एक सातामा ३३ अंक घट्यो नेप्से, बिहीवार दोहोरो अंकको गिरावट
१३ मंसिरमा शेयरको मूल्यमा दोहोरो अंकको गिरावट भएको छ।
बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक १०.३७ अंक घटेर ११४८.७० अंकमा झरेको छ। यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२१ अंक घटेर २४४.२३ अंकमा झरेको छ।
गत ९ वैशाखमा १४३८ अंक पुगेर ओरालो लाग्न थालेको शेयर बजार अहिले पनि बियरिश प्रवृत्तीमै छ। उत्पादन तथा प्रशोधन र वित्त कम्पनीबाहेक सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्से ऋणात्मक बन्न पुगेको हो। १३ मंसिरमा नेप्सेमा १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर रु ३२ करोड २९ लाख ४७ हजार ९८३ मा खरीद बिक्री भएको छ।
बिहीवारको व्यापारमा नेपाल ब्यांकको सर्वाधिक रु. ५ करोड १९ लाखको सेयर व्यापार भयो। यस दिन सर्वाधिक महँगिने कम्पनीको सूचीमा चिलिमे हाइड्रोपावर कम्पनी अगाडि आएको छ, जसको शेयर मूल्य ३.८८ प्रतिशत महँगिएको छ।
आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य ५.८५ प्रतिशत घटेपछि सर्वाधिक सस्तिने कम्पनी बनेको छ। गत मंगलवार १ अंकको झिनो वृद्धिलाई छाड्ने हो भने यो साताभर नेप्से ओरालो लागिरह्यो। पछिल्लो एक सातामा नेप्से सूचकांक ३३ अंक घटिसकेको छ। बिहीवारको अन्तिम विन्दु पछिल्लो एक वर्षकै न्यून विन्दु पनि हो।