श्रीलंकाको संसदद्वारा प्रधानमन्त्रीको खर्च कटौती
श्रीलंकाका बहुसंख्यक सांसदहरूले प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन्।
संसदमा बिहीवार भएको मतदानमा उनीहरूले पक्षमा मत दिएर प्रधानमन्त्रीको खर्च कटौती गरिदिएका छन्। तत्कालको राजनीतिक संकट तथा अस्थिरतालाई नियन्त्रणमा लिन प्रधानमन्त्री कार्यालयको खर्च कटौती गर्नु परेको सांसदहरूको भनाइ छ।
संसदका कुल २२५ सांसदमध्ये १२३ जनाले खर्च कटौतीको पक्षमा मतदान गरेका छन्। उक्त प्रस्ताव अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंगेको पार्टी ‘युनाइटेड नेशनल पार्टी’ (युपीएन)का सांसद रवि करुणानायकेले संसदमा प्रस्तुत गरेका थिए।
‘तमिल नेशनल एलाइन्स’का सांसद र जनता विमुक्ति पेरामुनाले पनि प्रधानमन्त्रीको खर्च कटौती गर्ने प्रस्तावमा मतदान गरेका थिए। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंगेलाई अपदस्त गरेर विपक्षी नेता महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट संसदले प्रधानमन्त्रीलाई असहयोग हुने र नियन्त्रण गर्नेगरी यस्तो प्रस्ताव पारित गरेको हो।
श्रीलंकामा अहिले संसद र अदालतले राष्ट्रपतिको कदमप्रति असहमति जनाउँदै आएका छन्। दुवै निकायले राष्ट्रपतिको कदम गलत भएको र प्रधानमन्त्री पनि अवैध भएको बताएका छन्। सिन्हवा-रासस