नेविसंघले शुरु गर्यो ‘मास्क मुभमेन्ट’
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौं उपत्यकाको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ।
नेविसंघले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआर्इटी) बालकुमारीबाट १४ मंसीरमा ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर अभियान शुरु गरेको हो। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले अभियानको शुरु गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौं मानिस बिरामी परेको बताए। धूलो हटाउन सरकारले विशेष योजना लागू गर्नुपर्नेमा उनले जोड दिए।
“हामीले सरकारसँग केही मागेका छैनौं, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,” उनले भने। अभियानका संयोजक तथा नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उपत्यकाको वातावरण प्रदूषण अत्यधिक रहेको बताए।
उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उनको भनाइ छ। माग सुनुवाइ नभए नेविसंघले काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन गर्ने जनाएको छ। रासस