२१ वर्षमा पनि बलेन बिजुली
बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । तर, अहिलेसम्म खम्बामा तार झुण्ड्याइएको छैन ।
२०५६ सालको निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाडेका थिए । त्यसयता मुलुकमा ४ वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । स्थानीय मोहम्मद खानले भने, “अहिलेसम्म पोल हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।”
त्यतिबेला निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न भण्डारीले ‘सोर्सफोर्स’ लगाएर नरैनापुरमा रातारात पोल गाड्न लगाएका थिए। स्थानीय मुस्ताक अलि भन्छन्, “विद्युत् कार्यालयको योजनाअनुरुप पोल गाडेको भए बत्ति बलिसक्थ्यो । निर्वाचन जित्न पोल गाडेको भएर अहिलेसम्म बत्ती बलेन ।” नरैनापुरसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा बिजुली बलिसकेको छ ।
सामुदायिक विद्युतीकरणअन्तर्गत राखिएकाले ढिलाइ भएको विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र प्रमुख रामदुलार यादवले बताए। उनले भने, “कार्ययोजनाअनुसार पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताको सोर्सफोर्समा पोल गाडियो, त्यसकारण पनि ढिलाइ भएको हो ।”
यादवका अनुसार नरैनापुरमा बिजुली बाल्न विद्युत् कार्यालयले यस वर्ष रु ४० लाख विनियोजन गरेको छ। क्षेत्रीय विद्युत् कार्यालयले पनि नरैनापुरका लागि रु २२ करोड छुट्याएको र बोलपत्र प्रक्रियामा रहेको कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए। रासस