थप समाचारशुक्रवार, मंसिर १४, २०७५

खरको छानोमा आगो नलाग्ने प्रविधिको विकास

हिमालखबर

खरको छानोमा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छानो भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ ।

फाइल तस्वीर

नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छानो भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो । खर, माटो र छानो छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि संकायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए।

“खर र माटो स्थानीयस्तरमै उपलब्ध छ, रु १ हजार ५०० देखि २ हजारसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ,” उनले भने, “खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्ने र त्यसबाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।” यो प्रविधि गाउँ-गाउँमा पुर्‍याएर गरीब बस्ती जोगाउन सकिने ढकालको भनाइ छ।

अनुसन्धानबाट सफल देखिएको यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरणसमेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट बस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यससम्बन्धी कार्यशाला गरिसकिएको ढकाल बताउँछन्। रौतहट, सिराहालगायत जिल्लाका मुसहर बस्तीमा यो प्रविधि प्रयोग भइसकेको छ ।

स्थानीय सरकारहरूले यो प्रविधि ग्रामीण बस्तीमा पुर्‍याउन सक्ने उनको भनाइ छ । पक्की घर र माटोको घरमा जस्ताको छानोको प्रयोग बढ्दै जाँदा खरले घर छाउने परम्परागत शैली घट्दै गएको छ । तर, तराईका अति विपन्न परिवारले खरको छानो हाल्न छाडेका छैनन्। रासस

प्रतिकृया दिनुहोस