खेलकुदशुक्रवार, मंसिर १४, २०७५

‘ए’ डिभिजन लिग- पुलिस र थ्रीस्टार विजयी

हिमालखबर

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १४ मंसीरमा भएका पाँचौं चरणका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन्।

थ्री स्टारले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। थ्री स्टारको जीतमा रञ्जन विष्ट नायक बने। रञ्जनले दुई गोल गरे। उनले खेलको २५औं र ६६ औं मिनटमा गोल गरेका थिए। रञ्जनले ‘म्यान अफ दी म्याच’सहित रु १० हजार पुरस्कार प्राप्त गरे। जीतसँगै थ्रीस्टारले पाँच खेलबाट १२ अंक जोडेको छ । एपीएफले पाँच खेलबाट चार अंक जोडेको छ।

यसैगरी, शुक्रवार भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले न्यूरोड टिम (एनआरटी)लाई ३-० गोल अन्तरले पराजित गर्‍यो।

मनाङ शीर्ष स्थानमा

पाँचौं चरणका खेल शुरु हँदासम्म जारी लिगमा शतप्रतिशत नजिता निकाल्दै मनाङ मर्स्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ। मनाङले लिग खेलको चार वटै खेल जित्दै १२ अंक जोडेको छ।

थ्री स्टार पाँच खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ भने प्रहरी १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। त्रिभुवन आर्मी क्लब १० अंकसहित चौथो, हिमालयन शेर्पा पाँचौं, संकटा क्लब छैटौं, सरस्वती क्लब सातौं, च्यासल युथ क्लब आठौं र एपीएफ चार अंकका साथ नवौं तथा ब्रिगेड ब्वाइज १०औं स्थानमा छन्।

प्रतिकृया दिनुहोस