१४ जनालार्इ खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कार
युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।
सम्मानित हुनेमा खेलकूदतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बूढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धामी छन्।
यस्तै, एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजयशम्शेर जबरा र संघसंस्थाबाट नेपाल बोसिया संघ सम्मानित भएका छन्। सम्मानित सबैलाई जनही रु १ लाख नगद प्रदान गरिएको छ।
युवा पत्रकारिता पुरस्कार पाउनेहरूमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइनखबर बाग्लुङका विश्वास बुढाथोकी छन्। उनीहरूले जनही रु ५० हजार प्राप्त गरेका छन्। रासस