राज्य व्यवस्था समितिमा सांसदहरूको प्रश्न- वंशज बाबु मात्र वा आमा पनि?
प्रतिनिधिसभा राज्य व्यवस्था समितिको १४ मंसिरको बैठकमा सांसदहरूले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरूको प्रश्न थियो- वंशज भनेको बाबु मात्र हो वा आमा पनि? यस विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा उनीहरूको जोड थियो।
संशोधनकर्ता सांसद विन्दा पाण्डेले नागरिकतासम्बन्धी नीति संविधानसँग बाझिएकाले संशोधन जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था गर्नुपर्ने सुझाइन्।
संशोधनकर्ता सांसद पवित्रा निरौला खरेलले वंशजको आधारमा नागरिकता दिने भनेर बाबुलाई प्राथमिकता दिने गरेकाले आमालाई पनि त्यस्तो अधिकार दिने खालको कानून बनाउनुपर्ने बताइन्। सांसद मीना पाण्डेले वंशजका आधारमा नागरिकता दिँदा बाबुको पहिचान खुल्न नसकेको भन्ने शब्द हटाउनुपर्ने सुझाव दिइन्। सांसद यशोदा गुरुङ सुवेदीले नागरिकताबाट विभेदकारी नीति हटाउनुपर्ने र वंशजको आधार भनेपछि बाबु र आमा दुवै हुनुपर्ने धारणा राखिन्।
समितिका सभापति शशि श्रेष्ठले दफाबार छलफल गरेर सो विधेयकलाई निष्कर्षमा पुर्याइने जानकारी दिइन्। नागरिकता ऐन संशोधनका लागि ५५ सांसदले १०२ संशोधन दर्ता गराएका छन्। रासस