएको खेलमा सरस्वती युथ क्लबलाई २-० गोलले पराजित गरेर मनाङले लगातार पाँचौं जित हासिल गरेको हो। मनाङको जितमा अञ्जन विष्ट र आफिज ओलावालेले १-१ गोल गरे।
खेलको ५५औं मिनटमा अञ्जनको गोलले अग्रता दिएको थियो। ६८ औं मिनटमा ओलावालेले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए।
खेलमा मनाङका कमल श्रेष्ठले म्यान अफ दी म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे। जितसँगै मनाङ ५ खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ। मनाङसँग पराजित सरस्वती भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ। रासस