कला/साहित्यशुक्रवार, मंसिर १४, २०७५

नेपालका गुराँस प्रजाति

हिमालखबर

 - कमल मादेन

सुन्दर फूलप्रति सबैको चासो रहन्छ। प्रकृतिप्रेमी र उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा गुराँसप्रति थोरबहुत जानकार छन्। प्रकृतिविद्ले गुराँसलगायत फूलबारे खोज-अध्ययन गरिरहेका छन्। हिजोसम्म नेपालमा कति प्रजातिका गुराँस छन् भन्ने रहस्यमै थियो। हालै प्रकाशित कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ।

फाइल तस्वीर

नेपालका गुराँसबारे यसअघि पनि पुस्तक लेखिएका थिए। फ्रेन्च नागरिक रेने डी मिल्लेविल्लेले सन् २००२ मा द रोडोडेन्ड्रन्स् अफ नेपाल पुस्तक लेखे। सन् १९६२ मा गोसाइँकुण्ड पुग्दा पहिलोपटक गुराँस देखेर सम्मोहित भएका मिल्लेविल्लेले गुराँस हेर्नकै निम्ति नेपालका विभिन्न भूभागमा करीब ७४० दिन पैदलयात्रा गर्दा खिचेका गुराँसका तस्वीरहरूलाई पुस्तकको रूप दिइएको हो। अंग्रेजी भाषामा लेखिएको यस पुस्तकमा नेपालमा ३० प्रजातिको गुराँस पाइने उल्लेख भए पनि सबैको तस्वीर समावेश छैन।

त्यस्तै, केशवराज राजभण्डारी र मार्क एफ वाट्सनले गुराँससम्बन्धी लेखेको पुस्तक 'द रोडोडेन्ड्रन्स् अफ नेपाल- सन् २००५' लाई हाम्रो वनस्पति विभागले प्रकाशन गरेको छ। मूलतः विभिन्न संग्रहालयमा संग्रहित गुराँस प्रजातिहरूको नमूनाका आधारमा लेखिएको यस पुस्तकमा नेपालमा ३१ प्रजातिका गुराँस पाइने उल्लेख छ। तर, कुन प्रजाति कसले, कहिले, कहाँ संकलन गरेका थिए र तिनीहरू नेपाललगायत विश्वका कुन संग्रहालयमा छन् भन्ने खुलाइएको छैन। नेपालमा पाइने दुई रैथाने गुराँस प्रजातिमध्ये ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’लगायत केही दुर्लभ प्रजातिको तस्वीर भने उक्त पुस्तकमा समावेश छ।

सुनपाती भनिने गुराँस प्रजातिको वनस्पतीय नाम ‘रोडोडेन्ड्रन एन्थोपोगन’ हो। 'द रोडोडेन्ड्रन्स् अफ नेपाल- सन् २००५' पुस्तकअनुसार उक्त प्रजातिका दुई उप-प्रजातिहरू (रोडोडेन्ड्रन एन्थोपोगन उप-प्रजाति एन्थोपोगन र रोडोडेन्ड्रन एन्थोपोगन उप-प्रजाति हाइपेनान्थम्) नेपालमा छन्।

पछिल्ला प्रकाशनहरूमा ‘रोडोडेन्ड्रन एन्थोपोगन उप-प्रजाति हाइपेनान्थम्’ लाई उप-प्रजाति नमानी छुट्टै प्रजाति ‘रोडोडेन्ड्रन हाइपेनान्थम्’ मानिएको छ। यो प्रजाति कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा थपिएको हो। यसअघि यो जानकारी केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, गंगादत्त भट्ट, रीता क्षत्री र सुवास खत्री लिखित 'फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन- सन् २०१७' पुस्तक र 'फ्लोरा अफ चाइना', भोलम १४, सन् २००५ मा उल्लेख भइसकेको थियो।

‘रोडोडेन्ड्रन एन्थोपोगन’ र ‘रोडोडेन्ड्रन हाइपेनान्थम्’ बीच खासै भिन्नता छैन। अत्यन्त सानातिना कुरामा भिन्नता देखाएर पहिले उप-प्रजाति मानिएकै वनस्पतिलाई छुट्टै प्रजाति मानिएको हो। के आधारमा यी गुराँस दुई भिन्न प्रजातिमा दर्ज गरियो भन्ने छलफलको विषय हो।

त्यस्तै, कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा थपिएको ‘रोडोडेन्ड्रन हुकेरी’ प्रजाति नेपालमा पाइन्छ भन्ने जानकारी वनस्पति विभागले प्रकाशन गरेको पुस्तक 'क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्', पार्ट थ्री- सन् २०१२ मा पनि उल्लेख छ। यो प्रजाति एमएन सुवेदी सम्मिलित जापानिज वनस्पतिविज्ञहरूको एक टोलीले संखुवासभाको टाशीगाउँबाट सन् १९८८ मा संकलन गरेका थिए।

‘गुराँसको प्राचीन थलो अमेरिका’

कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा गुराँस प्रजातिका तस्वीर र विवरणसँगै गुराँसको उत्पत्ति, विकासक्रम, भौगोलिक अवस्थाबारे चर्चा गरिएको छ। यस पुस्तकअनुसार गुराँसका प्रजातिहरू फाट्टफुट्ट रूपमा उत्तरी गोलाद्र्धमा छरिएर रहेको भए पनि पूर्वी हिमालयमा र मलाया द्वीप समूहमा अत्यधिक देख्न सकिन्छ। हिमालयको पूर्वी छेउ, जहाँ चीनको युनान प्रान्तको उत्तरपश्चिम सीमा पर्छ, त्यस क्षेत्रमा रहेको हेङदुवाङ पर्वत शृंखला गुराँसका प्रजातिहरूको प्रचुरता रहेको क्षेत्र हो। हेङदुवाङ पर्वत शृंखलाबाट जति पश्चिमतर्फ लाग्यो, त्यति गुराँसका प्रजातिहरू विस्तारै घट्दै गएका छन्।

अहिलेसम्म प्रकाशित वैज्ञानिक लेखहरू अनुसार गुराँस हेङदुवाङ पर्वत शृंखलातिर उत्पत्ति भएको अड्कल गर्न सकिन्छ। यो पुस्तक अनुसार भने ५-६ करोड वर्ष पुरानो गुराँसको पात अमेरिकाको अलास्कामा फेला परेको हो। त्यतिबेला हाम्रा हिमालय क्षेत्रमा टेथिस सागर भएकाले गुराँस समूहको उत्पत्ति हाम्रा हिमालय बन्नुअघि नै भएको हो। विभिन्न विज्ञका लेख अनुसार एशियामा हिमालय पर्वत शृंखला उत्पत्ति भएपछि मात्र अन्यत्रबाट गुराँस आइपुगेको हुन सक्छ। यो दाबी गर्न सकिन्छ कि अहिले गुराँस भइरहेको भूभागमा पहिले थिएन। भूसतह उच्च भइसकेपछि अयन्त्रबाट गुराँस आएका हुन्। यो पुस्तकमा गुराँसको बसाइँसराइसहित हाम्रा महादेशहरू कसरी र कहिले बने भन्ने वृत्तान्त छ।

‘रोडोडेन्ड्रन मेकोन्गेन्स्’ समेटिएन

पुस्तकको नाम कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू भए पनि खासगरी कञ्चनजंघा क्षेत्रमा के कति गुराँस प्रजाति पाइन्छ भन्ने जानकारी छैन। नेपालमा गुराँसका प्रजातिहरूको बढी घनत्व ‘कञ्चनजंघा संरक्षण क्षेत्रको पश्चिममा रहेको मकालु वरुण राष्ट्रिय निकुञ्ज, दक्षिणमा तीनजुरे-मिल्के-जलजलालगायत इलामको माईपोखरी र पूर्वमा भारतको सिमाना रहेको सिंगलिला पर्वतसम्म रहेको’ पुस्तकमा उल्लेख छ। यसले कञ्चनजंघा संरक्षण क्षेत्रमा गुराँस प्रजातिहरू धेरै छैनन् भन्ने संकेत गर्छ।

यसैगरी यस आसपासका क्षेत्र भनेको मकालु वरुणसहित तीनजुरे-मिल्के-जलजला पनि हो भन्ने बुझाउने प्रयत्न गरिएको छ। तर, मकालु हिमालको सेरोफेरो पनि कञ्चनजंघाकै आसपास क्षेत्र हुन सक्दैन। बरु, भारततिर जोडिएका भूभागलाई यसको आसपासको क्षेत्र मान्न सकिन्छ।

पुस्तकमा नेपालमा विरलै पाइने गुराँसका तस्वीर राखिएको छ। ‘रोडोडेन्ड्रन ट्राइकोक्लाडम्’ भनिने करीब एक मिटरजति अग्लो बोट, फूल पहेंलो हुने गुराँस प्रजाति जेडिए स्टेन्टनले सन् १९५६ र अन्य दुई जनाले सन् १९७४ मा अरुण उपत्यकामा फेला पारेका थिए। अमेरिकन रोडोडेन्ड्रन सोसाइटीका क्लाउस स्टाउनेले खिचेको यसको तस्वीर पुस्तकमा छ। तर, यो तस्वीर कहाँ खिचिएको भन्ने उल्लेख छैन।

यसैगरी, केही (रोडोडेन्ड्रन कोवानियनम्, रोडोडेन्ड्रन हुकेरी, रोडोडेन्ड्रन लानाटम्, रोडोडेन्ड्रन निभाले, रोडोडेन्ड्रन पेन्डुलम् आदिका) तस्वीरहरू विद्युतीय सञ्जालहरूबाट लिइएको जस्तो देखिन्छ। यी तस्वीर पनि कहाँ खिचिएको भन्ने उल्लेख छैन। पाँच नेपालीसहित १९ जनाले तस्वीर उपलब्ध गराएको पुस्तकमा उल्लेख छ।

स्थलगत अवलोकन वा संग्रहालयमा संग्रहित नमूनाका आधारमा नभई प्रकाशित सामग्रीकै आधारमा पुस्तक तयार गरिएको देखिन्छ। तर, नेपालमा पाइने भनिएको गुराँसको प्रजाति ‘रोडोडेन्ड्रन मेकोन्गेन्स्’ लाई पुस्तकमा समावेश गरिएको छैन। फ्लोरा अफ चाइना मा यो प्रजाति नेपालमा पनि पाइने उल्लेख छ। यसगरी सन् २०१४ मा सिक्किमको युम्थाङ उपत्यकामा भरतकुमार प्रधानलगायतले यो प्रजाति फेला पारेका थिए। उक्त जानकारी 'अ नोट अन रोडोडेन्ड्रन मेकोन्गेन्स्– अ न्यु स्पेसिस रेकर्ड फ्रम सिक्किम हिमालय, इन्डिया' शीर्षकको लेखमा उल्लेख छ। यसरी नेपालमा अहिलेसम्म ३४ प्रजातिका गुराँस पाइएको बुझिन्छ।

यद्यपि पुस्तक समग्रमा गुराँसप्रति रुचि राख्ने र पर्यापर्यटन प्रवर्द्धन, गुराँस संरक्षणका लागि उपयोगी छ।


पुस्तक: कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू
लेखकहरू: रामचन्द्र पौडेल, हेमराज आचार्य, यादव उप्रेती, योगेश ढकाल र राजन केसी।
प्रकाशक: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय, ताप्लेजुङ।

प्रतिकृया दिनुहोस