भारतीय संसद अगाडि हजारौं किसानको प्रदर्शन
भारतका दशौं हजार किसानले शुक्रवार राजधानी नयाँदिल्लीस्थित संसद भवन अघिल्तिर प्रदर्शन गरेका छन्।
कृषि क्षेत्रमा गहिरिँदो संकट उजागर गर्ने उद्देश्यले उक्त प्रदर्शन गरिएको हो। संसद भवन अगाडि प्रदर्शन गर्न बिहीवार भारतका विभिन्न क्षेत्रका किसान नयाँदिल्लीमा जम्मा भएका थिए।
उनीहरूले आफ्नो फसलको उचित मूल्य तोक्नुपर्ने, सुख्खाग्रस्त क्षेत्रमा राहतको विशेष प्याकेज उपलब्ध गराउनुपर्ने र कर्जामा छुट दिनुपर्ने माग गरे। जमिनको जल सतह लगातार तल झर्दा उत्पादकत्वमा गिरावटका कारण भारतको कृषि क्षेत्र प्रभावित भएको छ।
भारतीय किसानहरूको यो हालसम्मको चौथो प्रदर्शन हो। भारतमा किसान मुख्य भोट ब्लक हुन्। उनीहरूको मुख्य असन्तुष्टी सत्तारुढ भारतीय जनता पार्टीप्रति लक्षित देखिएको छ, जसले आगामी लोकसभा निर्वाचनमा उक्त पार्टीले नोक्सानी व्यहोर्नुपर्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।
प्रदर्शनमा सहभागी किसानहरूमध्येका एक लखन पाल सिंहले समाचार एजेन्सी रोयटर्ससँग भने, “हामीले भाजपालाई मत दियौं तर सरकारले किसानहरूप्रति कठोरता अपनायो।” हाल देखिएको कृषि संकटको समाधानका लागि संसदको विशेष सत्र आवश्यक भएको उनको भनाइ छ, जसबाट पूर्ण ऋण छुट, फसलको उचित मूल्यलगायत विषय सम्बोधन गर्नुपर्ने उनी बताउँछन्।
भारतको करीब आधा जनसंख्या कृषि पेशामा संलग्न छ। तर, मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १५ प्रतिशत मात्र योगदान देखिँदै आएको छ।
बीबीसीबाट