अन्तर्वार्ता/विचारशुक्रवार, मंसिर १४, २०७५

“गलत धारणा हाबी हुँदा ब्याजदर करीडोर स्थगित”

हिमालखबर

ब्याजदर स्थायित्वका लागि क्रान्तिकारी कदम भनेर कार्यान्वयनमा ल्याइएको ‘ब्याजदर करीडोर’ लागू भएको दुई वर्षपछि राष्ट्र ब्यांकले स्थगित गरेर पुरानै प्रणालीमा खुलाबजार कारोबार अघि बढाएको छ। यसरी केन्द्रीय ब्यांक पछाडि फर्कनुमा बजारमा गलत धारणा हाबी भएको बताउने राष्ट्र ब्यांकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘करीडोर लागू गरेर सरकारलाई नाफा भएको थियो र वित्तीय बजारमा स्थायित्व ल्याउन पनि सफल थियो।’ प्रस्तुत छ कार्यकारी निर्देशक थापासँग हिमालखबरले गरेको कुराकानी-

ब्याजदर करीडोरलाई बन्द गरेर राष्ट्र ब्यांकले आफ्नो नीतिगत भूल सुधारेको हो?
ब्याजदर करीडोरले एकातर्फ वित्तीय क्षेत्रको स्थायित्वमा सहयोग गरेको थियो भने ब्यांकहरूको तरलता व्यवस्थापन गरेर सीसीडी रेसियोलाई ८० प्रतिशतको नियामकीय सीमाभित्रै राख्न सफल भएको थियो।

सँगसँगै ७ करोड रूपैयाँभन्दा धेरै नाफा आर्जन गरेर सरकारको ढुकुटीमा पठाएको थियो। त्यसकारण ब्याजदर करीडोर गत वर्ष सफल थियो। तर, अहिले आएर बजारमा ‘क्रेडिट क्रञ्च’ भएको बेलामा ब्याजदर करीडोर लागू गर्दा लगानीयोग्य पूँजीको अभाव अझै चर्कन्छ भन्ने गलत धारणा बढी हाबी भयो। त्यसैले अहिले करीडोरको व्यवस्थालाई ‘होल्ड’मा राखिएको हो।

करीडोरले सरकारलाई कसरी नाफा भयो?
कात्तिकदेखि असार मसान्तसम्ममा ब्याजदर करीडोर सञ्चालन गर्दा राष्ट्र ब्यांकले रु. ११ करोड ३६ लाख ब्याज आम्दानी गरेको थियो भने ब्याज खर्च रु. ४ करोड १३ लाख मात्रै थियो। यसबाट वर्षभरीमा रु. ७ करोड २३ लाख नाफा भएको थियो। तर, बजारमा के भ्रम पर्‍यो भने ‘ब्याजदर करीडोर र खुला बजार कारोबार सञ्चालन गर्दा ब्यांकहरूको मुनाफा बढाउनमा मात्रै सहयोग पुग्छ र यसले राष्ट्र ब्यांकको मुनाफा घट्छ’, जुन गलत हो।

तरलता अभाव चर्किरहेकै बेला ‘रिभर्स रिपो’चाहीँ किन?
ब्यांक तथा वित्तीय संस्थाले प्राथमिक पूँजी र निक्षेपको ८० प्रतिशत कर्जा दिन सक्ने र बाँकी २० प्रतिशत पूँजी तरल सम्पत्तीको रूपमा कायम राख्नुपर्ने व्यवस्था राष्ट्र ब्यांकले गरेको छ।

यस्तो तरल सम्पत्ती लगानी गर्ने ठाउँ नदिने हो भने ब्यांकहरू थप कर्जा दिन लालायित हुन्छन् किनकि यसमा ब्याज आम्दानी हुन्छ। त्यस्तो बेला सीसीडी रेसियोको नियमन भत्किन सक्छ। हामीले त्यही आधारमा रिभर्स रिपोमार्फत बजारबाट तरलता खिँचेका हौं, यसले कर्जा विस्तारमा अवरोध गर्दैन।

बजारको ब्याजदर नियन्त्रणमा खुला बजार कारोबारले किन सहयोग गर्न नसकेको?
मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा राष्ट्र ब्यांकले अन्तरब्यांक ब्याजदरलाई लिएको छ। दुई वटा वाणिज्य ब्यांकबीच हुने कारोबारको ब्याजदर ५ प्रतिशतको हाराहारी रहोस् भनेर राष्ट्र ब्यांकले नीतिगत दर ५ प्रतिशत तोकेको छ।

अन्तरब्यांक ब्याजदरलाई लक्षितस्तरमा राख्ने हतियार भनेको खुलाबजार कारोबार हो। ब्यांकहरूले ५ प्रतिशतको हाराहारीमा तरलता व्यवस्थापन गर्ने मौका पाए भने दीर्घकालमा ब्याजदरमा स्थायित्व प्रदान गर्न सहयोग गर्छ।

तर अहिलेसम्मको अनुभवले त त्यस्तो देखाउँदैन नि?
आर्थिक वर्ष २०७४-०७५ को कात्तिकदेखि राष्ट्र ब्यांकले ब्याजदर करीडोर लागू गरेको थियो। त्यसपछि अन्तरब्यांक ब्याजदरमा स्थायित्व कायम हुन सकेको थियो।

अल्पकालिन ब्याजदरबाट दीर्घकालिन अर्थात् बजारको ब्याजदरमा अंकुश लगाउन २-३ वर्षको अभ्यास चाहिन्छ। अभ्यास भएन भने त्यसले स्थायित्व प्रदान गर्दैन। अल्पकालिन र दीर्घकालिन ब्याजदरबीच सम्बन्ध स्थापित गर्न खुला बजार कारोबार र ब्याजदर करीडोरलाई सक्रीय रूपमा सञ्चालन गरिरहनुपर्छ।

प्रतिकृया दिनुहोस