रिपोर्टशुक्रवार, मंसिर १४, २०७५

प्रदेश-१ भरि उपचार केन्द्र खोल्दै विराटनगर आँखा अस्पताल

आँखा अस्पतालको विस्तार योजना स्थानीय तह केन्द्रित

कमल रिमाल

 

विराटनगर आँखा अस्पतालले प्रदेश-१ भरि उपचार केन्द्र खोल्दैछ। पहाडी जिल्लामा ५० हजार जनाबराबर एक र तराईमा एक लाख व्यक्तिबराबर एक केन्द्र खोल्ने योजना अस्पतालको छ।

२०६८ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेको अस्पतालले हालसम्म १० वटा केन्द्र स्थापना गरिसकेको छ। अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार मोरङका रंगेली, उर्लाबारी र लेटाङ, सुनसरीका इनरुवा, इटहरी, दुहबी र हरिपुर, इलाम सदरमुकाम र फिक्कल, भोजपुर तथा तेह्रथुममा केन्द्र स्थापना गरेर सेवा दिइँदैछ। जनसंख्याका आधारमा केन्द्र थप्दै जाने उनको भनाइ छ।

अस्पतालले २०७६ सालभरिमा ४ वटा केन्द्र थप्ने योजना बनाएको छ। उक्त अस्पताल नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित छ।

स्थानीय तहहरूलाई मोतियाविन्दुरहित बनाउन अस्पतालको सेवा विस्तार प्रभावकारी बन्ने विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की बताउँछिन्।

अस्पतालले सुनसरी र मोरङका सबै स्थानीय तहलाई आँखा र कानका रोगीको उपचारमा बजेट छुट्याउन माग गरेको छ। स्थानीय तहले पठाएका बिरामीको आँखाको शल्यक्रिया रु. १ हजारमै गरिने अस्पतालका अध्यक्ष तथा सांसद पदमनारायण चौधरी बताउँछन्।

“स्थानीय सरकारको सिफारिसमा गरिब र असहायलाई अस्पतालले निःशुल्क उपचार गराउनु पर्छ,” जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल भन्छन्।

भारतीयको भीड
कम शुल्कमा शल्यक्रिया हुने भएकाले विराटनगर आँखा अस्पतालमा भारतीय सेवाग्राहीको भीड लाग्ने गरेको छ। विराटनगरको मिल्स एरियास्थित अस्पतालमा भारतबाट गुण्टा बोकेर आउने बिरामीको सदावहार ताँती हुन्छ।

दैनिक १ हजार ८ सय बिरामीले आँखा परीक्षण गराउँदै आएको अस्पतालमा ६० प्रतिशत भारतीय हुन्छन्। अस्पतालका अध्यक्ष चौधरीका अनुसार रु. १ हजार २ सयमै शल्यक्रिया हुने गरेकाले नेपालीभन्दा भारतीय बढी आउने गरेका हुन्।

भारतमा आँखाको शल्यक्रिया कम्तीमा भारु ६ हजार लाग्छ। नेपालमा भने भारु १ हजारभन्दा कम लाग्छ।

नेपालमा भन्दा सस्तो उपचारको प्रचार भारतमा बढी रहेको प्रदेश-१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन्। भारतका हरेक प्रान्तबाट उपचारमा बिरामी आउने आँखा अस्पताल एशियाकै अब्बल भएको मन्त्री घिमिरेको भनाइ छ।

प्रतिकृया दिनुहोस