‘डम्पिङ साइट’ बन्यो जोगवनी नाका (भिडियो)
भारतको जोगवनी नाका भएर विराटनगर प्रवेश गर्ने मुख्य दुई सडक छन्। तीमध्ये विराटनगर जुटमिल्स हुँदै भित्रिने सडक किनारको फोहोर देख्दा वारिपारि आउजाउ गर्ने यात्री दिगमिगाउँदै अगाडि बढ्छन्।
भन्सार कार्यालयबाट सय मिटर कट्नेबित्तिकै भारतीय सीमासँगैको खाली ठाउँलाई मिल्स एरियाको फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाइएको छ, जुन विराटनगर जुट मिलको जमिन हो।
भारतीय बजारमा किनमेल गर्न दैनिक सयौं नेपाली नागरिकले फोहोरको थुप्रो र दुर्गन्ध सहँदै गुज्रनुपर्छ। यही सडकबाट दुवै मुलुकका विद्यार्थी एकअर्का देशका विद्यालयमा पढ्न जाने-आउने गर्छन्।
“सीमा क्षेत्रमा यस्तो फोहोरले स्वास्थ्य समस्या त निम्त्याउँछ नै, मुलुकको छविमै असर पुर्याउँछ,” नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश-१ का संयोजक मुरारी आचार्य भन्छन्।
स्थानीय युवा दीपक खड्काका अनुसार यो ठाउँ पहिलेदेखि नै सामान्य फोहोर थियो। “अहिले त ट्रयाक्टरमै ल्याएर थुपार्न थाले, स्थानीय बासिन्दाले पनि,” खड्का भन्छन्।
फोहोरको डंगुरमा बंगुर र कुकुरका बथान खेलिरहेका हुन्छन्। प्लाष्टिक खोज्ने बालबालिका फोहोर उधिनिरहेका देखिन्छन्। विराटनगर महानगरपालिकाले दुई देशको नाकामै थुपारिएको फोहोर हटाउन चासो दिएको देखिँदैन।
हेर्नूस् भिडियो